काठमाडौँ, २० चैत - नयाँ शक्ति नेपाल पार्टीले स्थानीय तह निर्वाचनका लागि आफूहरुले माग गरेको चुनाव चिह्न नदिइनु संविधान विपरीत काम भएको जनाएको छ ।

सो पार्टीका प्रवक्ता खिमलाल देवकोटाले नेपालको संविधानको धारा २६९ (७०) (७१) मा भएको दलहरुले दलीय पहिचानको आधारमा चुनाव चिह्न पाउनुपर्ने प्रावधान विपरीत स्थानीय तह निर्वाचन ऐन, २०७३ ले नयाँ दलहरुलाई दलीय चुनाव चिह्नबाट वञ्चित गरेको बताउनुभयो ।
ऐन संशोधनका लागि निर्वाचन आयोग अगाडि धर्नामार्फत दबाब दिन जाने क्रममा सरकारले प्रहरी प्रशासन लगाएर शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरेको आरोप लगाउँदै उहाँले शान्तिपूर्ण प्रदर्शनका क्रममा पार्टीका संयोजक डा बाबुराम भट्टराईलगायत नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
शान्तिपूर्ण धर्ना गर्दा पनि सामान्य मानव अधिकार र लोकतान्त्रिक अधिकारको बर्खिलाप हुनेगरी प्रहरीले गतिविधि गरेको उल्लेख गर्दै प्रवक्ता देवकोटाले निर्वाचन आयोगले प्रदान गरेको चुनाव चिह्न प्राप्त गर्न नयाँ शक्ति पार्टी, नेपाललगायत बाहिर रहेका दलहरुको नैसर्गिक अधिकारको प्रत्याभूति गर्नका लागि निरन्तर संघर्ष गरिरहने बताउनुभयो ।