काठमाडौं – अमेजन जंगलमा लागेको भयंकर डढेलोका कारण उक्त क्षेत्रमा बस्ने मानिसहरूको दैनन्दिन गतिविधिमा पनि असर पर्न थालेको छ ।
ब्राजिलको अमेजनमा डढेलोका कारण फूटबल म्याच समेत रोक्नुपरेको छ । स्थानीय क्लबको फूटबल म्याच चल्दै गर्दा बेस्सरी धूवाँ भरिएर खेल रोक्नुपरेको थियो । हेर्नै समस्या भएपछि अनि सास फेर्न पनि गाह्रो भएपछि म्याच रोक्नुपरेको थियो ।
उत्तरी ब्राजिलको रियो ब्रांको स्टेडियममा म्याच हुँदै गर्दा यस्तो स्थिति आयो । थर्ड डिभिजनमा एट्लेटिको एक्रिनियो र लुवरडेंसेबीच म्याच भइरहेको थियो । जम्मा ६ मिनटको खेल भएपछि मैदानमा धूवाँ भरिएको थियो ।
संसारको सबभन्दा ठूलो डढेलो लागेको ठाउँबाट मैदान टाढा थिएन ।
संसारको फोक्सो मानिने ब्राजिलको अमेजन जंगलमा कैयौं दिनदेखि भीषण डढेलो लागेको छ । ग्लोबल वार्मिङको संकट झेलिरहेको विश्वका लागि अमेजन डढेलो ठूलो चुनौती बनेको छ ।
एजेन्सी