२३ जेठ २०८३, शनिबार
प्रहरीको योजना असफल

ट्राफिकको योजनाले नौबिसे–कलंकी सडक खण्डमा खायो हावा ! यात्रुलाई सास्ती

असोज १०, २०७६
ट्राफिकको योजनाले नौबिसे–कलंकी सडक खण्डमा खायो हावा ! यात्रुलाई सास्ती

काठमाडौं – दशैंतिहार चाडपर्वमा काठमाडौं उपत्यका भित्रिले र बाहिरिने सवारीसाधनले जामको सास्ती खेप्नुपरेको छ ।

बिहीवार काठमाडौं उपत्यका भित्रिन लागेका हजारौं गाडी नौबिसेदेखि कलंकी सडकखण्ड झण्डै २० किलोमिटर पार गर्न यात्रुलाई ८–९ घण्टा लामो जाम खेप्नुपर्‍यो ।

महानगरीय ट्राफिक प्रहरीले दशैंतिहारको समयमा हुने सवारीसाधनलाई व्यवस्थित गर्न भन्दै विशेष योजना समेत सार्वजनिक गरेको १ हप्ता नबित्दै यात्रुले २० किलोमिटरभन्दा बढी लामो जाम खेप्नुपरेको छ ।

विशेष योजना सुनाउँदै महानगरीय प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी भीमप्रसाद ढकालले भनेका थिए, ‘हामीले जामलाई मध्यनजर गरेर नागढुंगा नौबिसे सडकखण्डमा एउटा र्‍याकर राखेका छौं ।’

अत्याधिक सवारी जामका कारण उपचारका लागि काठमाडौं आउँदै गरेका रौतहटका मृगौला पीडित रुकलाल साहको धादिङको थाक्रे गाउँपालिकास्थित पृथ्वी राजमार्गमा बसभित्र नै ज्यान गुमेको छ । ‘हामी यात्रुले लामो जाम खेपिरहेका छौं । प्रहरीले जति कार्यक्रम सार्वजनिक गरेपनि सधै यस्तै हो,’ चितवनमा हरिप्रसाद रोकायाले गुनासो गरे, ‘चितवनबाट हिँडेर आएको भएपनि काठमाडौं ९–१० घण्टामा पुगिन्थ्यो, गाडीमा नै २१ घण्टा भयो ।’

बुटवलबाट बिहान ६ बजेको बस चढेकी प्रमिला घिमिरे राति २ बजे नौबिसे बसमै थिइन् । ‘काठमाडौं कहिले पुगिने हो थाहा छैन । जाम खुल्ला जस्तो छैन,’ निराश हुँदै आफन्तलाई फोन सुनाउँदै थिइन् तर ट्राफिक प्रहरीले भने जाम धेरै समयको जाम नभएको दाबी गरेको छ ।

पछिल्लो ४ दिनमा मुग्लिङ–नागढुंगा सडक खण्डमा ९९ वटा गाडीलाई उपत्यकाबाट सञ्चालित र्‍याकरले हटाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताए । ‘हिजोको जामलाई मध्यनजर गरेर हामीले प्रहरी निरीक्षकको कमाण्डमा १० जना टोली खटाएका छौं,’ उनले भने, ‘हिजो सडक मर्मत गर्दा ठूलो ट्रक चिप्लिएर केही समय सडक अवरुद्ध भएको हो ।’

१२ गतेदेखि १० चक्के मालवाहक ट्रकलाई प्रवेश निषेध

काठमाडौं उपत्यका भित्रिने १० चक्केभन्दा माथिका सवारीसाधनलाई नारायणगढमै आइतवारदेखि १८ गतेसम्म रोकिने भएको छ । 

ठूला सवारीसाधनका कारण राजमार्गमा पछिल्लो समय सवारी जाम बढ्दै गइरहेको छ । चाडपर्वका समयमा सवारीको चाप बढी हुने र ठूला सवारीकै कारण जाम बढ्ने भएकाले उनीहरूलाई रोकिन लागिएको एसएसपी ढकालले बताए । 

त्यसअघि शुक्रवार रातिदेखि नै धादिङबाट काठमाडौं आउने ठूला सवारीसाधन रोकिने भएका छन् । राति ९ बजेपछि मात्रै ठूला मालबाहक सवारीसाधनलाई काठमाडौं प्रवेश गर्न दिइने ट्राफिक प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्