
काठमाडौं –सडक विस्तारको नाममा वर्षौंसम्म धूलो र हिलोले आजित भएपछि काठमाडौंको जोरपाटी क्षेत्रका बासिन्दा बिहीवार सडक नै अवरुद्ध गर्नेगरी आन्दोलनमा उत्रिए ।
नागरिक स्तरमा स्वतःस्फुर्त रूपमा भएको आन्दोलनमा प्रहरीले अश्रु ग्यास चलाउने अवस्था समेत सिर्जना भयो ।
चाबहिलदेखि साँखु जोरपाटी क्षेत्रमा सडक विस्तारको काम शुरू भएको चारवर्ष पुग्यो, तर अझै काम पूरा भएको छैन ।
चार वर्षसम्म स्थानीयले धेरै धूलो खाए । वर्षायाम शुरू हुने बेला आइसक्दा अब फेरि हिलोको चिन्ता सँगै छ ।
९ महिनामा नआएको त्यो १५ दिन
साउन २४ मा पूर्वप्रधानमन्त्री तथा क्षेत्र नं. १ का सांसद माधवकुमार नेपाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ तथा मन्त्रालयका सचिव, सडक विभागका प्रमुख र ठेकादार सहितको जम्बो टोली लिएर बौद्ध–जोरपाटी–साँखु सडकको अनुगमनमा निस्किए ।.

नेता नेपालको अगाडि मन्त्री महासेठले १५ दिनभित्र खाल्डाखुल्डी पुर्ने आश्वासन दिए । ९ महिना बितिसक्दा समेत अवस्था ज्यूँका त्यूँ छ ।
नेता नेपाल अवलोकनका लागि आउने चाल पाएका ठेकेदारहरूले अघिल्लो दिन नै केही खाल्डाखुल्डी रातारात पुरेका थिए ।
भदौ १० मा माधवकुमार नेपाल फेरि सडक अनुगमनमा निस्किए । त्यसक्रममा पनि केही खाल्डा पुरिए ।
नेता नेपालले फेरि १५ दिनपछि अनुगमन गर्ने प्रतिबद्धता जनाए, तर त्यसयता उनले पनि ‘फुर्सद’ पाएका छैनन् ।
हिउँद, विशेषगरी घाममा धुलाम्मे सडक र वर्षामा हिलाम्मे हुने गरेको छ । सडकमा दैनिक यात्रा गर्नुपर्ने नियति सर्वसाधारणले ४ वर्षदेखि भोग्दै आएका छन् ।
वर्षायाममा त एक जोर कपडा जगेडा नै लिएर हिँड्नुपर्ने गुनासो स्थानीय गर्छन् ।
बौद्ध क्षेत्रमा पानी पर्नै हुँदैन, ताल बन्छ । स्थानीय व्यापारीको पसलमै बाढी छिर्छ । सामानहरूमा नोक्सान पुग्ने गरेको छ ।
बालबालिका तथा शारीरीक रूपमा अशक्तहरूका लागि यो बाटो हिँड्न निकै मुस्किल पर्ने गरेको छ । सडकको दुरावस्थाका कारण दैनिक एकदुई दुर्घटना हुनु पनि समान्य झैं भइसकेको छ ।
५० प्रतिशत पनि भएको छैन काम !
दुई वर्षभित्र सक्ने गरी २०७२ सालमा काम शुरू भएको थियो, तर अझै ५० प्रतिशत पनि काम भएको छैन ।
चाबहिलदेखि साखुँसम्म साढे १२ किलोमिटर सडक दुई वर्षभित्र कालोपत्रे सक्ने गरी ४ खण्डमा बाँडेर ठेक्का सम्झौता भएको थियो ।
२२ मिटर चौडाइमा जीएलडी मापदण्ड अनुसार सडक बनाउनका लागि सडकको दुवैतर्फ घर भत्किने भएपछि घर तथा जग्गाधनीहरूले मुआब्जाका लागि मुद्दा दायर गरे ।
अदालतले घरधनीको पक्षमा फैसला सुनाएको छ । सडक विभागका अनुसार घरको मुआब्जा दिने कार्यक्रम भएता पनि जग्गाको मुआब्जा दिने कार्यक्रम नभएकाले समस्या परेका बताउँछ ।
गतवर्ष भएको विमस्टेक सम्मेलनमा आएका पाहुनालाई गोकर्ण रिर्सोटमा रिट्रीट गराइने चर्चा चलेपनि स्थानीयबासी बाटो बन्छ भनेर उत्साहित भएका थिए, तर अन्तिममा स्थगित भयो ।
सडक निमार्णका क्रममा विभिन्न अवरोध आएका कारण काममा ढिलाइ भएको निर्माण व्यवसायीहरू बताउँछन् ।
अति भएपछि सडकमा !
सडकको अवस्थाका कारण समस्या भोग्न बाध्य स्थानीय दबाबमूलक आन्दोलनमा उत्रिएका छन् ।
बिहीवार चाबहिलको टुसालदेखि जोरपाटीसम्मको बाटो बन्द गरेर उनीहरू अनिश्चितकालका लागि आन्दोलित बनेका हुन् ।

बाटो छिटो बनाउनुस् भनेर विभिन्न निकाय धाएपनि कुनै प्रगति नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बौद्धका व्यापारी सञ्जीव तामाङ बताउँछन् ।
तत्काल बाटो बन्ने निश्चित नभएसम्म आन्दोलन नरोकिने स्थानीय लोकेन्द्र भट्टको भनाइ छ ।
‘जबसम्म बाटो बनाउनका लागि गिट्टी झर्दैन तबसम्म आन्दोलन रोकिँदैन,’ बिहीवार आन्दोलनमा भेटिएका लोकेन्द्र भट्टले भने, ‘विश्व सम्पदाको सूचीमा रहेको बोद्धनाथ हराभरा र सफासुग्गर हुनुपर्नेमा सरकारले पर्यटकलाई धूलो, धूवाँ र हिलो उपहार दिएको छ ।’

अघिल्लो वर्षको आन्दोलनलाई प्रशासनले दबाएको भन्दै अर्का व्यवसायी बाबुकाजी थापा बाटो नबनेसम्म यसपटक आन्दोलन नरोकिने जिकिर गर्छन् । आन्दोलन अझै सशक्त बनाउँदै लैजाने उनको भनाइ छ ।
अर्का स्थानीय व्यवसायी कबिन घिमिरेले सरकारले जानाजान बाटो नबनाएको आरोप लगाए । सरकार नै ठेकेदारले चलाएको उनको आरोप छ ।
स्थानिय ब्यवसायी कबिन घिमिरेले सरकार ठेकेदारहरुले चलाएको भन्दै आक्रोस पोखे । उनले सरकारले जानाजान बाटो नबनाएको पनि आरोप लगाए साथै अश्रुग्यास प्रहार गरी आफुहरुलाई दबाउन खोजेको आरोप लगाए ।
आन्दोलनमै भेटिएका अर्का एक स्थानीयले आक्रोश पोखे– ‘मोनोरेलको सपना बाँढ्ने नेतालाई राजधानीको यो कुरूप अनुहार देख्दा लाज लाग्नु पर्ने हो ।’