१२ असार २०८३, शुक्रबार

संसद सचिवालयमा सद्दे गाडी थन्क्याएर करोडौंका गाडी खरिद, सरकारी बजेट स्वाहा !

साउन २१, २०७६
संसद सचिवालयमा सद्दे गाडी थन्क्याएर करोडौंका गाडी खरिद, सरकारी बजेट स्वाहा !
प्रतिकात्मक तस्वीर

काठमाडौं – संघीय संसद् सचिवालयले आफूसँग भएका दर्जनौं सद्दे सवारीसाधन बिग्रिएको देखाएर करोडौं मूल्यमा १८ वटा नयाँ गाडी खरिद गरेको खुलासा भएको छ ।

सचिवालयमा भएका गाडी थन्काएर नयाँ किन्दा राज्यलाई १२ करोड बढी रुपैयाँको व्ययभार थपिएको छ । सरकारले आर्थिक मितव्ययिताको नीति अवलम्बन गरिएको बताउँदै आएपनि संसद् सचिवालयले भने सो नीतिको खिल्ली उडाउँदै महंगो मूल्यमा स्कार्पियोे गाडी खरिद गरेको हो ।

राजधानी दैनिक लेख्छ – सचिवालयका अनुसार पछिल्लोपटक प्रतिगाडी झन्डै ६५ लाख मूल्य तिरिएको छ ।

सचिवालय परिसरमा सय बढी सवारी साधन थन्क्याएर राखिएको छ भने बर्सेनि महंगोमा गाडीहरू थप्ने क्रम जारी छ । परिसरमा राखिएका गाडी सबैजसो प्रयोग गर्न योग्य भएपनि सचिवालयले नयाँ किन्नकै लागि ‘बिग्रिएको’ भन्दै प्रयोग नगरेको पाइएको छ ।

सचिवालयले चलिरहेका गाडी थन्क्याएर संसदीय समितिका सभापतिलाई नयाँ गाडी किनेर दिएको हो । सभापतिहरू पनि नयाँ गाडी चढ्ने होडबाजीमा उत्रन थालेका छन् । सचिवालयका कर्मचारीका अनुसार सभापतिको नयाँ गाडी चढ्ने लालसाका कारण पुराना गाडी थन्काएर नयाँ किन्नुपर्ने बाध्यता आएको हो ।

गत वर्ष कात्तिकमा संसदीय समितिका सभापति चयन भएको दिन नयाँ गाडी माग गरेपछि संसद् सचिवालयले कात्तिकमा नै २३ वटा नयाँ गाडी किन्न अर्थ मन्त्रालयसँग रकम माग गरेको थियो तर अर्थले भने १८ वटाका लागि मात्रै रकम निकासा दिएको थियो ।

खरिद गरिएका १८ गाडीमध्ये १२ वटा स्कार्पियोे जिप गत २६ जेठमा र तीनवटा ह्याच ब्याक कार २८ जेठमा सचिवालयमा ल्याइएको छ । बाँकी ३ वटा कार पनि ३० जेठमा ल्याइएको थियो ।

गत ११ जेठमा स्कार्पियो खरिद गर्न अर्थ मन्त्रालयले विकास खर्चका लागि छुट्याएको ६ करोड १६ लाख रुपैयाँ रकमान्तर गरेको थियो । वैशाखमा ५ वटा गाडी खरिद गरेको महिना दिन नपुग्दै सचिवालयले ११ गाडी खरिद गरेको हो । संसद् सचिवालयले सद्दे गाडी ग्यारेजमा थन्क्याई लगातार नयाँ खरिद गर्दै आएको छ । सचिवालयले २ वर्षयता ३४ वटा गाडी किनिसकेको छ । ३ वर्षअघि मात्र चीनले संघीय संसद् सचिवालयलाई ९ वटा किया कार उपलब्ध गराएको थियो ।

२०६४ सालमा अनमिन फर्किएपछि उसले प्रयोग गरेको ३० वटा स्कार्पिओ गाडी पनि संघीय संसद् सचिवालयले नै पाएको थियो । संघीय संसद्का कर्मचारीले ११ वटा साना गाडी प्रयोग गर्ने गरेका छन् । अधिकांश हुन्डाई कम्पनीका स्यान्ट्रो कार छन् । सचिवालयसँग केही पुराना इसिजु जिप पनि छन् ।

सचिवालयले राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, उपसभामुख, दलका नेता, सचेतक र १६ वटा संसदीय समितिका सभापतिका लागि २३ वटा नयाँ गाडी किन्न गत वर्ष कात्तिकमै अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको थियो ।

समिति सभापतिले सभामुख कृष्णबहादुर महरासँग आफूहरूले चढेको गाडी पुरानो भएको गुनासो गरेका थिए । त्यसपछि संघीय संसद् व्यवस्थापन समितिको बैठकले गाडी माग गरेको थियो ।

पुराना थन्काएर नयाँ चढ्ने सभापति

नयाँ गाडी अर्थसमिति सभापति कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय समिति सभापति पवित्रा निरौला खरेल, कानुन, न्याय तथा मानवअधिकार समिति सभापति कृष्णभक्त पोखरेल, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदी र महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले पाएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समिति सभापति शशि श्रेष्ठ, राष्ट्रिय सभातर्फ विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारी, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा (पार्वती) ले पनि नयाँ गाडी पाएका छन् ।

संयुक्त समितिअन्तर्गत संसदीय सुनुवाइ समिति सभापति लक्ष्मणलाल कर्ण, राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन, अनुगमन र मूल्यांकन समितिका सभापति निरादेवी जैरुले पनि नयाँ गाडी चढ्न थालेका छन् । संसद्मा प्रतिनिधिसभाका १०, राष्ट्रिय सभाका ४ र संयुक्त २ गरी १६ समिति छन् ।

२०७४ जेठमा किनिएका स्कार्पियोे जीप विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्का, शिक्षा समिति सभापति जयपुरी घर्ती, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति विमलप्रसाद श्रीवास्तव, सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाह र राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले लगेका छन् ।

‘सभापतिका लागि २० वटा स्कार्पिओ र राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष र उपसभामुखका लागि १–१ वटा गाडी किन्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका थियौंं,’ संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने, ‘अर्थले बजेट नपुग्ने भन्दै निकासा नदिएपछि खरिद प्रक्रिया नै रोकिएको थियो ।’ राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्