कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरमा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा बुधवारदेखि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता शुरू भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको गण्डकीले २० ओभरमा सबै विकेट गुमाएर ५८ रन बनाएको थियो । गण्डकीका शिला रेग्मीले १९ र सुशिला गुरुङले १७ रन बनाए । सुदूरपश्चिमका तर्फबाट कविता कुँवर, लक्ष्मी साउद र जानकी भट्टले समान दुई विकेट तथा कविता जोशीले एक विकेट लिए । गण्डकीका तीन खेलाडी रन आउट भएका थिए ।
लक्ष्य पूरा गर्न ब्याटिङमा उत्रेको सुदूरपश्चिमले एक विकेट गुमाएर निर्धारित २० ओभरको खेलमा सात ओभरमै लक्ष्य भेट्टाएको थियो । सुदूरपश्चिमका तर्फबाट कविता कुँवरले २१ तथा कविता जोशी र रेवती धामीले समान १२ रन बनाएका थिए । गण्डकीका तर्फबाट मनिषा उपाध्यायले एक विकेट लिइन् । खेलको म्यान अफ दी म्याच कविता कुँवरलाई घोषित गरियो ।
लोकान्तर संवाददाता