
बलेवा – धानमा दाना लाग्ने समयमा कालो पोके रोग लागेपछि बागलुङको जैमिनी नगरपालिकाका किसान चिन्तित बनेका छन् ।
नगरपालिकाको झण्डै ३०० हेक्टर जमिनमा लगाइएको ‘शंकर यूएस १२’ नामको हाइब्रिड धानमा रोग लागेको छ ।
चिसो र वर्षाका कारणले लाग्ने सो रोगले ५० प्रतिशतसम्म उत्पादन घटाउने कृषि प्राविधिक बताउँछन् ।
कालो पोके रोग लागेपछि धानको दाना नलाग्ने, लागेको दाना नबढ्ने र पुष्ट दाना नहुने समस्या हुने बताइएको छ । ‘धानका लागि कालो पोके खतरनाक रोग हो,’ कृषि प्राविधिक रवीन्द्र शर्माले भने, ‘यसपालि पोके धेरै देखिएकाले धान उत्पादन घट्ने निश्चित छ ।’
धानमा दाना लागेर पुष्टिने बेलामा लागेको रोगले उत्पादन घटाउने स्थानीय किसान होमनाथ शर्माले बताए ।
‘भएको एक हलको मेलो जमिनमा यहीँ धान लगाएको थिएँ, ५ मुरी धान फल्ने खेतमा ५० पाथी उब्जिन्छ कि उब्जिन्न,’ उनले भने, ‘बीउ गतिलो नपरेर हो कि मौसमका कारणले हो, उत्पादन घटेर बर्बाद बनाउने भयो ।’
उनीजस्तै अन्य किसानले लगाएको धानमा सो रोगको समस्या छ । कालो पोके रोगकै कारण विगतको तुलनामा यस वर्ष धानको उत्पादन ह्वात्तै घट्नेमा किसान चिन्तित छन् ।
‘शंकर यूएस १२’ नामको हाइब्रिड धानमा बाहेक अरु स्थानीय जातका धानमा रोगको संक्रमण नरहेको प्राविधिक शर्माले बताए । जैमिनीका किसानले केही वर्ष पहिलेदेखि नै यो धानको बीउ प्रयोग गर्दै आएका थिए ।
‘१० वर्ष पहिलेदेखि यहाँ उत्पादन हुँदै आएको धान हो,’ नगरपालिकाका कृषि शाखा प्रमुख अर्जुनप्रसाद श्रेष्ठले भने, ‘यसपटक चिसो र वर्षाका कारण कालो पोकेको समस्या देखापर्यो ।’
रोगको संक्रमणका कारण धानखेतीमा क्षति पुग्ने निश्चित भएपनि किसानले क्षतिपूर्ति भने नपाउने भएका छन् । नेपाल सरकारले ‘शंकर यूएस १२’ जातको धानको बीउ सामुन्द्रिक सतहबाट ७०० मिटर तल मात्रै प्रयोग गर्न सिफारिस गरेको छ ।
जैमिनीका किसानले सो धान लगाएको अधिकांश भूभाग ७०० मिटरभन्दा माथि १ हजार ४ सय मिटरसम्म रहेकाले क्षतिपूर्ति सिफारिस गर्न नसकिने श्रेष्ठ बताउँछन् ।
‘हाम्रो सल्लाह र सिफारिसमा लगाइएको होइन, किसानले आफैं ल्याएर बीउ लगाए,’ उनले भने, ‘सिफारिस नभएको बीउले बेलाबेला धोका दिइरहन्छ ।’ विगतका वर्षमा राम्रो उत्पादन भएको भन्दै कृषि शाखाका प्रमुख श्रेष्ठले नै बीउ बिक्री गरेका थिए ।
‘सरकारले सिफारिस गरेको छैन तर किसानले मागेपछि हामीले पनि बीउ दियौं,’ उनले भने, ‘अहिले अधिक वर्षा र छिटो चिसो मौसम शुरू भएकाले समस्या देखियो ।’
किसानले भने मौसमी संक्रमणका कारण भएको भन्दै क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् ।