
काठमाडौँ, १९ चैत- प्रधानसेनापति राजेन्द्र क्षत्रीले सेनालाई सरकारले दिने कुनै पनि जिम्मेवारीबाट पछि नहट्ने बताएका छन् । सरकारले राजधानीबाट तराई–मधेस जोड्ने बहुचर्चित दु्रतमार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा सेनालाई दिने प्रक्रिया सुरु गरिसकेका बेला प्रधानसेनापति क्षत्रीले सेना काम गर्न तयार रहेको प्रस्ट पारेका हुन्, कान्तिपुरमा खबर छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रक्षा मन्त्रालयमार्फत सेनाको व्यवस्थापनमा दु्रतमार्ग निर्माण गर्न सैनिक मुख्यालय जंगी अड्डासित राय र सुझाव मागेर पत्र पठाइसकेको छ । पत्र रक्षाबाट सैनिक मुख्यालय जंगीअड्डामा पुग्न बाँकी छ ।
प्रधानसेनापति क्षत्रीले दु्रतमार्गका सम्बन्धमा सरकारले दिने जिम्मेवारी सेनाले बहन गर्ने बताए । उनले भने, ‘सेना सरकारले दिने र दिएको जिम्मेवारीबाट पछि हटदैन ।’ पत्र आएपछि छलफल गरेर सरकारलाई राय र सुझाव दिइने उनले बताए । तर सरकारले नै जिम्मेवारी दिएपछि आफ्नो क्षमताअनुसार काम गर्न सेना तयार रहेको उनले जनाए । द्रुतमार्गको ट्रयाक खोल्ने काम पनि सेनाले नै गरेको हो ।
सेनाले हालसम्म मुलुकका विभिन्न भागमा १ हजार २९ किमि सडकको ट्रयाक खोली सरकारलाई हस्तान्तरण गरिसकेको छ । हाल सेनाद्वारा ट्रयाक खोलिरहेको निर्माणाधीन सडकको लम्बाइ ५२० किमि छ । सेनाले कुल २३ सडकमा पुल निर्माण गरिसकेको छ । मुलुकको अप्ठ्यारो भूबनोट र काम गर्न असहज भएका विभिन्न ठाउँमा सडकको ट्रयाक खोल्न सरकारले दिएको जिम्मेवारीअनुसार सेनाले अहिले कर्णाली करिडोर (१९६.३४७ किमि), जाजरकोट–डोल्पा सडक (११७.७७ किमि), कालीगण्डकी करिडोर सडक (६७ किमि), मैलुङ–स्याप्रुबेसी सडक (१८ किमि) र बेनीघाट–आरुघाट–लार्केभन्ज्याङ सडक (१ सय १२ किमि) सडकको ट्रयाक खोल्ने काम गरिरहेको छ ।