
काठमाडौं – उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली भदौ २० गते स्वदेश फर्कने भएका छन् ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँगको टेलिफोन वार्तामा प्रधानमन्त्री ओलीले आफू २० गते नेपाल फर्किने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले आइतवार साँझ साढे ६ बजे सिंगापुरबाट फोन गरेको नेम्वाङले बताए । ‘उहाँले हिजो (आइतवार) साढे ६ बजे फोन गर्नुभएको थियो,’ लोकान्तरसँग कुरा गर्दै नेम्वाङले भने, ‘अनि यहाँनेर शान्तिप्रक्रिया टुंगोमा पुर्याउनेबारे चासो व्यक्त गर्नुभो । मैले प्रधानमन्त्री नेपालमा हुँदा भएकै कुराकानी अनुसार अघि बढिरहेको छ भनेर जानकारी दिएँ ।’
सत्तापक्ष र प्रतिपक्ष दुवैको सहमतिमा सम्बन्धित विधेयकलाई फाइनल गर्नेबारे गृहकार्य भइरहेको नेम्वाङले बताए ।
‘उहाँले विशेष चासो देखाउनुभएका अन्य विषयमध्ये एउटा शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउन बनेका आयोगहरू (सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग) बारे यहाँ भएका प्रगतिबारे जानकारी गराएँ,’ उनले भने, ‘मैले उहाँलाई हामीले ती विषयहरू फाइनल गर्दैछौं भनें ।’
प्रधानमन्त्री ओलीले नेम्वाङसँग अन्य विधेयकबारे पनि चासो राखेका थिए । ‘अरू विधेयकमा के–के हुँदैछ भनेर सोध्दै हुनुहुन्थ्यो,’ नेम्वाङले भने, ‘उहाँकै पहलमा सर्वदलीय बैठक बसेको थियो । त्यही सर्वदलीय बैठक अनुसार नै सम्बन्धित विधेयकहरू संशोधन हालेर समितिमा पुर्याउने र समितिमा त्यसलाई सहमति गरेर छलफल गरेर सकेसम्म संसदको यही अधिवेशनबाट टुंग्याउने विषय अघि बढिरहेको छ भनेर मैले उहाँलाई जानकारी गराएँ ।’
त्यही सिलसिलामा मिडिया काउन्सिल विधेयक त अघि बढिसक्यो भनेर आफूले प्रधानमन्त्रीलाई जानकारी गराएको नेम्वाङले बताए । ‘त्यसपछि उहाँले ए ! भन्नुभो,’ नेम्वाङले भने, ‘मैले तपाईको स्वास्थ्यस्थिति कस्तो छ भनेर सोधें, उहाँले एकदम राम्रो छ भनेर भन्नुभयो । त्यसपछि कहिले आउने त कमरेड ? भनेर सोधें, उहाँले २० गते आउँछु भनेर भन्नुभयो ।’
सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा भदौ ६ गतेदेखि प्रधानमन्त्रीको उपचार प्रक्रिया थालिएको थियो । त्यहाँ उनलाई प्लाज्मा फेरसिस पद्धतिबाट उपचार भइरहेको छ । प्रधानमन्त्रीको उपचार प्रक्रिया बुधवार सम्पन्न हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिएका छन् ।