०६ साउन २०८३, बुधबार

ओली नसच्चिए राणा र पञ्चायतको जस्तै हालत हुन्छ : देउवा

जेठ १९, २०७६
ओली नसच्चिए राणा र पञ्चायतको जस्तै हालत हुन्छ : देउवा

बुटवल- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुईतिहाइको सरकारले आफ्ना निरंकुश गतिविधिहरू नसच्याए राणा र पञ्चायतको जस्तै हालत हुने चेतावनी दिएका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले आइतवार भैरहवा विमानस्थलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति देउवाले निरंकुश बनिरहे राणा र पञ्चायत जस्तै ओली सरकार पनि ढल्ने दाबी गरेका हुन् ।

'राणा र पञ्चायतसँग शक्ति थिएन र ? तै पनि काँग्रेसकै नेतृत्वमा ढल्यो । निरंकुश गतिविधि नसच्याए ओली सरकारको हालत पनि तीनको जस्तै हुनेछ,’ सभापति देउवाले भने । न्यायालय, प्रेस र  मानवअधिकार माथिको हस्तक्षेप र नियन्त्रणमुखी विधेयकले ओली सरकारको तानाशाही चरित्र छर्लङ्ग भएको टिप्पणी देउवाले गरे ।

मिडिया काउन्सिल, मानवअधिकार र शान्तिसुरक्षा सम्बन्धी विधेयक कांग्रेसले कुनै हालतमा पास हुन नदिने दोहोर्‍याए ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले बालुवाटार जग्गा प्रकरण र वाइडबडी विमान प्रकरणको सुक्ष्म अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरे । ती काण्डमा तपाईंको पनि नाम जोडियो नि ? भन्ने पत्रकारहरूको प्रश्नको जवाफमा काँग्रेस देउवाले त्यसमा अफ्नो कुनै संलग्नता नभएको दाबी गरे । ‘यी काण्डमा मेरो कुनै संलग्नता छैन । सदनमै स्पष्ट भनिसकेको छु । त्यसको अनुसन्धान गर्ने अख्तियारले हो । छिटो तर सुक्ष्म अनुसन्धान गर्नुपर्‍यो,’ देउवाले भने ।

कांग्रेसले बनाएको छाँया सरकारका मन्त्रीहरूले सम्बन्धित मन्त्रालयका कमीकमजोरी र सरकारका गलत क्रियाकलापका विषयमा खोजी गरी संदनबाटै ती विषयलाइ उठान गर्ने बताए ।

कम्युनिष्ट सर्वसत्तावादविरुद्ध लड्न कांग्रेसभित्र एकता जरुरी भएकाले पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रक्रिया अगाडि बढेको देउवाको दावी छ । 'गुटको अन्त्य गरी एकता कायम गर्नु मेरो दायित्व र जिम्मेवारी हो । त्यसलाई पूरा गर्नेछु,’ काँग्रेस सभापति देउवाले भने ।

 

salt training

कमेन्ट गर्नुहोस्