
काठमाडौँ - बाँके जिल्लामा नेपाली काँग्रेस पार्टीको जागरण कार्यक्रम चलिरहेको अवस्थामा नेकपाका कार्यकर्ताहरु प्रवेशगरी अन्धाधुन आक्रमण गरेकोमा कांग्रेसकी सांसद डीला संग्रौला पन्तले आपत्ति जनाएकी छन् ।
शुक्रवार एक विज्ञप्ति जारी गर्दै संग्रौलाले उक्त आक्रमणबाट नेपाली काँग्रेसको जिल्ला सभापति किरण कोइरालाको हात फ्याक्चर भएको भन्दै यसले कम्यूनिष्टको चरित्र उदाङगिएको आरोप लगाइन् ।
'उक्त घटनामा केन्द्रीय प्रतिनिधि विध्या प्रसाद खनाल लगायत दर्जनौ स्थानीय नेता तथा कार्यकर्ताहरु घाइते भएका छन्,' संग्रौलाले विज्ञप्तिमा भनेकी छन्, 'यो घटनाले सत्ता र शक्तिको उन्मादमा गुण्डागर्दीमा उत्रने कम्युनिस्टहरूको चरित्र उदांगो भएको छ ।'
कुनै पनि राजनीतिक दलले शान्तिपूर्ण रुपमा कार्यक्रम गर्न पाउने संवैधानिक अधिकार माथि ठाडो प्रहार भएको संग्रौलाले आरोप लगाइन् । 'यस किसिमको अराजक घटना एवं अमानवीय कार्य हुदाँसम्म पनि सुरक्षा निकाय, स्थानीय प्रशाासन एवं सरकार मौन बस्नु अत्यन्त दुखदायी कुरा हो,' संग्रौला भन्छिन्, 'घाइतेहरुको शिघ्र स्वास्थय लाभको कामना गर्दै दोषीलाई तत्काल कारवाही गर्न सरकारसँग जोडदार माग गर्दछु ।'