युएईको कानून देखाएर एनआरएन अधिवेशन रोक्ने चलखेल

ईश्वर अर्याल
ईश्वर अर्याल

पत्रकार अर्याल लोकान्तरका लागि राजनीति, समसामयिक घटनाक्रम र वैदेशिक रोजगारीमा रिपोर्टिङ गर्छन् ।

फाइल फोटो

काठमाडौँ - गैर आवासीय नेपाली संघ (एनआरएन), राष्ट्रिय समन्वय परिषद (एनसीसी) युएईको अधिवेशन हुनेमा आशंका उत्पन्न भएको छ । 
युएईको कानूनलाई देखाएर अधिवेशन रोक्ने प्रयास भइरहेको एनआरएन युएईका एक पदाधिकारीले बताए । यसअघि संघले आगामी अगस्ट १६ तारिखका दिन अधिवेशनको मिति तोकेको थियो ।

संघको फुजेरा, रासअल खेमाह, अज्मान, शारजाह र अबुधाबी क्षेत्र गरेर ५ क्षेत्रको अधिवेशन सम्पन्न भइसकेको छ । ५ क्षेत्रमा सम्पन्न अधिवेशनले १३ सय २५ सदस्य सहित १ सय ३२ जना पार्षद छनोट गरिसकेको छ । 


Advertisement

स्रोतका अनुसार एनआरएन युएईका वर्तमान अध्यक्ष रमेश श्रेष्ठ सिडिएको (कम्युनिटी डेभलपमेन्ट अथोरिटी) निर्देशन अनुसार अधिवेशन गर्न नसकिने भन्दै पछि हटेका छन् ।

सिडिए दुबईको सरकारी निकाय हो । एनआरएन युएई गत मार्च महिनामा 'नेपाल एसोसियसन'को नाममा दुबईमा दर्ता भएको छ भने दुबईमा दर्ता भएपश्चात दुबईको कानून अनुसार अधिवेशन गर्न असम्भव रहेको भन्दै श्रेष्ठले यही कार्यसमितिलाई दोहोर्याउनुपर्ने धारणा आफ्ना निकटस्थसँग राख्ने गरेका छन् ।

चौतर्फी दबाब बढेपछि सहमतिमा श्रेष्ठले अध्यक्ष पद छोड्ने बताएका थिए । अधिवेशन भएमा अध्यक्षका अर्का प्रत्यासी प्रकाश कोइरालाले जित्ने पक्कापक्की भएपछि श्रेष्ठ अधिवेशन नै नगर्ने गरी अघि बढेको श्रोतको दाबी छ ।

श्रेष्ठकै आग्रहमा मंगलबार (आज) बेलुकी आकस्मिक बैठक डाकिएको छ । बैठकले अधिवेशन स्थगित गर्ने निर्णय गर्नसक्ने वर्तमान कार्यसमितिका एक पदाधिकारीको दाबी छ । 

अधिवेशन नभएमा के हुन्छ ?

अधिवेशन नभएको अवस्थामा विधानअनुसार विशेष समितिले वर्तमान कार्यसमितिको जिम्मेवारी लिनेछ भने कार्यसमिती स्वतः खारेज हुनेछ ।

विशेष समितिले अर्को मिती तोकेर अधिवेशन गरी नयाँ कार्यसमिति गठन गर्नेछ । २ वर्ष भित्र अधिवेशन गर्न नसकेको अवस्थामा विशेष समिति सक्रिय हुने विधानत व्यवस्था छ ।

त्यस्तो अवस्थामा नेपाल एसोसियसन युएई एनआरएनबाट अलग्गिनेछ । 

कमेन्ट गर्नुहोस्