
पोखरा- गण्डकी प्रदेशमा एक वर्षमा २ लाख ९८ हजार ९ सय ७५ विदेशी पर्यटक प्रवेश गरेको तथ्यांक संकलन भएको छ । प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा पोखरा र आसपासका जिल्लामा प्रवेश गरेका पर्यटकको विवरण संकलनबाट सो तथ्यांक बाहिर प्राप्त भएको जनाएको छ ।
यसअघि पोखरामा कति पर्यटक आउँछन् भन्ने आधिकारीक तथ्यांक कहीँ कतै थिएन । नेपाल आएका झण्डै ४० प्रतिशत पर्यटक पोखरा आउँछन् भन्ने पर्यटनसम्बद्ध व्यक्ति एवं संस्थाहरूले अनुमान लगाउँदै आएका थिए । प्रदेश सरकार गठनसँगै अघिल्लो आर्थिक वर्ष २०७४/७५ बाट तथ्यांक संकलनको प्रक्रिया थालिएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकृत शिव परियारले जानकारी दिए ।
तथ्यांकअनुसार पोखरामा सबैभन्दा धेरै कात्तिक महिनामा ३८ हजार ५ सय ७५ पर्यटक आएका छन् । सबैभन्दा कम असार महिनामा १२ हजार ६ सय २ पर्यटक आएको प्रदेश सरकारको तथ्यांकमा उल्लेख छ ।
गण्डकी प्रदेशमा आउने पर्यटकमध्ये सबैभन्दा धेरै छिमेकी राष्ट्र भारतबाट आएका छन् । गत साउनदेखि असारसम्मको तथ्यांकअनुसार हवाई मार्ग र स्थलमार्ग हुँदै आउने भारतीय पर्यटकको संख्या एक लाख २० हजार ९ सय ३८ रहेको सूचना अधिकृत परियारले जानकारी दिए । त्यसैगरी एक लाख ७८ हजार ३७ पर्यटक अन्य मुलुकबाट आएको तथ्यांक रहेको छ ।
स्थलमार्गबाट आउने पर्यटकको तथ्यांक तनहुँको आँबुखैरेनीस्थित पृथ्वी राजमार्गको आँबुखैरेनी प्रहरी चेक पोस्ट र स्याङ्जाको गल्याङस्थित सिद्धार्थ राजमार्गको गल्याङ प्रहरी चेक पोस्टमा रहेका प्रहरीले राख्दै आएका छन् । हवाईमार्गबाट आउने पर्यटकको पोखरा विमानस्थलबाट तथ्यांक संकलन गरिएको हो । गण्डकी प्रदेशको नवलपुरमा आउने पर्यटकको तथ्यांक भने यसमा समेटिएको छैन ।