
काठमाडौं– बलात्कार जस्तो गम्भीर आरोप लागेपछि सभामुख कृष्णबहादुर महरा विवादमा तानिएका छन् । महराले संसद सचिवालयमा कार्यरत एक कर्मचारीलाई बलात्कार गरेको भन्दै अनलाइनहरुले सनसनीपूर्ण समाचार प्रकाशित गरेपछि यसबारे सामाजिक सञ्जालमा तीब्र टिकाटिप्पणी भइरहेको छ। यसबारे सभामुख महराले भने समाचार र आरोप भ्रामक भएको भन्दै खण्डन गरेका छन् ।
‘सम्माननीय सभामुख कृष्णबहादुर महरालाई गम्भीर आरोप लगाई विभिन्न अनलाइन सञ्चार माध्याममा आइरहेका समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सभामुखज्यूलाई कल्पनै गर्न नसकिने निकै गम्भीर आरोप लगाई आएको समाचारले हामी सबैलाई निकै स्तब्ध बनाएको छ । यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु’ सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्ल्ले जारी गरेको खण्डन विज्ञप्तिमा भनिएको छ ।
‘समाचारमा उल्लेख गरिएजस्तो ‘सभामुखज्यूले कसैलाई पनि दुव्र्यवहार गरेको कुरा’ कल्पना समेत गर्न सकिदैन’ विज्ञञप्तिमा अगाडि भनिएको छ, ‘ हिजो आइतबार घटना भएको भनी जसरी सभामुखज्यूको चरित्र हत्या गर्ने दुस्प्रयास भइरहेको छ त्यसमा कुनै पनि सत्यता नभएको म सम्पूर्ण मिडिया र सञ्चारकर्मी साथीहरुमा जानकारी गराउँछु । सभामुखज्यू हिजो असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर वालुवाटार निवासमा फर्किएको बाहेक उहाँ त्यसपछि अन्यत्र कहीँ नगएको पनि म यसै विज्ञप्तीबाट प्रष्ट पार्न चाहन्छु । साथै समाचारमा आएको जस्तो चश्मा, जुत्ताका कुरा पूरै निराधार भएको र उहाँको चश्मा आफैसँग रहेको र सभामुखज्यूले त्यसप्रकारको जुत्ता समेत प्रयोग नगरेको पनि यहाँ उल्लेख गर्न चाहन्छु ।’
संघीय संसद सचिवालयमा स्वास्थ्य शाखाको कुनै दरबन्दी नभएको र संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मीहरु र ती महिला कर्मचारीले समेत समायोजनको प्रसंग चल्दै गर्दा संसद सचिवालयमै स्वास्थ्यको दरबन्दी हुनुपर्छ भनी माग गरिरहेको तर कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा सभामुखले त्यसमा काम नगरेको भनी स्वास्थ्य शाखाका कर्मचारीहरु र ती महिला पनि असन्तुष्ट रहेको विज्ञद्दप्तिमा उल्लेख गरिएको छ । सोही असन्तुष्टिलाई लिएर सभामुखको बारेमा पूरै गलत, कपोलकल्पित र अनर्गल समाचार प्रवाह गराइएको दाबी गरिएको छ ।
सभापति देउवाको आरोप
काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । नेपाल राष्ट्रिय मगर सङ्घ प्रदेश नं ३ समितिले सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले लोकतन्त्रको मेरुदण्ड नै प्रेस स्वतन्त्रता भएकाले यसको रक्षा र संरक्षणमा आफ्नो पार्टीले कुनै सम्झौता नगर्ने उल्लेख गरे ।
सो अवसरमा सभापति देउवाले रेडियो नेपालको दिपायल कार्यालयमा कामबाट हटाइएका तीन जना पत्रकारलाई तत्काल पुनःबहाली गर्न मागसमेत गरे । फरक प्रसङ्गमा उनले नेपालका आदिवासी÷जनजातिमध्ये मगर समुदायको जनसङ्ख्या सबैभन्दा बढी भएकाले सोही अनुसार काङ्ग्रेसले प्राथमिकतामा राखेको बताए ।
कार्यक्रममा काङ्ग्रेस उपसभापति विमलेन्द्र निधिले सत्तापक्ष दलकै निर्देशनमा आफ्नो पार्टीमाथि एकपछि अर्काे आक्रमणका घट्ना भएको आरोप लगाउँदै घटनाका अपराधिलाई कारवाही नगरे काङ्ग्रेस चुप लागेर नबस्ने बताए ।
महामन्त्री डा शशाङ्क कोइरालाले ठूलो सङ्घर्षले ल्याएको संविधानको वर्तमान सरकारले प्रभावकारी कार्यान्वयन गर्न नसकेको आरोप लगाउँदै संविधानअनुसार प्रदेश र स्थानीय तहलाई बजेट नदिएको जिकिर गरे ।
पुसभित्र सबै स्थानीय तहमा बैंक पुग्छन् : अर्थमन्त्री
अर्थमन्त्री डा युवराज खतिवडाले आउँदो पुस मसान्तभित्र मुलुकका सबै स्थानीय तहमा बैंकिङ सेवा पुग्ने बताएका छन् । काभ्रेको पनौती नगरपालिका–४ स्थित अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बैंकिङ सेवा पु¥याउन बाँकी १७ स्थानीय तहमा पुस मसान्तभित्र स्थापना गरिने बताए ।
उनले भने, “मुलुकका प्रत्येक स्थानीय तहमा बैंकको सेवा पुग्नैपर्छ, अब पुस मसान्तभित्र पु¥याइसक्नेछौँ ।” विसं १९९४ देखि २०७४ सालसम्म मुलुकमा पाँच हजार बैंक शाखा रहेकामा वर्तमान सरकारले नौ हजार ८५० पु¥याएको उनले जानकारी दिए ।
च्याङ्ग्रा प्रतिकिलो रु ७८० मा बिक्री
भक्तपुरका उपभोक्ताका लागि दशैँका लागि मुस्ताङबाट ल्याइएका च्याङ्ग्रा सल्लाघारी ल्याइएको छ । यस वर्ष खसीको मासुको मूल्य वृद्धि भएसँगै च्याङ्ग्राको मासुको पनि मूल्य वृद्धि भएको छ ।
यस वर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो रु ७८० मा मूल्य निर्धारण गरेर बिक्री शुरु गरेको व्यापारी सनम लामाले बताए । हिमाली भेगबाट आयात हुने भेडा र च्याङ्ग्रा जडीबुटी खाएर हुर्कने तथा यसको मासु स्वस्थकर हुने विश्वासले उपभोक्ताले च्याङ्ग्राको मासु रोज्न थालेपछि मूल्य वृद्धि भएको हो ।
मासुका लागि प्रयोग गर्न भारतबाट उच्चरुपमा खसीबोका आयात हुने गरे पनि यस वर्ष खसीमा स्वास्थ्य परीक्षण गरेर मात्रै आयात गर्नुपर्ने भएपछि खसीबोका आयात घटेको छ । खसीबोकाको आयात घटेसँगै यस वर्षको दशैँमा खसीबोकासँगै च्याङ्ग्राको मूल्य पनि वृद्धि भएको व्यापारी बताउँछन् ।
यस वर्ष २००० दुई हजार भेडा, च्याङ्ग्रा यहाँ ल्याउने व्यापारीले जनाएका छन् ।
यता काठमाडौँ महानगरपालिकाले बाहिरबाट दशैँका लागि काठमाडौँ ल्याइएका खसीबोका, भेडाच्याङ्ग्राको सिङ्मा रङ लगाउन शुरु गरेको छ । महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) को नेतृत्वमा सोमबार पशु सेवा विभाग, वाणिज्य तथा आपूर्ति विभाग, खाद्य तथा गुणनियन्त्रण विभागलगायत कार्यालयका प्रमुख तथा प्रतिनिधिसहितको टोलीले कलङ्कीस्थित खसी बजार पुगेर रङ लगाउन शुरु गरेको हो ।
‘दशैँमा मासुको अभाव नहुने’
कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले यसवर्षको दशैंमा मासुको अभाव नहुने जिकिर गरेका छन् । सोमबार आयोजना गरिएको साक्षात्कार कार्यक्रममा उनले बिचौलियाले कृत्रिम अभाव सिर्जना गर्न खोजे कालोबजारी ऐनअनुसार तत्काल कारवाही गरिने चेतावनी दिए ।
उनले दशँैमा मासुको अभाव हुने भन्ने उपभोक्तामा अनावश्यक हल्ला सिर्जना गरेकाले कालोबजारीलाई सलबलाउन नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको संयुक्त अनुगमन समिति गठन गरिएको बताए । मन्त्री खनालले आवश्यक परे आफू पनि अनुगमनमा जाने जानकारी गगराए ।
अष्टमीदेखि दशमीसम्म तीन दिन नेपालमा अधिक मासुको खपत हुने गरेको छ । सोमध्ये उपत्यकामा मात्र तीन दिनका लागि ३५ लाख खसी बोकाको खपत हुने अनुमान गरिएको छ । मासुको अभाव हुन नदिन पशुपक्षी विभागले आयातमा प्रतिबन्ध भने लगाएको छैन । आयातित पशुपक्षीको अनिवार्य जाँच हुनुपर्ने जनाएको छ ।
घुससहित जिसी पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय मङ्गलापुर रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर जिसीलाई सेवाग्राहीबाट लिएको रु १५ हजार घुससहित नियन्त्रणमा लिएको छ ।
बीमा सिफारिश गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले निजलाई घुसबापतको रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
प्याज गोदाममा छापा
नेपाली बजारमा प्याजको मूल्य एक्कासि बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालीमाटीस्थित प्याज गोदाममा छापा मारेको छ । विभागको अनुगमन टोलीले सोमबार कालीमाटीस्थित प्याज भण्डारण गरिएको गोदाममा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा आइतबारको तुलनामा सोमबार प्याजको मूल्य बढाएर बिक्री गरेको भेटिएको थियो । विभागले ती प्याज व्यापारीको परिचय सार्वजनिक गरेको छैन । व्यापारीले मौज्दातमै रहेको प्याजको मूल्य बढाएर बिक्री गरेको हो वा उनको खरीद मूल्य नै बढी परेको हो भन्नेमा अनुसन्धान भइरहेको विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए ।
अनुगमन टोलीले खरीद, बिक्री तथा मौज्दात विवरणसहित ती व्यापारीलाई विभागमा उपस्थित हुन निर्देशन दिएको छ । अस्वभाविकरुपमा वृद्धि भएको प्याजको भाउले जनजीवन प्रभावित पारेको पाइएपछि विभागको टोली अनुगमनमा निस्किएको हो ।
अनुगमनका क्रममा व्यापारीले अवरोध गर्ने आशङ्कामा विभागको टोली ठूलो सङ्ख्यामा सुरक्षाकर्मी लिएर कालीमाटीस्थित तरकारी बजार पुगेको थियो । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा प्याजको भाउ अस्वभाविकरुपमा वृद्धि भएको छ ।
केही दिनअधिसम्म प्रतिकिलो रु १०० मा बिक्री भइरहेको प्याजको खुद्रा मूल्य सोमबार कालीमाटी बजारमा रु १३५ प्रतिकिलो पुगेको छ । कालीमाटीस्थित तरकारी बजारमा सोमबार प्याजको थोक मूल्य औसत प्रतिकिलो रु ११५ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । दसैँको मुखमा प्याजको भाउ एकाएक वृद्धि हुँदा उपभोक्ता मारमा परेका छन् ।
विस्फोटक पदार्थ बरामद
झापाको अर्जुनधारा नगरपालिका–१ सिस्नेस्थित एक व्यक्तिको घरको कोठामा भण्डारण गरेर राखिएको २५ किलो विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको समूहले विस्फोटक पदार्थ भण्डारण गरेर राखेको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट गएको प्रहरी टोलीले बरामद गरेको सोमबार विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो ।
जुटको बोरामा लुकाइछिपाइ भण्डारण गरी राखेको अवस्थामा ‘हाइ एक्सप्लोसिभ’ लेखिएको २०५ लोला बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
उहाँका अनुसार आइतबार राति पक्राउ गरिएको सो विस्फोटक पदार्थ २५ केजी रहेको छ । उक्त विष्फोटक पदार्थ चियाको बोटमा हाल्ने औषधि भनी चन्द समूहका झापा जिल्ला सेक्रेटरी मनिष भन्ने प्रविन मिश्र, जिल्ला इञ्चार्ज सुमनसिंह पौडेल, जिल्ला जनसरकार प्रमुख (जिल्ला सदस्य) टीका पोखरेलले एक महीनाअघि स्थानीयको घरमा भण्डारण गरेर राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाले दुई हप्ताअघि हातहतियारसहित पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई हातहतियार खरखजाना, विष्फोटक पदार्थ, राज्यविरुद्धको कसूर, जबर्जस्ती चन्दा असुली र सङ्गठित अपराधअन्तर्गत झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले बताए ।
चार हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्
आर्थिक वर्ष २०७५÷०७६ मा करीव चार हजारभन्दा बढी निजामती कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् ।
राष्ट्रिय किताबखाना (निजामती)का निर्देशक राजेन्द्र पराजुलीले चार हजार २९८ जना कर्मचारीले सम्पत्ति विवरण नबुझाएको जानकारी दिए ।
आव शुरु भएको ६० दिनभित्र सवै भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउने समयसीमा तोकिए पनि सवै कर्मचारीले विवरण बुझाएनन् ।
भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा ५० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले आर्थिक वर्ष शुरु भएको ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारका नाममा रहेको सम्पत्तिको विवरण बुझाउनुपर्ने व्यवस्था छ ।
निर्देशक पराजुलीले अझ एक महीना विशेष परिस्थतिका लागि सम्पत्ति विवरण बुझाउन समय दिइएको बताउनुभयो । गत वर्ष ८४ हजार ४०० कर्मचारीले सम्पत्ति विवरण बुझाएका थिए । ऐनअनुसार सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु पाँच हजार जरिवाना गर्ने व्यवस्था रहेको छ ।
प्रधानमन्त्रीबाट भवन शिलान्यास
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवासका लागि नयाँ भवनको सोमबार सैँबु आवास क्षेत्र, भैँसेपाटीमा शिलान्यास गरेका छन् ।
कूल २७ रोपनी १२ आना जग्गामा रु ९७ करोड ११ लाखको लागतमा आगामी दुई वर्षभित्र निर्माण हुने उक्त भवनको शहरी विकास तथा भवन निर्माण विभागले सोमबार आयोजना गरेको कार्यक्रममा शिलान्यास गरिएको हो । ‘केसी समान्तर जेबी कम्पनी’ले निर्माण गर्ने सो स्थलमा सात प्रदेशका लागि सात ब्लक र प्रत्येक ब्लकमा तीन–तीनतले दुई भवन गरी कूल १४ अत्याधुनिक र सुविधासम्पन्न भवन बन्नेछ ।
नेपाल खुला दिसामुक्त राष्ट्र घोषित
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल’ घोषणा गरेका छन् । खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले सो घोषणा गरे । नेपालका ७५३ स्थानीय तह र ७७ जिल्लाले गरेको खुला दिसामुक्त क्षेत्र घोषणा गरेको कार्यलाई कदर गर्दै नेपाललाई खुला दिसामुक्त घोषणा गरिएको हो ।
साथै उनले सन् २०३० सम्म दिगो विकासको लक्ष्य पूरा गर्ने सङ्कल्प पनि गरे । घोषणापछि कार्यक्रमस्थल राष्ट्रिय सभागृहमा सहभागीले राष्ट्रिय झण्डा फहराउँदै तालीको गडगडाहटले स्वागत गरेका थिए ।