
काठमाडौं –भोजपुर सदरमुकाममा बुधवार बिहान प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एक प्रहरी जवान र अर्का विप्लव नेतृत्वको नेकपाका ओखलढुंगा इञ्चार्ज रहेको नेपाल प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले लोकान्तरलाई जानकारी दिए ।
थापाका अनुसार प्रहरी जवान सञ्जीव राई र विप्लव नेकपाका ओखलढुंगा इञ्चार्ज निरकुमार राई छन् । घटनामा प्रहरी जवान सोमनाथ भट्टराई घाइते भएका छन् ।
बिहान ८ बजेर ४५ मिनेट जाँदा भोजपुर सदरमुकामस्थित हाट बजारमा गोली हानाहान भएको थियो ।
विप्लवसँगको भिडन्तमा प्रहरीको मृत्यु भएको यो पहिलो घटना हो । प्रहरी जवान राईको कोखामा गोली लागेको एसपी थापाले बताए ।
उनका अनुसार घटनास्थलबाट चाइनिज पेस्तोल एक थान र चार राउण्ड गोली बरामद भएको छ ।