
बुटवल – पाल्पाको तिनाउ गाउँपालिका–४ बैरीडाडामा झाडापखालाको प्रकोप फैलिँदा १ सय ४ जना बिरामी परेका छन् ।
गाउँका सिंहबहादुर ठाडाको घरमा मृत्यु भएको ७ औं दिन पुन्यतिथिको दिन चोकिने क्रममा खाना खाएका आफन्त र गाउँलेमा झाडापखाला र बान्ता फैलिएको थियो ।
जसमध्ये ११ जनाको अवस्था गम्भीर छ । उनीहरूलाई पाल्पा प्रभास मेडिकल कलेजमा पठाइएको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताए । बिहीवार दिउँसोबाट गाउँमा झाडापखाला फैलिन शुरू भएको थियो ।
अन्य बिरामीलाई गाउँमै दोभान स्वास्थ्य चौकीको टोलीले उपचार गरिरहेको छ । ‘मगर परिवारमा चोखिन दिन पाडा काट्ने चलन रहेछ,’ श्रेष्ठले भने, ‘पाडा २ दिन अगाडि काटेका रहेछन् । उक्त मासु खादा झाडापखालाको समस्या देखिएको पाइयो ।’
तिनाउ गाउँपालिकाका स्वास्थ्य संयोजक सुन्दर तरामुको नेतृत्वको बैरीडाँडामा उपचारको लागि टोली गएको थियो । तरामुले बासी मासु खाँदा ‘फुड पोइजन’का कारण प्रकोप देखिएको बताए ।
श्रेष्ठले थपे, ‘अब फैलिने क्रम घट्दो छ । नियन्त्रणमा आइसकेको छ । गाउँमा पुगेको स्वास्थ्यकर्मीहरूको एउटा टीम फर्किसकेको छ भने अर्को टीम अझै गाउँमै छ ।’ बिरामीहरूमा बान्ता, पखाला र ज्वरो आउने समस्या देखिएपछि गाउँमा क्रस फैलिएको थियो ।
बैरीडाँडा पाल्पा सदरमुकाम तानसेनबाट ३४ किलोमिटर दक्षिणमा पर्छ भने सिद्धार्थ राजमार्गको २४ माइलबाट ७ किलोमिटर पूर्व पर्छ ।