
काठमाडौं – रुसमा च्याउ टिप्न गएका एक वृद्धलाई खैरो भालुले खाइदिएको छ । त्यसको केही घन्टाअघि मात्र उनले पत्नीसँग आफूलाई भालुले खान सक्ने भनी मजाक गरेका थिए ।
अलेक्जेन्डर कोर्नेयेभ नामक ६६ वर्षीय वृद्धले सानो चक्कु लिएर भालुलाई प्रतिकार गर्न खोजेका थिए । तर भालुले उनलाई कर्यापझ्याप पारेर मारेको थियो ।
मस्कोभन्दा ५३ सय माइल टाढा रहेको सुलुक गाउँमा घटना भएको हो । कोर्नेयेभलाई भालुले निकै चोटग्रस्त बनाएको थियो ।
भालुलाई पछि गाउँलेहरूले गोली हानी मारेका थिए । कोर्नेयेभको मासु भालुको पेटमा फेला परेको थियो ।
सेवानिवृत्त रेलवे निर्माण कर्मचारी कोर्नेयेभले आफ्नी पत्नीलाई फोन गरेर भनेका थिए, ‘म च्याउ टिप्न जाँदैछु । मैले तिमीलाई बिहान १० बजेसम्म फोन गरिनँ भने मलाई भालुले खाएको ठान्नू ।’
गाउँका अध्यक्ष सर्गे र्याबोभले भने, ‘त्यो मजाक थियो तर उनले आफ्ना शब्दबाट खराब शक्तिलाई जगाए । जताततै रगत थियो । उनको सानो चक्कु दुई टुक्रा भएको थियो । लडाईं भएको जस्तो देखिन्थ्यो । उनको शरीर घोप्टो परेको अवस्थामा थियो । चोट नलागेको कुनै ठाउँ थिएन । भालुले मान्छे खाएछ ।’
कोर्नेयेभको भौतिक अवशेष स्थानीय रेलवे कामदारहरूले गाउँनजिकको कच्ची बाटोमा फेला पारेका थिए ।
उक्त क्षेत्रमा भालुहरूले मानिसलाई कहिले पनि आक्रमण गरेको थाहा नपाएको भन्दै स्थानीयहरू यो आक्रमणबाट स्तब्ध छन् ।
हालैका हप्ताहरूमा साइबेरिया र सुदूरपूर्वबाट भालुहरू गाउँ र शहर पस्न थालेका छन् ।
उक्त क्षेत्रमा बेस्सरी डढेलो लागेपछि भालुहरू त्यहाँबाट भाग्न बाध्य भएका थिए । उनीहरूका लागि खानेकुराको पनि अभाव भएको थियो ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
मानिसहरूलाई जंगल नजान अनि च्याउ नटिप्न आग्रह गर्दै संकेतचिह्नहरू राखिएका छन् ।
एजेन्सी