२१ असार २०८३, आइतबार

एक सातामा बैतडीमा १० जनाको ज्यान गयो

एक सातामा बैतडीमा १० जनाको ज्यान गयो

बैतडी–विभिन्न घटना तथा दुर्घटनामा परी बैतडीमा एक हप्ताको अवधिमा १० जनाको मृत्यु भएको छ । सबैभन्दा बढी  पाँच जनाको सवारी दुर्घटनामा ज्यान गएको बैतडीका प्रहरी प्रवक्ता रवीन्द्र चन्दले जानकारी दिए । 

    यस्तै तीन जनाको आगोमा जलेर मृत्यु भएको छ भने दुई जनाले आत्महत्या गरेका छन् । जेठ ४ गते शनिबारदेखि जेठ ९ गते बिहीबारसम्मको प्रहरी तथ्याङ्कले उक्त सङ्ख्यामा मृत्यु भएको देखिएको हो । बिहीबार गुडिरहेको जीपबाट हाम फाल्दा पञ्चेश्वर गाउँपालिका–६ का ४० वर्षीय राज कोलीको मृत्यु हो । गिरेगडाबाट देहीमाण्डौँतर्फ आइरहेको म १ ज ११९ नम्बर जीपको पछाडि सवार कोलीले पार्सा भन्ने ठाउँमा अर्को गाडीलाई साइड दिन जीप ब्याक गर्दा हाम फालेको बताइएको छ ।

    जेठ ८ गते राति आगोमा जलेर पुर्चौडी नगरपालिका–५ कुवाकोटका ४५ वर्षीय करे लुहार उनकी ४० वर्षीया श्रीमती बिन्दा र आठ वर्षीय छोरा मनोजको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–५ कुवाकोट घर भई पुर्चौडी नगरपालिका–७ बसपार्कमा टहरा बनाई बस्दै आएका र राति टहरोमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । जेठ ६ गते रुखमा झुण्डिएर दशरथचन्द नगरपालिका–१ गुरुखोलाकी २२ वर्षीया रञ्जु भट्टले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।   

    जेठ ५ गते दशरथचन्द नगरपालिका–११ नानीगाड भन्ने स्थानमा जीप दुर्घटनामा दशरथचन्द नगरपालिकाका ६० वर्षीय हीराबल्ल भट्ट, ५३ वर्षीय लालमणि, ५० वर्षीय नारुली भट्टको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा गम्भीर घाइते ४५ वर्षीय प्रकाश भट्टको उपचारको क्रममा मृत्यु भएको थियो ।  

    जेठ ४ गते  पाटन नगरपालिका–१० हतासका ७५ वर्षीय प्रमानन्द भट्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  यसैबीच जेठ १ गतेदेखिको तथ्याङ्क हेर्ने हो भने बैतडीमा ११ जनाको ज्यान गएको छ । जेठ १ गते मेलौली नगरपालिका–७ बनालीकी १९ वर्षीया सावित्री चन्द पनि झुण्डिएकी अवस्थामा फेला परेकी थिइन् ।  

    बैतडीमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढी छ । सवारी दुर्घटना बढीजसो चालककै लापर्वाहीले हुने गरेका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्