
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको चालू केन्द्रीय समितिको बैठकमा डा. शेखर कोइराला कडा रूपमा प्रस्तुत भएका छन् ।
गत शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा कोइरालाले १४ औं महाधिवेशनमा हिन्दू राष्ट्रको विषय चर्को रूपमा उठ्ने र त्यसको व्यवस्थापनतर्फ पार्टीले ध्यान दिनुपर्ने बताएका हुन् ।
‘प्रलोभनमा धर्म परिवर्तन गर्न पाइँदैन भन्नु गलत हो ?’ उनले बैठकमा आक्रामक रूपमा प्रश्न गरे, ‘पार्टीको १४ औं महाधिवेशनमा हिन्दू राष्ट्रको विषय चर्को रुपले उठ्छ । यसलाई कसरी व्यवस्थापन गर्ने हो त्यसतर्फ हाम्रो ध्यान जान जरुरी छ ।’
कोइरालाले सरकारले सर्वदलीय बैठक बोलाएर गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशितामाथि पूर्व राजा र विप्लव समूहबाट खतरा रहेको तर्क गरेपनि सरकारबाटै मुलुक खतरामा रहेको दाबी गरे ।
‘नेपाली जनता र व्यवसायीहरू करको चरम मारमा परेका छन्,’ उनले भने, ‘मूल्यवृद्धि आकासिएको छ । किसानका समस्या दिनानुदिन विकराल बन्दै गएको छ । भ्रष्टाचार संस्थागत ढंगले अगाडि बढिरहेको छ ।’
जनताले सुशासनको अनुभूति गर्न नपाएको भन्दै कोइरालाले सरकार आर्थिक, सामाजिक र राजनीतिक सबै प्रकारले असफल भएको बताए । यस्ता विषयमा पार्टीले आफ्नो धारणा सार्वजनिक नगरेकोमा कोइरालाले तितो पोखे ।
‘पार्टीले आफ्नो धारणा सार्वजनिक गर्न जरुरी छ,’ उनले भने, ‘देशको अर्थतन्त्र ओरालो लागिरहेको छ । प्रधानमन्त्रीज्यूले आर्थिक वृद्धिदर ७.५ छ भन्नुभएको छ तर वास्तविक ६.५ मात्रै छ । सरकार झूटमाथि झूटको खेती गरिरहेको छ तर हामीले सरकारका गलत कुरालाई बाहिर ल्याउन सकिरहेका छैनौं ।’