०९ साउन २०८३, शनिबार
फरक क्षमता

दृष्टिविहीनको जीवन : लगातार सफलता चुम्दै

भदौ २८, २०७६
दृष्टिविहीनको जीवन : लगातार सफलता चुम्दै

बुटवल – अपाङ्गता एक प्रकारको अवरोध हो । यसलाई पन्छाउँदै अगाडि बढ्न सके अपाङ्गता भएका व्यक्ति पनि अन्य मानिस सरह जुनसुकै ठाउँमा पुगेर सफलता प्राप्त गर्न पछि पर्दैनन् ।

मानिसमा आँट र चाहना भए शारीरिक अपाङ्गताले पनि रोक्न नसक्दो रहेछ । अपाङ्गतालाई चिर्दै सफलता चुम्ने मध्येका एक हुन् गोर्खाका रमेश पोखरेल ।

नेत्रहीन संघका केन्द्रीय अध्यक्ष पोखरेल गोर्खा नगरपालिका–४ रिपमा २०३४ सालमा जन्मिँदा नै दृष्टिविहीन भए । परिवार र आफन्त कसैमा नभएको दृष्टिविहीनता उनको जीवनमा आइपर्‍यो ।

बालापनका १५ वर्ष उनले घरकै आगनपिँढीमा परिवारको सहारामा बिताए । गाउँका १ जना छिमेकी बुवाले दृष्टिविहीनलाई कास्कीको पोखरास्थित १ विद्यालयमा पढाइ हुन्छ भन्ने जानकारी दिए ।

त्यसपछि उनलाई १६ वर्षको उमेरमा दाइ हरिरामको सहयोगमा पोखरास्थित अमरसिंह माविमा १ कक्षामा भर्ना गरियो । गाउँमा हातले छामेका कोदो र तोरीका गेडाजस्ता ब्रेललिपिका अक्षर छामेर पढ्दा उनलाई शुरूका केही दिन पढ्न सकिँदैन जस्तो लाग्यो । सँगै स्कूलमै पढ्ने अन्य दृष्टिविहीन साथी पढ्दै गए, सकिन्छ भन्दै उनलाई हौसला दिए ।

पढ्न शुरू गरेको ३ महिनामा उनी पढ्न लेख्न जान्ने भए । उनको पढाइमा निखारता आउँदै गयो । पढाइमा अब्बल बन्दै गएपछि उनी पहिलो वर्षमा ५ कक्षामा पढ्न पाउने भए । ५ बाट ६ कक्षामा जाँदा ६५ जना विद्यार्थीमध्ये उनी प्रथम हुन सफल भए । उनी १० कक्षासम्म निरन्तर प्रथम स्थान हाँसिल गर्दै गए ।

२०५३ सालको प्रवेशिका (एसएलसी) परीक्षामा उनले ७० प्रतिशत अंकका साथ एसएलसी उत्तीर्ण गरे । जुन प्रतिशत दृष्टिविहीन विद्यार्थीतर्फ नेपालकै उत्कृष्ट अंक रहेको थियो । धेरै अंकका साथ प्रवेशिका परीक्षा उत्तीर्ण गरेबापत सरकारले उनलाई सम्मान गर्‍यो । तत्कालीन सभामुख रामचन्द्र पौडेलले उनलाई १० हजार रूपैयाँ नगदसहित सम्मान गरेका थिए ।

सम्मानले उनलाई उच्च शिक्षा पढ्ने हौसला मिल्यो । उनी पोखराको पृथ्वीनारायण क्याम्पसमा आईएमा नेपाली विषय लिए भर्ना भए । विद्यालय तहसम्म दृष्टिविहीनका लागि पाठ्यपुस्तक पाइएपनि उच्च शिक्षाको लागि पुस्तक पाइएन । उनले कक्षामा शिक्षकले पढाएको सुन्थे र त्यो आवाज रेकर्ड पनि गर्थे । बिहान कलेज जान्थे, दिउँसो पोखराकै एक प्रावि विद्यालयमा पढाउन पनि शुरू गरे उनले । कलेजमै सुनेर रेकर्ड गरेर साथीहरूले पढेको सुनेर उनले पीएन क्याम्पसबाट आईए, बीए र एमए पोखराबाटै उत्तीर्ण गरे ।

पोखरेलले एमएड चाहिँ काठमाडौंस्थित महेन्द्ररत्न क्याम्पस ताहचलबाट उत्तीर्ण गरे । उनी कलेज एक्लै जान्थे, कसैको सहारा चाहिँदैनथ्यो । माइक्रो बसमा चढ्थे, क्याम्पस अगाडि गाडी चालकलाई रोकिदिन भन्ने, झरेर कक्षामा जान्थे ।

अध्ययनसँगै आफूजस्तै दृष्टिविहीनको अध्ययन विकास र अधिकारको क्षेत्रमा जुट्ने संस्था पश्चिमाञ्चल नेत्रहीन संघमा २०५२ सालदेखि नै उनी काम गर्न थालेका थिए । उनले शिक्षक सेवा आयोगको परीक्षा पनि दिएका थिए । आयोगको परीक्षामा उनले नाम निकाल्न समेत सफल भए । उनले आयोगबाट नाम निस्किएपछि कालिका मावि रामबजार पोखरामा पढाउन शुरू गरे ।

‘संघर्ष परिवारबाटै शुरू गर्नुपर्छ । परिवारबाटै अपाङ्गता भएका व्यक्तिलाई अवरोध छ । त्यसपछि सामाजिक अवरोध पन्छाउँदै अगाडि बढ्नुपर्छ । गर्न नसक्ने र पुग्न नसकिने ठाउँ कहीँ छैन,’ पोखरेल भन्छन्, ‘पुरानो धारणा र तगारो पन्छाउँदै अगाडि बढौं सफलता टाढा छैन ।’

उनले क्याम्पस पढ्दै गर्दा उनीजस्तै दृष्टिविहीन सरस्वती आचार्यसँग चिनजान भयो । उनीहरू नजिकिँदै जाँदा माया बस्दै गएपछि दुवैले विवाह गर्ने सोच बनाए । २०५८ सालमा विवाह पनि गरे, हाल १ छोरी स्मारिका छिन् ।

‘भगवानले उनलाई पनि दृष्टिविहीन बनाइदिए,’ पोखरेल भन्छन्, ‘छोरीमा पनि दृष्टिविहीनता देखिएपछि हामी अर्को सन्तान नजन्माउने निचोडमा पुग्यौं । छोरीले एसईई उत्तीर्ण गरेर काठमाडौंस्थित साइपल कलेजमा ‘ए लेवल’ अध्ययन गरिरहेकी छन् ।’ स्मारिकाको एसईईमा जीपीए ३.७ आएको थियो । सरस्वतीले पनि रामेश्वरी मावि मझेरीपाटनमा पढाउँछिन् । 

दृष्टिविहीन पोखरेल परिवारले पोखरामा घर बनाएका छन् । उनी भन्छन्, ‘सानो–सानो दुःखबाट घर बनाएका छौं तर म एमफिल गर्न काठमाडौंमा छु । छोरी कलेज र श्रीमती घर छिन् ।’ पोखरेल दृष्टिविहीन भएपनि उनलाई देश–विदेश घुम्न कसैको सहायता चाहिँदैन । उनी नेपालका ५५ जिल्ला सदरमुकाम पुगेका छन् । उनी कसैको सहारा विनै ५५ जिल्ला पुगेका हुन् ।

उनी ६ विदेशी राष्ट्र पनि एक्लै पुगेका छन् । अस्ट्रेलिया, अमेरिका, स्वीजरल्याण्ड, फ्रान्स, टर्की, साउदी अरब पनि एक्लै पुगेका छन् उनी । ‘विदेशमा नेपाल जस्तो अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोण नकारात्मक छैन । उनीहरू धेरै सम्मान गर्छन् । सहयोग गर्छन् । नेपालमा अझै पनि अपाङ्गता भएका व्यक्तिलाई नराम्रो दृष्टिले हेरिन्छ । यसलाई परिवर्तन गर्न जरूरी छ,’ उनी भन्छन् ।

राज्यको नीति निर्माण तहमा पुगेर अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा काम गर्ने इन्छा रहेको उनी बताउँछन् । ‘बेलायतका शिक्षामन्त्री डेबिड ब्लाङ्किट पूर्ण दृष्टिविहीन हुन् । अपाङ्गता भएका केही गर्न सक्दैनन् भन्ने होइन । देश हाँक्न सक्छन् । अन्य व्यक्तिहरूभन्दा कम हुँदैनन् ।’ शारीरिक रुपले अपाङ्गता भएपनि प्रतिभाशाली धेरै कलाकारले समाजमा अलग्गै पहिचान बनाइरहेका छन् । 

सरकारले अपाङ्गताका क्षेत्रमा केही शुरूवात गरेपनि त्यो पर्याप्त नभएको पोखरेलको भनाइ छ । पढ्ने क्षमता र इच्छा हुँदाहुँदै पाठ्यपुस्तक नहुँदा धेरै दृष्टिविहीन उच्च शिक्षा अध्ययनबाट वञ्चित छन् । अब कम्तिमा उच्च शिक्षाका पाठ्यक्रम बनाउनुपर्ने सुझाव पोखरेलको छ । नेत्रहीन संघले गरेको कार्यक्रम र प्रोत्साहनबाट हालसम्म ३ हजार बढी व्यक्तिले एसईई उत्तीर्ण गरिसकेका छन् । ३ सय ५० जना नेत्रहीन स्थायी शिक्षकमा नाम निकाल्न सफल भएका छन् । ५० जनाभन्दा बढीले निजामती क्षेत्रमा प्रवेश गरेका छन् ।

नेपालमा झण्डै १ लाख अपाङ्गता भएका व्यक्ति छन् । अझै पनि हिँड्ने सार्वजनिक सडक, सरकारी कार्यालय अपाङ्गमैत्री छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्