गौशाला, १५ चैत– महोत्तरी जिल्लाको गौशाला नगरपालिकाका इन्जिनियर शोभिन्द्र साहलाई सोमबार दिउँसो एक समूहले कार्यकक्षमै कुटपिट गरेको छ ।
इन्जिनियर साहका अनुसार उनी आफ्नो कार्यकक्षमा काम गरिरहेकै क्रममा स्थानीय नवीन साह, अजित चौधरी, सञ्जय बालग्वाल लगायतका व्यक्तिले आएर गाली, बेइज्जति गर्नुका साथै कुटपिट गरेका हुन् ।
नगरपालिका क्षेत्रभित्र नगर विकास कोषको योजना र बजेट बाँडफाँडको टेन्डरसम्बन्धी सूचना प्रकाशन गरेको कुरालाई लिएर उनीहरुले इन्जिनियर साहलाई कुटपिट गरेको बुझिाएको छ ।
उनीहरुको कुटाइबाट इन्जिनियर साहलाई सामान्य चोटपटक लागेको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ ।
आफूले कार्यालय प्रमुखको आदेशानुसार टेन्डरसम्बन्धी सूचना प्रकाशित गरेको इन्जिनियर साहको भनाइ छ । आफूलाई यसमा कसैले गाली, बेइज्जति र कुटपिट गर्नु गैरकानुनी भएको भन्दै उनले आफूलाई दुव्र्यवहार र कुटपिट गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने माग गरेका छन् ।
यता इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलसँग घटनाबारे जानकारी लिँदा उनले गौशाला नगरपालिकामा इन्जिनियर साहमाथि गाली बेइज्जति भएको, स्थानीय र इन्जिनियरबीच भनाभन भएकोबारे आफूलाई जानकारी भएको तर कुटपिट भएकोबारे प्रहरी टोलीले केही नभनेको बताए ।
साथै, उनले आफ्नो प्रहरी टोली घटनास्थल पुग्दा बादविवाद साम्य भइसकेको तथा उनीमाथि कुटपिट गर्ने समूह भागिसकेको बताए ।