
बाजुरा- यतिबेला कृषक रोपाइँको चटारोमा व्यस्त छन् । तर असारको मध्यभागमा आइसक्दा पनि पानी नपर्दा खेतीयोग्य जमिनमा पर्याप्त मात्रामा सिँचाइ सुविधा नभएपछि कृषकलाई खेतमा धान रोप्न अझै समस्या उत्पन्न भएको छ ।
कृषकले अघिल्ला वर्षहरूमा असार १५ गतेभित्र जिल्लाका अधिकांश खेतीयोग्य जमिनमा धान रोपेर सक्ने गरेका थिए । तर यस वर्ष मौसमले साथ नदिएपछि रोपाइँ गर्न ढिलो भएको कृषक इन्द्रादत्त जोशीले बताए ।
बाजुरालगायत देशैभरि जेठ र असारलाई मानो रोपेर मुरी उब्जाउने महिनाका रूपमा लिने गर्छन् । यतिबेला जिल्लाका जुगाडा, मार्तडी, रजाली, आटिचौर, ब्रह्मतोला, बाह्रबीस, तोली, कैलाशमाडौं, कोल्टी पाण्डुसेनलगायतका खेतीयोग्य जमिनमा धान रोप्ने गरेका छन् । कृषकले करीब ५० प्रतिशत स्थानीय जातको धानखेती गर्ने गरेका छन् भने ५० प्रतिशत उन्नतजातको धानखेती गर्ने गरेको कृषि ज्ञानकेन्द्र बाजुराको तथ्याङ्क छ ।
'गत वर्ष जेठको अन्तिम साताबाट रोपाइँ शुरू गर्ने गरेका थियौं, यस वर्ष सिँचाइ सुविधा नहुँदा असारको पहिलो साताबाट रोपाइँ शुरू गरिएको छ,' बडीमालिका नगरपालिका–२ का कृषक प्रभते कार्कीले बताए । यता केन्द्रका अनुसार पछिल्लो समयमा जलवायु परिवर्तनका कारण सुक्खा, खडेरी, त्यसैमा मलको अभाव, उन्नतजातको बीउबीजनको अपर्याप्तताका कारण कृषकले वर्षेनी सोचेजस्तो धान उत्पादन गर्न नसकेका हुन् ।
जिल्लामा सिँचाइ सुविधा पर्याप्त मात्रामा नभएपछि जिल्लाको कूल धानखेती हुने सात हजार २३० हेक्टरमध्ये दुई हजार १७० हेक्टर अर्थात् ३० प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको केन्द्रका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले जानकारी दिए ।
पछिल्लो समयमा केन्द्र र स्थानीय तहका कृषि शाखाले जिल्लामा धानको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न कृषकलाई उन्नतजातको बीउ वितरण, विभिन्न तालीम तथा अन्य सामग्री सहयोग गर्दै आएको जैशीको भनाइ छ ।