
काठमाडौं – भारतको गोवमा एउटा गाउँ वर्षको ११ महिना पानीभित्र हुन्छ भने जम्मा एक महिना पानीबाहिर देखिन्छ ।
११ महिना अर्को ठाउँमा गएर बस्ने गाउँलेहरू एक महिनाका लागि यहाँ आउँछन् र उत्सव मनाउँछन् ।
पश्चिमी घाटका दुईवटा पहाडको बीचमा रहेको कुदी गाउँ सालोलिम नदीको किनारमा पर्छ ।
दक्षिणपूर्वी गोवाको यो गाउँ पहिला निकै जीवन्त थियो ।
तर सन् १९८६ मा गाउँलेहरूले यो ठाउँ छोडेर जानुपरेको थियो । राज्यले बाँध बनाएपछि गाउँ डुबेको थियो ।
तर हरेक वर्षको मे महिनामा पानी घटेपछि गाउँ देखिन थाल्छ ।
गाउँको भग्नावशेष, बिग्रेका घरेलु सरसामान र पानीले भरिएका साना तलाउको बीचमा बाँझो खेत यहाँको दृश्य हो ।
यहाँको बाँझो जमीन कुनै बेलामा निकै ऊर्वर थियो । गाउँको जनसंख्या लगभग तीन हजार थियो । मानिसहरू धानखेती गर्थे अनि नरिवल, काजु, आँप र कटहरका बोट पनि हुन्थे ।
त्यहाँ हिन्दू, मुसलमान र क्रिस्चियनहरू सँगै बस्थे । त्यहाँ एउटा मुख्य मन्दिरबाहेक साना साना अनेकौं मन्दिर, एउटा चर्च र एउटा मस्जिद पनि थिए ।
सन् १९६१ मा पोर्चुगिजहरूबाट स्वतन्त्र भएपछि परिवर्तन आयो ।
पहिलो मुख्यमन्त्री दयानन्द बान्दोडकरले गाउँ भ्रमण गरे अनि बाँध बनाउने योजना बनाए । उनले गाउँलेहरूलाई बोलाएर बाँध बनाउन दक्षिणी गोवालाई फाइदा हुन्छ भनी सम्झाए ।
यो अत्यन्तै महत्त्वाकांक्षी योजना थियो । सालोलिम नदीको किनारामा बाँध बनाइने हुँदा यसलाई सलोलिम सिँचाइ परियोजना नाम दिइयो ।
त्यतिखेर परियोजनाबाट पिउने पानी, सिँचाइ र औद्योगिक आवश्यकताका लागि पानी उपलब्ध गराइने भनिएको भए पनि अहिलेसम्म त्यसलाई पूरा गरिएको थिएन ।
यसबाट ४० करोड लिटर पानी प्रत्येक दिन पाइने भनिएको थियो ।
तर कुदी गाउँका मानिस बसेको ठाउँमा बाँधको पानी पुग्न सकेन ।
मे महिनामा पानी घट्दा कुदीका मूल निवासीहरू आफ्नो घर हेर्न आउँछन् ।
क्रिस्चियनहरू चर्चमा भेला हुन्छन् र हिन्दूहरू मन्दिरमा उत्सव मनाउन थाल्छन् ।
गोवाकी समाजशास्त्री वेनिशा फर्नान्डिजका अनुसार, कुदीका मानिसका लागि जमीन नै पहिचानको माध्यम थियो । उनीहरू गहिरो गरी जमीनसँग जोडिएका थिए । त्यसैले उनीहरू गाउँलाई एकदमै याद गर्छन् र त्यहाँ पुगिरहन्छन् ।’
बीबीसी हिन्दीबाट