
एजेन्सी- भारतीय क्रिकेटर महेन्द्रसिंह धोनी विकेटकिपर हुन् । उनले कप्तानको भूमिका विराट कोहलीलाई सुम्पिसकेका छन् । अहिले उनी कोहलीलाई सल्लाह दिइरहेका छन् । उनलाई विश्वकपका लागि भारतीय टीमको 'आधा कप्तान' समेत भन्न थालेका छन् । विराटले उत्कृष्ट कप्तानी गर्नेमा धेरैको शंका छ । ३७ वर्षीय धोनी मे ३० बाट शुरू हुन लागेको विश्वकपमा भारतका सबैभन्दा अनुभवी खेलाडी हुन् ।
धोनीलाई संसारकै उत्कृष्ट फिनिसरको रूपमा पनि लिइन्छ । यस विश्वकपमा भारतीय टीममा 'महेन्द्रसिंह धोनी'को नाममा 'कूल' खेलाडी मैदानमा हुनेछन् । उनलाई कूल क्रिकेटर भन्नुको अर्थ हो- हत्तपत्त नरिसाउनु र उत्साहित नहुनु ।
सन् १९८१ जुलाई ७ मा जन्मिएका महेन्द्र सिंह धोनी यस विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिन सक्नेछन् । उनले आफ्नो कप्तानीमा भारतीय टीमलाई आईसीसीका तीन ठूला प्रतियोगिताको उपाधि दिलाएका छन् । उनले सन् २०११ मा विश्वकप, सन् २००७ मा टी-ट्वान्टी विश्वकप र सन् २०१३ मा च्याम्पियन्स ट्रफी दिलाए ।
महेन्द्र सिंह धोनीबारे :
उमेर : ३७ वर्ष
भूमिका : विकेटकिपर ब्याट्स्म्यान
ब्याटिङ : दायाँ हाते ब्याट्स्म्यान
बलिङ : दायाँ हाते मिडियम पेस बलर
महेन्द्र सिंह धोनीले भारतका लागि हालसम्म ३४१ एक दिवसीय खेल खेलेका छन्, जसमा उनले ५०.७२ को औसतमा १० हजार ५ सय रन बनाएका छन् । त्यसक्रममा उनले १० शतक र ७१ अर्धशतक प्रहार गरेका छन् । एक दिवसीयमा उनको उच्च स्कोर १८३ रनको हो ।
एक दिवसीय क्रिकेटमा उनले एक विकेट लिएका छन् ।
भारतका लागि विश्वकप विजेता कप्तान महेन्द्र सिंह धोनी चौथो पटक विश्वकप खेल्दैछन् । उनले सन् २००७ देखि विश्वकप खेलेका हुन् । उनको अगुवाइमा भारतले सन् २०११ मा विश्वकप जितेको थियो । उनले हालसम्म विश्वकपमा २० म्याचमा ५०७ रन बनाएका छन् ।
महेन्द्र सिंह धोनीले सन् २००४ डिसेम्बर २३ मा भारतका लागि पहिलो अन्तर्राष्ट्रिय म्याच खेलेका थिए । उनले बंगलादेशविरुद्ध एक दिवसीय क्रिकेटमा डेब्यू गरेका थिए ।
धोनीले सन् २०१५ मा टेस्ट क्रिकेटबाट सन्यास लिइसकेका छन् । विश्वकपपछि सबै फर्म्याटबाट उनले सन्यास लिन सक्ने बताइएको छ ।
उनी इन्डियन प्रिमियर लीगमा चेन्नई सुपर किंग्सका कप्तान हुन् ।