
बुटवल- कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९, शिवगढी निवासी यादव चन्दलाई रिहा गर्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले बन्दीप्रत्यक्षीकरण रिट जारी गरेको छ । रिट जारी भएसँगै चन्द रिहा भएका छन् ।
यादव चन्दको हकमा यादवकी श्रीमती सरस्वती चन्दले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा बुधबार सुनुवाई गर्दै अदालतले बन्दीप्रत्यक्षीकरण रिट जारी गरेको हो ।
बुधबार रिटउपर सुनुवाई गर्दै उच्च अदालतका वरिष्ठ न्यायाधीश कुमार पोखरेल र अर्का न्यायाधीश वामदेव ज्ञवालीको इजलासले यादवलाई रिहा गर्न आदेश दिएको हो ।
रिटमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, वडा प्रहरी तौलिहवालाई विपक्षी बनाइएको थियो ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका भतिजा समेत रहेका यादवलाई प्रहरी यही बैशाख २३ गते रुपन्देहीको मणिग्रामस्थित यातायात कार्यालयमा आएको बेला पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा हिरासतमा राखेको थियो ।
बैशाख २३ गते पक्राउ गरेका यादवलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा प्रहरीले २०७५-११-१९ मितिको थुनुवा पूर्जी थमाएको पक्राउ परेका यादव चन्दले बताए । यादव भगवानपुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रअ समेत हुन् ।
प्रशासन कार्यालयले प्रहरीको काममा यादवले अवरोध पु¥याएको अभियोग लगाए पनि यादवको कसुर र पक्राउ गर्न पर्नुको स्पष्ट कारण नखुलेको देखिएपछि अदालतले बन्दीप्रत्यक्षीकरण रिट जारी गर्दै रिहा गर्न आदेश दिएको हो ।
बुधबार भएको सुनुवाईमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरु ओमप्रकाश अर्याल, लिलाधर मरासिनी, लक्ष्मण निरौला, नगेन्द्रप्रसाद बस्याल, ओमप्रसाद पंगेनी र ज्ञानु के.सी. तथा लिखित जवाफ प्रस्तुतकर्ताको तर्फबाट उच्च सरकार वकिल कार्यालयका न्यायाधिवक्ता आनन्द शर्माले बहस गरेका थिए ।