
महेन्द्रनगर– बिरामीको सुविधाका लागि ४ वर्षअघि कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा स्थापना गरेको सघन उपचार कक्ष (आईसीयू) सेवा अझै सञ्चालनमा आउन सकेको छैन ।
आर्थिक वर्ष २०७१/७२ मा करोड खर्च गरेर अञ्चल अस्पतालमा आईसीयू सेवा जडान गरिएको भएपनि त्यसका लागि आवश्यक चिकित्सक तथा जनशक्ति नहुँदा सेवा थन्किएको छ ।
‘आईसीयू त स्थापना भए तर चिकित्सक सहितको जनशक्ति नहुँदा सञ्चालनमा ल्याउन नसकिएको हो,’ महाकाली अञ्चल अस्पतालका सूचना अधिकृत केशवदत्त अवस्थीले भने, ‘पटक–पटक सञ्चालन गर्न पहल भएपनि केही भएन ।’
संघ र प्रदेश सरकारमा आईसीयू सञ्चालनका विषयमा धेरै पटक अञ्चल अस्पताल व्यवस्थापन समितिका पदाधिकारी लागिपरे पनि उपलब्ध हुन सकेको छैन । दरबन्दीको २० प्रतिशत पनि विशेषज्ञ चिकित्सक नहुँदा अस्पताललाई ‘रिफर सेन्टर’को उपमा दिइएको छ ।
स्थानीय नागरिक समाज तथा सरोकारवाला निकायले अस्पतालको भौतिक संरचना सुधारका लागि प्रयासरत रहेपनि व्यवस्थापकीय पक्ष सवल नहुँदा अस्पतालले चिकित्सकको अभाव झेल्दै आएको छ । २८ विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अञ्चल अस्पतालमा हाल सर्जन, छाला तथा यौनरोग र स्त्रीरोग विशेषज्ञ गरी तीन चिकित्सक मात्र कार्यरत छन् ।
‘आईसीयू सेवा सञ्चालनका लागि चिकित्सकसहित कम्तीमा १०/१२ स्वास्थ्यकर्मीको टोली चाहिन्छ,’ सूचना अधिकृत अवस्थीले भने, ‘चिकित्सक र आईसीयू सञ्चालनका लागि मन्त्री तथा सांसदहरूसँग छलफल र पहल हुँदा पनि केही नतिजा आएन ।’ उनले आइसियू सेवा नहुँदा जटिल समस्या देखिएका बिरामीलाई थप उपचारका लागि धनगढी र भारतका विभिन्न अस्पताल जानुपर्ने बाध्यता रहेको बताए ।