
काठमाडौं – भारतको केरल राज्यमा गुडिरहेको कारबाट डेढ वर्षीया छोरी खसेको आमाबुवाले थाहै पाएनन् । तीस माइल पर रहेको घर पुगेपछि मात्र पो उनीहरू झल्याँस्स भए ।
शिशु केरलको इडुक्की जिल्लामा जीपबाट खसेकी थिइन् । त्यतिखेर उनका पिता सतीश र सत्यभामा तमिलनाडुमा रहेको पालानी मन्दिरमा भएको पूजाआजा सकेर घर फर्किरहेका थिए ।
शिशु रोहिता सुतिरहेकी आमाको काखमा बसिरहेकी थिइन् । जीप मोडिँदा उनी तल खसिन् ।
बच्ची जीपबाट खसेको आमाबुवाले थाहा पाउँदा ३० माइल पर पुगिसकेका थिए ।
रोहिता घस्रिँदै नजिकैको वन चेकप्वान्ट पुगिन् । वन विभागका अधिकारीहरूले शिशुलाई सीसीटीभीमा देखेपछि उनलाई उद्धार गर्नका लागि दौडिए ।
उनलाई प्राथमिक उपचार गरियो अनि प्रहरीलाई बुझाइयो । उनलाई सामान्य चोटपटक मात्र लागेको थियो ।
मध्यरातमा घर पुगेपछि मात्र मातापिताले बच्ची हराइरहेको थाहा पाए र भेल्लाथूभाल प्रहरी चौकीमा रिपोर्ट गरे ।
उनीहरूलाई प्रहरीले मुन्नारमा बच्ची फेला परेको जानकारी दिइयो ।
घटना भएको ठाउँमा जंगली जनावर र भुस्याहा कुकुरको आतंक छ । धन्य बच्चीलाई केही भएन ।
एजेन्सी