
काठमाडौं – फ्रान्सका पूर्वराष्ट्रपति ज्याक शिराकको ८६ वर्षको उमेरमा मृत्यु भएको छ ।
वर्षौंसम्म उनले स्मरणशक्ति गुमाउने रोग लिएर बाँच्नुपरेको थियो । उनलाई अल्जाइमर रोग लागेको बताइएको थियो ।
शिराक सन् १९९५ देखि २००७ सम्म राष्ट्रपति थिए । उनी दुईपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री र १८ वर्ष पेरिसका मेयर थिए ।
उनको राष्ट्रपतित्वमा खासै केही काम नभएको र राजनीतिक गतिरोध आएको अनि देश ऋणमा चुर्लुम्म डुबेको भए पनि उनको आकर्षक व्यक्तित्वका कारण उनी सेवानिवृत्त हुँदा फ्रान्सका लोकप्रिय राजनीतिकर्मीमध्ये एकका रूपमा लिइएका थिए ।
अन्तर्राष्ट्रिय राजनीतिमा शिराक सन् २००३ मा अमेरिकाले गरेको इराक आक्रमणको घनघोर विरोधीका रूपमा चिनिन्छन् । त्यतिखेर उनको युद्धविरोधी अडानले समर्थन सूचकांक ९० प्रतिशत पुगेको थियो ।
इराकमा कब्जा जमाउनु दुःस्वप्न हुने उनले त्यतिखेर चेतावनी दिएका थिए ।
एजेन्सी