काठमाडौँ - त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाले विकासशील मुलुकमा वातावरणीय गुणस्तर तथा दिगोपना जस्ता विषयमा गिरावट आएकाले यसको समाधान गर्न विकासशील मुलुकको ध्यान जानुपर्ने बताएका छन् ।
त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागको अगुवाइमा अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालय, कोलोराडो स्कूल अफ साइन्स, जोन हप्किन्स विश्वविद्यालय, फ्लोरिडा कृषि तथा यान्त्रिक विश्वविद्यालय, फ्लोरिडा विश्वविद्यालय र वायोमिङ विश्वविद्यालयद्वारा संयुक्त रुपमा आयोजना गरिने वातावरण तथा दिगोपनासम्बन्धी विश्व सम्मेलनबारे जानकारी दिन मंगलवार किर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा उपकुलपति डा खनियाले सम्मेलन मूलतः वायु प्रदूषण तथा जलवायु परिवर्तन, फोहरमैला व्यवस्थापन, दिगो विकास तथा वातावरणीय नीतिको विषयमा बृहत् छलफल हुने जानकारी दिए ।
उनले वातावरणीय दिगोपनालाई सन् २०३० सम्म विकास लक्ष्य तर्जुमा गरिएको बताए । उक्त सम्मेलनमा आर्थिक विकास, वातावरणीय संरक्षण, सामाजिक न्यायलगायत विषय एकसाथ अघि बढाइने डा खनियाले प्रष्ट पारे ।
विश्वका सम्बद्ध मुलुकले ढल व्यवस्थापन तथा जल शुद्धीकरण गरी सङ्क्रामक रोगको नियन्त्रण गरिसकेको र अल्पविकसित मुलुक ती मुद्दामा अझै सङ्घर्षरत रहेको उनको भनाइ थियो । क्यालिफोर्निया स्टेट विश्वविद्यालयका एशोसिएट प्रोफेसर प्राध्यापक मोहन डाँगीले वातावरण विनासका कारण विश्वमा १० लाख प्रजातिका जीवजन्तु लोप भइसकेको बताए ।
सम्मेलनमा नेपाली तथा विश्वका ख्यातिप्राप्त वैज्ञानिकबीच गरिने छलफल र अनुभवको आदानप्रदान नेपालका लागि उपयोगी हुने उनले बताए । त्रिविका प्राध्यापक रेजिना मास्के ब्यान्जुले उपचार गर्न सकिने तथा रोकथाम गर्न सकिने रोगका कारण अल्पविकसित मुलुकमा लाखौँ व्यक्तिको मृत्यु हुने गरेको बताए ।
प्राध्यापक रोनाल्ड कोहेनले न्यून आय भएका देशमा प्राकृतिक स्रोत अत्यधिक दोहन गरिँदै आएको र गरिबी तथा भोकमरी व्याप्त रहेको नेपाललगायत देशमा यो समस्या अझ विकराल बन्दै गएको चर्चा गरे । कार्यक्रममा अमेरिकाका सात तथा ताइवान र नेपालका तीन/तीन विश्वविद्यालय गरी १ सय ५० भन्दा बढी विश्वविद्यालयका विज्ञको सहभागिता रहने आयोजकले जनाएको छ । उक्त सम्मेलन आगामी नोभेम्वर २२ देखि २४ तारिखसम्ममा नेपालमा हुनेछ ।