२२ असार २०८३, सोमबार

११ निर्माण कम्पनीबाट २ करोड बढी हर्जाना असुल

११ निर्माण कम्पनीबाट २ करोड बढी हर्जाना असुल

कञ्चनपुर – डिभिजन सडक कार्यालय कञ्चनपुरले तोकिएको समयमा निर्माण कार्य पूरा नगर्ने निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याएको छ ।

गत आर्थिक वर्षमा मात्रै कार्यालयले काम लिने तर समयमा पूरा नगर्ने ११ वटा निर्माण कम्पनीलाई कारवाही गरेको डिभिजन सडक कार्यालयका सूचना अधिकृत लक्ष्मीदत्त जोशीले जानकारी दिए ।

‘सम्झौतामै समयमा काम नसक्ने निर्माण पक्षलाई पूर्व निर्धारित क्षतिपूर्ति उल्लेख हुन्छ,’ सूचना अधिकृत जोशीले भने, ‘कारवाहीमा परेका अधिकांश निर्माण व्यवसायी सुदूरपश्चिमकै छन् ।’ उनले ११ निर्माण कम्पनीबाट हर्जानास्वरुप २ करोड ११ लाख ६६ हजार असुल गरिएको बताए ।

‘सचेत गराउनेदेखि पटक–पटक ताकेदा गर्दासम्म कामबारे आनाकानी गर्ने कम्पनीबाट हर्जाना लिइन्छ,’ जोशीले भने, ‘समयमा काम सक्नेलाई पुरस्कृत पनि गरिन्छ ।’ गत वर्ष कैलाली र कञ्चनपुरमा साना र ठूला गरी ५४ वटा पुल निर्माणाधीन अवस्थामा रहेको जोशीको भनाइ छ ।

गत वर्ष ५४ मध्ये ९ वटा पुल निर्माण सम्पन्न भएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

‘११ वटा पुल निर्माणको अन्तिम चरणमा छन्,’ जोशीले भने, ‘कैलालीको चिसापानीदेखि गड्डाचौकीसम्म पूर्व पश्चिम राजमार्ग मर्मतको कामसमेत भएको छ ।’ यहाँको दोदा नदी, ओदाल क्षेत्रमा निर्माण हुनुपर्ने केही पुल भने अलपत्र अवस्थामा छन् ।

कैलाली र कञ्चनपुरमा सडक कार्यालयले तराई, मधेश सडक पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत २४ वटा सडक निर्माणाधीन अवस्थामा छन् ।

salt training

कमेन्ट गर्नुहोस्