
काठमाडौं– विभिन्न गुट–उपगुटमा रहेका कारण कमजोर प्रतिपक्षीको भूमिकामा रहेको काँग्रेसभित्र छाया सरकार गठनमा पनि असन्तुष्टि देखिएको छ ।
सरकारमाथि मन्त्रालयगत रुपमै खबरदारी गर्न भन्दै काँग्रेसले सोमबार ५८ सदस्सीय छाया सरकार गठन गरेको थियो । अन्नपूर्ण पोस्टमा खबर छापिएको छ ।
छाया सरकारको जिम्मेवारी पाएका नेताहरूले असन्तुष्टि जनाउन थालेका छन्। यसरी असन्तुष्टि जनाउने नेताहरुमा गगन थापा, अमरेश सिंह लगायत छन्।
पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रत्येक मन्त्रालयमा एक संयोजक र दुई सदस्य रहने गरी छाया सरकार गठन गरेका थिए। कांग्रेसले यसलाई मन्त्रालय समन्वय समिति नाम दिएको छ। छाया सरकारको परराष्ट समितिमा रहेका सिंहले आफू उक्त समितिमा नबस्ने जानकारी संसदीय दलमा लिखित रूपमै गराएका छन्।
‘छाया सरकारमा पनि गुटगत व्यवस्थापनकै कुरा देखियो’, सिंहले भने, ‘सांसदहरूको योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिएको देखिएन।’ छाया सरकारमा सिंहलाई परराष्ट्र समितिमा राखिएको थियो। परराष्ट्रको संयोजकको जिम्मेवारी डा. नारायण खड्कालाई दिइएको थियो।