
सुर्खेत - कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई सुरक्षित बनाउन भन्दै नगरपालिकाले सीसी क्यामेरा जडानको तयारी थालेको छ । चालू आर्थिक वर्षमा ४० लाख बजेट विनियोजन गरेको नगरपालिकाले आफ्नै फाइबर बिछ्याउने गरी डिपीआर तयार गरेको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले लोकान्तरलाई बताए ।
‘धुलियाविट देखी बांगेशिमल र कपासे देखी पर्सेनी तथा हटलाईन सडकमा हामीले आफ्नै फाइबर विच्छ्याएर सीसी क्यामेरा जडान गर्ने तयारी गरेका हौं,’ उनले भने, ‘आफ्नै फाइबर भएको खण्डमा नगरपालिकाका १४, १५ र १६ वडा बाहेक अन्य वडामा नेट इन्टरनेटको सबै सुविधा एकद्वार पद्धतिबाट उपलब्ध हुनेछ ।’
उनले फाइबरले इन्ट्रानेटको काम गर्ने बताए । ‘नगरपालिकाले गर्ने सबै काम फाइबर भएको खण्डमा जहाँबाट पनि गर्न सकिनेछ,' उनले भने, ‘यो एक खालको नेटवर्किङ नै हो ।’
अहिले आफुहरुले अन्यको फाइबर किनेर प्रयोग गरिरहेको उनको भनाई छ । ‘अहिले हामीले अन्य कम्पनीको फाइबर खरिद गरेर प्रयोग गरिरहेका छौं,' उनले भने, ‘कर्मचारी प्रशासन, तथ्यांक अपडेट जस्ता सबै काम गर्न हामीलाई सहज हुनेछ ।’
नगरप्रमुख देवकुमार सुवेदीले फाइबर तथा सीसी क्यामेरा जडान गर्नको लागि एक करोड तीस लाख बजेट आवश्यक पर्ने बताए । ‘अहिले हामीले ४० लाख बजेट विनियोजन गरेका छौं,’ उनले भने, ‘बाँकी बजेट प्राप्त गर्न संघ तथा प्रदेश सरकारसँग सहकार्य गर्ने योजना छ ।’ सीसीटिभी क्यामेरा नगरमा आवश्यक रहेको बताउँदै डिपीआर बमोजिम क्यामेरा जडान गरिने उनको भनाई छ ।