
काठमाडौँ - खारेज गरिएका नागरिकता दिनेमाथि कारवाही नभएको भन्दै प्रतिनिधि सभाको बैठकमा सांसद हृदयेश त्रिपाठीले आपत्ति जनाएका छन् ।
मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा ८ जना भारतीय नागरिकको नागरिकता खारेज गरेसँगै त्यस्ता नागरिकता दिनेमाथि सरकारले कारवाही गर्न नसकेको त्रिपाठीले आरोप लगाए ।
'विगतको क्याविनेटले केही व्यक्तिको नागरिकता खारेज गरेको निर्णय गर्यो, नागरिकता खारेज त भयो तर दिनेमाथि कारवाही भयो कि भएन ?' त्रिपाठीको प्रश्न थियो, 'ति आफै कहीं बजारबाट किनेका नागरिकता त होइन, आफै हस्ताक्षर गरेको नागरिकता त होइन होला ?'
त्रिपाठीले त्यस्ता नागरिकता वितरण गर्ने अधिकारीहरूलाई तत्काल कारवाही गरेर सदनसमक्ष जानकारी गराउन माग गरे ।
'लिने माथि कारवाही हुन्छ, दिने माथि कारवाही हुँदैन कारण के हो ?' उनले प्रश्न गरे, 'ति कसैका नातेदार पर्छन् कि, कसैका आफन्त पर्छन् कि, कि राज्यको घोषित नीति नै त्यही हो ? ति व्यक्ति जसले नागरिकताको प्रमाणपत्र दिएका छन् कारवाही गरेर सरकारले सदनलाई जानकारी गराओस् ।'