
काठमाडौं – इटलीको राजधानी रोममा अनेकौं घरमा विमानका टुक्रा खसेका छन् ।
एक अन्तर्राष्ट्रिय विमानमा खराबी आएपछि यसो भएको हो ।
नर्वेजियन एयरलाइन्सका एक प्रवक्ताले युरोन्युजसँग विमान खराब भएको पुष्टि गरेका छन् ।
घटनाको अनुसन्धान भइरहेको छ । रोमबाट अमेरिकाको लस एन्जिलिस जाँदै गरेको विमानमा प्राविधिक गडबडी आएपछि बीचैबाट फर्किनुपरेको थियो ।
विमानबाट चोइटिएर खसेका टुक्राका कारण २५ कार र १२ घर क्षतिग्रस्त भए । ५४ वर्षीय एक व्यक्तिले आफूमाथि एक टुक्रा खसेको तर चोट नलागेको बताए ।
मिडिया रिपोर्टमा चारदेखि आठ इन्चका टुक्रा सडकमा छरिएको अवस्थामा भेटेको बताइएको छ । मानिसहरूले यसमा तत्काल कारवाही गर्नुपर्ने बताएका छन् ।
एजेन्सी