काठमाडौं, १५ चैत — भारत र अस्ट्रेलियाबीचको चार टेस्ट म्याचको शृंखलाको अन्तिम म्याच आठ विकेटले जित्दै घरेलु टोली भारतले शृंखलामा कब्जा जमाएको छ ।

बोर्डर–गावस्कर ट्रफी हात पार्ने क्रममा भारतले चौथो दिनको पहिलो सेसनमा १०६ रनको लक्ष्य जम्मा दुई विकेट गुमाएर हासिल गरेको छ ।
भारतका लागि लोकेश राहुलले नटआउट रहँदै ५१ रन बनाए भने कप्तान अजिंक्या रहाणेले २७ बलमै ३८ रन बनाएर टोलीलाई जिताए ।
यसअघि दोस्रो इनिङमा नाटकीय पतन बेहोर्दै अस्ट्रेलिया जम्मा १३७ रनमा अलआउट भएको थियो । उमेश यादव, रवीन्द्र जडेजा र रविचन्द्रन अश्विनले घातक बलिङ गर्दै तीन तीन विकेट बाँडेपछि अस्ट्रेलिया कम स्कोरमा समेटिएको थियो ।
अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ४५ रन बनाएका थिए भने अन्य कुनै पनि ब्याट्स्म्यानले गतिलो योगदान गर्न सकेनन् ।
पहिलो इनिङमा अस्ट्रेलियाले कप्तान स्टिभ स्मिथको १११ रनको मद्दतले ३०० रन बनाएको थियो भने भारतले ३३२ रन बनायो ।
भारत शृंखलामा २–१ ले विजयी रह्यो ।