
काठमाडौं–संसदीय विशेष सुनुवाइ समितिले चार देशका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको सोमबार सिंहदरबारमा भएको बैठकले प्रस्तावित राजदूत क्रमशः बङ्गलादेशका लागि डा वंशीधर मिश्र, कतारका लागि डा नारदनाथ भारद्वाज, अष्ट्रेलियाका लागि महेशराज दाहाल र स्पेनका लागि दावाफुटी शेर्पालाई अनुमोदन गरेको हो ।
समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित चार जना राजदूतको सुनुवाइ भएको र उहाँहरूको योग्यता, क्षमता र अनुभवका आधारमा उक्त पदका लागि नाम सर्वसम्मतिले अनुमोदन भएको सञ्चारकर्मीलाई जानकारी दिए ।
परराष्ट्र मन्त्रालयको पत्रबमोजिम नेपालको संविधानको धारा, २९२ को उपधार १ बमोजिम संसदीय सुनुवाइका लागि पठाइएकामा सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली–२०७५ को नियम २५ र २६ तथा समितिको कार्यविधि–२०७५ बमोजिम चार राजदूतको सुनुवाइपछि नाम अनुमोदित गरेको हो । मन्त्रिपरिषद्को गत जेठ २३ गते भएको बैठकले चार जनालाई प्रस्तावित राजदूतका लागि सिफारिस गरेको थियो ।
सरकारले राजदूतका लागि सिफारिस गरेका चारै जना राजदूतको सोमबारै सुनुवाइ भएको थियो । सम्बन्धित देशका लागि प्रस्ताविज राजदूतले समितिसमक्ष आ–आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए ।
आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले विषादीरहीत उपभोग्य वस्तुमा आम उपभोक्ताको पहुँच सुनिश्चित गर्न आग्रह गरेको छ ।
आयोगका प्रवक्ता वेद भट्टराईले सोमबार विज्ञप्ति जारी गर्दै अन्य देशहरूबाट आयात गरिने तरकारी, फलफूल र खाद्यान्नलगायत उपभोग्य वस्तु सीमा नाकामा विषादी जाँच नगरी निर्वाध रूपमा आयात गर्न दिने गरी गरिएको निर्णय सम्बन्धमा ध्यानाकर्षण भएको भन्दै विषादीरहित खाद्य पदार्थ आम उपभोक्तालाई पु¥याउनुपर्ने बताए । ।
नेपालभित्र उत्पादन हुने वा आयात गरिने खाद्यान्न, तरकारीलगायत उपभोग्य वस्तुको गुणस्तरीयता, स्वच्छता, विषादीरहीत अवस्थाको सुनिश्चित्ता र सुरक्षाको मुख्य जिम्मेवारी सरकारको भएकाले विषादीरहित खाद्यान्न उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ ।
उपभोक्ताको मानव अधिकारलाई मौलिक हकको रूपमा संवैधानिक संरक्षण प्रदान गरी नेपालको संविधानको धारा ४४ ले उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा पाउने हक हुने एवं गुणस्तरहीन वस्तु वा सेवाबाट कसैलाई हानी पुगेमा क्षतिपूर्ति पाउने हकको सुनिश्चितता गरे अनुसार उपभोक्तालाई गुणस्तरीय विषादीरहित खाद्यान्न उपलब्ध गराउनुपर्ने भनिएको छ ।
आयोगले विषादीको कारण सिर्जना हुने मानवीय तथा वातावरणीय क्षति रोक्नुपर्ने, मुलुकभित्रै उत्पादन हुने तरकारी, फलफूललगायतका खाद्य तथा उपभोग्य वस्तुमा भइरहेको व्यापक र जथाभावी विषादीको प्रयोगलाई निरुत्साहित गरी आम–उपभोक्ताको सम्मानपूर्वक बाँच्न पाउने तथा गुणस्तरीय वस्तु प्राप्त गर्न पाउने हकको सम्मान र संरक्षण गर्न सरकारसँग आग्रह गरेको छ ।
मुख्यमन्त्री पौडेल स्वदेश फिर्ता
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल चीनको गान्चु प्रान्तको भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएका छन् । मुख्यमन्त्री पौडेल गान्चु प्रान्तका गभर्नर ताङ रेजिन्यनको निमन्त्रणामा असार १७ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।
मुख्यमन्त्री पौडेलको नेतृत्वमा सात सदस्यीय टोली चीनको लान झाउ शहरमा आयोजित विषेश कार्यक्रममा सहभागी भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
परीक्षा नियन्त्रक कार्यालयका कर्मचारीविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालय बल्खुका गोप्य शाखाका कर्मचारी रामबहादुर कर्माचार्यसमेत तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीको परीक्षाको प्राप्ताङ्क फेरबदल गरी नतिजामा अनियमितता गरेको भन्ने व्यहोराको उजुरीमाथि छानबिन हुँदा भक्तपुर बहुमुखी क्याम्पस दूधपाटीका शिक्षक सहायक पदमा कार्यरत शिक्षक सुरेन्द्रप्रसाद कोइरालाले रकम दिई नतिजा फेरबदल पारेको पाइएको छ ।
परीक्षा नियन्त्रक कार्यालय मानविकी सङ्कायतर्फको एमए गोप्य शाखा कार्यरत शाखा अधिकृत रामबहादुर कर्माचार्यलाई रु एक लाख ५० हजार लिई सुरेन्द्रप्रसाद कोइरालाको स्तातकोत्तर अर्थशास्त्रमा गोल्ड मेडल ल्याउने उद्देश्यले बढी प्राप्ताङ्क हुने गरी अनुचित ढङ्गले अङ्क थपेको पाइएको छ ।
यस्तै कर्माचार्यलाई नै सोही प्रक्रियाबाट ग्रामीण विकास र मानवशास्त्र विषयमा समेत परीक्षामा नै अनुपस्थित भए पनि उत्र्तीण गराएको पाइएको आयोगले जनाएको छ ।
आयोगका अनुसार पदको दुरुपयोग गरी १५ वटा विषयमा ३ देखि ५० नम्बरसम्म थप गरी कूल २२४ अङ्क थप गर्न सुरेन्द्रप्रसाद कोइरालाबाट रु एक लाख ५० हजार र केदार भट्टराईले हासिल गरेको अर्थशास्त्र विषयको स्नातकोत्तरतर्फको पाँच विषयमा १०÷१० नम्बरका दरले ५० अङ्क थप गर्न कोइरालामार्फत रु तीन लाख गरी जम्मा रु चार लाख ५० हजार भ्रष्टाचार गरेको पाइएको छ ।
आयोगले बानेश्वर बहुमुखी क्याम्पसमा कार्यरत कामु प्रशासनिक अधिकृत केदार भट्टराई, अङ्क थप गराउने रामबहादुर कर्माचार्य र सुरेन्द्रप्रसाद कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
क्यानडाली डालगिल्स बालयौन दुराचारी ठहर
बालयौन दुराचार आरोपी ६३ वर्षीय क्यानडाली पिटर जोन डालगिल्स बालयौन दुराचारी ठहर भएका छन् । काभे्रपलाञ्चोक जिल्ला अदालतले सोमबार पिटर बालयौन दुराचारी ठहर्दै कैद तथा क्षतिपूर्ति तोकेको छ ।
जिल्ला न्यायाधीश अर्जुन अधिकारीको एकल इजलासले अन्तिम सुनुवाइ गर्दै पिटरबाट यौनपीडित दुई जना बालकलाई जनही पाँच लाख क्षतिपूर्ति र एक बालकको हकमा नौ वर्ष र अर्का बालकको हकमा सात वर्ष कैद सजाय तोकेको हो । १२ वर्षको बालकलाई यौन दुराचार गरेको कसुरमा नौ वर्ष र १४ वर्षको बालकको यौन दुराचार कसुरमा थप सात वर्ष कैद ठहर भएको अदालतका स्रेस्तेदार ठाकुरचन्द्र त्रितालले जानकारी दिए ।
यसअघि गत जेठ २७ गते काभे्र अदालतले यौन दुराचारमा अपराधको कसुरदार ठहर गरी थप पुर्पक्षका लागि धुलिखेल कारागार चलान गरिएको थियो । नयाँ संहिताअनुसार पिटरलाई एक चरणमा कसुरदार कायम गरिएको र अर्को चरणमा सजाय तोकिएको हो । त्रितालका अनुसार पिटरलाई सोमबारै धुलिखेल कारागारमा कैदीका रूपमा राखिएको छ ।
नक्कली सुन देखाई ठगी गर्ने पाँच पक्राउ
महानगरीय अपराध महाशाखाले नक्कली सुन देखाई ठगी गर्ने पाँच व्यक्तिलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले बौद्ध क्षेत्रमा अवैध सुन देखाई ठगी गर्ने चितवनकी टिनु घिमिरे पन्त, काठमाडौँकी सुस्मिता आचार्य, सिन्धुपाल्चोकका जीवन सुनार, सुनसरीका जीवन धामी चौधरी र गोरखाका जाम्बु लामालाई सोमबार पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले नक्कली सुनलाई सक्कली भनी ठगी गरेकाले बिस्कुट आकारको नक्कली सुनसहित पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार बौद्धको पिपलबोटस्थित एमएस ज्वेलर्समा सुन राखिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको थियो ।
राखेप सदस्य सचिवमा सिलवाल
राष्ट्रिय खेलकूद परिषद (राखेप)को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भएका छन् । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सिलवाललाई चार वर्षका लागि सदस्य सचिवमा नियुक्त गरेका हुन् ।
निवर्तमान सदस्य सचिव केशवकुमार विष्टको असार ९ गते कार्यकाल समाप्त भएपछि सिलवाल नयाँ सदस्य सचिवमा नियुक्त भएका हुन् ।
अख्तियारको छानबिन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न ठेक्का सम्पन्न गर्न सरकारबाट २४ अर्ब रुपैयाँ पेस्की लिएर बेपत्ता भएका ठेकेदारमाथि छानबिन थालेको छ । विभिन्न विकास आयोजनाको नाममा ठेकेदारहरूले पेस्कीस्वरूप राज्यकोषबाट लिएको २४ अर्ब रुपैयाँ डुब्ने अवस्थामा पुगेको भन्दै अख्तियारले उनीहरूमाथि छानबिन थालेको हो । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले ठेक्का लिएर वर्षौंदेखि काम अलपत्र पार्ने र आयोजनालाई रुग्ण बनाउने ठकेदारमाथि छानबिन थालिएको जानकारी दिए ।
अख्तियारले देशभरका १ हजार ८४८ वटा आयोजनाको अध्ययन गरी रुग्ण आयोजनाको पहिचान गरिसकेको छ । पहिचान गरिएका रुग्ण आयोजनामा सहभागी हुने सबैलाई कारबाहीको दायरामा ल्याइने अख्तियार प्रवक्ता कोइरालाले बताए ।
अख्तियारका अनुसार ठेक्का सम्झौता गर्दा ठेकेदारहरुले मोविलाइजेसन कष्ट भन्दै पेस्कीस्वरूप २४ अर्ब रुपैयाँ लिएका हुन् । उनीहरूले सम्झौताबमोजिम कुनै काम नै नगरे पनि सरकारी निकायलाई गुमराहमा राख्दै २४ अर्ब रुपैयाँ आफ्नै खल्तीमा राखेको पाइएपछि अख्तियारले छानबिन थालेको हो । ठेकेदारबाट राखिएको धरौटीस्वरूपको ६ अर्ब रुपैयाँ जफत गर्न पनि सरकार असफल हुँदै आएको छ । त्यस्ता ठेकेदारमाथि पनि अख्तियारले छानबिन अघि बढाएको खबर राजधानी दैनिकले छापेको छ ।
प्रधानसेनापति अमेरिकातर्फ प्रस्थान
प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसङ्घको औपचारिक निमन्त्रणामा विभिन्न कार्यक्रममा सहभागी हुन सोमबार अमेरिका प्रस्थान गरेका छन् । प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरदकुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रधानसेनापति थापा बेलायती सैन्य बलले आयोजना गर्ने प्रथम महिला, शान्ति र सुरक्षा सञ्जालसम्बन्धी सम्मेलन तथा संयुक्त राष्ट्रसङ्घको सचिवालयले आयोजना गर्ने तेस्रो रक्षा प्रमुखको सम्मेलनमा सहभागी हुनेछन् । भ्रमणको दौरान उनले अमेरिकाका उच्च सैनिक पदाधिकारीसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ । औपचारिक कार्यक्रम सम्पन्न गरी उनी साउन १ गते स्वदेश फिर्ता हुनेछन् ।
चन्द समूहका कार्यकर्ता पक्राउ
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्र्ता पक्राउ परेका छन् ।
देशैभर विप्लव समूहले आफ्ना गतिविधि बढाइरहेका बेला डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाँउबाट ४० वर्षीय देव भट्टराई र २५ वर्षीय रामदत्त भट्टराई पक्राउ परेका हुन् ।
शेयर बजार
काठमाडौँ, २३ असार (रासस) ः आइतबार जस्तै सोमबार पनि शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.७० विन्दुले घटेर एक हजार २४७.३५ विन्दुमा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५६ विन्दुले घटेर २६८.७९ मा झरेको छ । नेप्से घट्दा कारोवार रकम भने झण्डै रु ६० करोडको हाराहारीमा रहेको छ । कूल १७१ कम्पनीको २९ लाख १० हजार १५३ कित्ता शेयर रु ५९ करोड १० लाख ५३ हजार ८१२ मूल्यमा कारोवार भएको छ ।
स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये सोमबार दुई उपसमूहको शेयर बढेको छ भने नौ उपसमूहको शेयर ओरालो लागेको छ । जलविद्युत् २.४ र सामूहिक लगानी कोष ०.०५ विन्दुले बढेको छ । यस्तै बैंकिङ ९.४९, होटल ०.९२, विकास बैंक ६.७१, वित्त २.६९, निर्जीवन बीमा ६३.२२, उत्पादन ८.०४, अन्य ३.१७, लघुवित्त ६.५ र जीवन बीमा ६४.०८ विन्दुले घटेको छ ।