०३ असार २०८३, बुधबार

वर्षा नहुँदा रोपाइँ गर्नुपर्ने खेत बाँझै

वर्षा नहुँदा रोपाइँ गर्नुपर्ने खेत बाँझै
प्रतिकात्मक तस्वीर

डोटी – जिल्लाको दिपायल, पिपल्ला तथा आसपासका क्षेत्रमा लामो समयदेखि पर्याप्त मात्रामा वर्षा नहुँदा किसानका खेत बाँझै छन् ।

हालसम्म पनि रोपाइँ नहुँदा यो वर्ष धान उत्पादनमा कमी हुने तथा किसानलाई भोकमरी हुने चिन्ता बढेको छ । 

पर्याप्त वर्षा नहुँदा अधिकांश खेतमा धान रोपाइँ त परै जाओस् धानको बीउसमेत राख्न नसकिएको दिपायलका स्थानीय कलक खड्काले बताए । उनले भने, ‘असार सकिन लागिसक्यो, हामीले पानी नहुँदा बीउसमेत राख्न पाएका छैनौं, कहिले पानी आउला र बीउ राखेर धान रोपौंला ।’ 

जिल्लाका ग्रामीण क्षेत्रमा रोपिएको धान तथा लगाइएको मकैबाली लामो खडेरीका कारण सुकेका छन् । बाली सुक्न थालेपछि किसान निरास छन् ।

असारको २३ गतेसम्म जिल्लामा जम्मा ३० प्रतिशत खेतमा मात्र रोपाइँ सकिएको कृषि ज्ञानकेन्द्र डोटीका प्रमुख किसनसिंह थापाले बताए । उनले भने, ‘अहिलेसम्म कम्तीमा पनि ५० प्रतिशत रोपाइँ सकिनुपर्ने हो तर पानी नपर्दा रोपाइँ हुन सकेन, उत्पादन कमी हुने निश्चित छ ।’ शिखर नगरपालिका, दिपायल सिलगढी नगरपालिका, सायल गाउँपालिका, आर्दश गाउँपालिकालगायतका विभिन्न स्थानीय तहका  अधिकांश वडाका खेतमा रोपाइँ हुन नसक्दा धेरै खेत बाँझै रहेको छ । 

कतिपय ठाउँमा रोपाइँका लागि तयार भइसकेको बीउ पनि पानी नहुँदा मर्न थालेको तथा केही ठाउँमा किसानले जसोतसो गरेर धानको बीउसम्म राखेको शिखर नगरपालिका–१ का स्थानीयवासी लोकबहादुर बलायरले बताए । उनले भने, ‘खोलाको पानीको भरमा धानको बीउसम्म राख्न सकेका छौं तर रोपाइँ कसरी गर्ने चिन्तामा परेका छौं ।’

कतिपय ठाउँमा भने अझै बीउ पनि नराखेको बताइएको छ । छिटफुटरूपमा जिल्लामा वर्षा भए पनि खोलामा भेल आउने गरी अझै पानी परेको छैन । दिपायल सिलगढी नगर गाउँपालिका–४ गैराका ४५ वर्षीय वीरभान कामीले कुुलोमा पानी नआउँदा बीउसमेत राख्न नसकेको दुखेसो पोखे । उनले भने, ‘केहीले पानी आउला र बीउ राखौँला भनेर बसेका छौं, पानी नपरे बीउ नराखेरै खेत बाँझै पर्ने भए ।’ उनले असार महिना बित्नै लाग्दासमेत पानी राम्रोसँग नपरेकाले यसपटक धान उत्पादन राम्रो नहुने निश्चित भएको बताए ।

त्यसैगरी जिल्लाकै अर्को शिखर नगरपालिका–१ सेरीका ४१ वर्षीय कमल ऐरले जसोतसो बीउ राखे पनि पर्याप्त पानी नहुँदा धान रोप्न नसकेको बताए । उनले भने, ‘जसोतसो धानको बीउ त राखेका छौं, पानी नपर्दा रोपाइँ गर्न सकेका छैनौं, उम्रिएको बीउ फुल्न थालिसक्यो पानी पर्ने छाँटकाँट छैन ।’

जिल्लाका अन्य स्थानीय तहहरु बडीकेदार, बोगटान, जोरायल, सायल, पूर्वीचौकी, आर्दश, केआईसिंह लगायतका गाउँपालिकामा रोपाइँ भए पनि पानी नपर्दा रोपो सुक्दै जान थालेको स्थानीयवासी बताउँछन् । सिँचाइ सुविधा पुगेका ठाउँमा धान रोपाइँ सम्पन्न भए पनि अन्य ठाउँमा भने हुनसकेको छैन । जिल्लामा सबैभन्दा बढी जमीनमा सिँचाइ कुलो नहुँदा आकाशे खेतीको भरमा रोपाइँ गरिँदै आएको छ । कृषि ज्ञान केन्द्र डोटीका अनुसार डोटीमा कूल १० हजार ६ सय ६५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । सो कार्यालयको तथ्यांक अनुसार गत वर्ष डोटीमा २२ हजार ४ सय ४४ मेट्रिकटन धान फलेको थियो । अघिल्लो वर्ष जिल्लामा २.१४ टन प्रतिहेक्टर धान उत्पादनमा वृद्धि भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्