२८ जेठ २०८३, बिहीबार
व्यवसायभित्र अपराध

जनकपुर गोलीकाण्ड : व्यापारिक साझेदारीको सम्बन्ध यसरी हत्यामा पुगेर टुंगियो !

कात्तिक ६, २०७६
जनकपुर गोलीकाण्ड : व्यापारिक साझेदारीको सम्बन्ध यसरी हत्यामा पुगेर टुंगियो !

जनकपुरधाम – बुधवार बिहान सवा ९ बजेतिर जनकपुरधाम उपमहानगरपालिका–१४ प्रगतिनगर मुजेलियामा पंकजकुमार चौधरीले ४० वर्षीय मनोजकुमार साहलाई गोली प्रहार गरी हत्या गरे ।

मृतक साहको जनकपुरधाम–१ वकिल टोलमा घर भइ विगत २० वर्षदेखि सपहीमा शिव आयल पेट्रोल पम्प सञ्चालन गर्दै आएका थिए ।

मृतक साहका भिनाजु समेत रहेका महोत्तरीको जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष कृपाशंकर साहका अनुसार हत्या गर्ने पंकजले मनोजसँग कारोबार गर्न तथा पेट्रोल डिजलवापत समेत गरेर १७ लाख रुपैयाँ लिएका थिए ।

‘मनोजले घरपरिवारमा पंकजसँग १७ लाख रुपैयाँ लिनुछ भनेर भन्ने गरेका थिए,’ मृतकका भिनाजु साहले लोकान्तरसँग भने, ‘त्यसमध्ये पंकजले कति रकम दिएका थिए र बाँकी कति रकम लिनु थियो भन्नेबारे खुल्न सकेको छैन ।’ उनका अनुसार पंकजले मंगलवारसम्म सबै पैसा तिर्ने समय दिएका थिए तर पैसा दिएनन् र बुधवार पैसा तिर्छु भन्ने वाचा गरे । ‘त्यहीँ रकम लिनका लागि मनोज साथी अमितकुमार साहसँगै पंकजको मुजेलियास्थित घर गएका थिए,’ उनले भने ।

प्रत्यक्षदर्शी अमितकुमार साहले जनकपुरस्थित प्रदेश अस्पतालमा लोकान्तरलाई प्रतिक्रिया दिँदै भने, ‘पैसा माग्न गएका हामीबीच शुरूमा केहीबेर कुराकानी र सामान्य विवाद भयो । त्यसपछि घरभित्र घचेटेर लैजान खोज्दा म भागें । मनोज स्वभावले पनि निर्भिक र अडिक भएकाले पंकजले उसलाई २ गोली प्रहार गर्दै छिमेकीको घरतर्फ भाग्यो ।’

साथी मनोज गोली लागेर ढलेपछि अमितले नै प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी दिए । केही मिनेटभित्रै नजिकैको वडा प्रहरी चौकी मुजेलियाबाट प्रहरी घटनास्थलमा पुगेको थियो । लगत्तै घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीको टोली समेत पुग्यो । 

‘घटनास्थल पुग्दा मृतकको शरीर नजिकै एउटा होम मेड सेमी अटोमेटिक पेस्तोल समेत राखिएको थियो,’ डीएसपी कार्कीले भने, ‘हामीले पेस्तोल बरामद गर्‍यौं र मृत शरीरलाई प्रहरीकै गाडीमा राखेर प्रदेश अस्पताल जनकपुरमा पठायौं ।’ 

प्रहरी टोलीले गाउँमा चारैतर्फ घेरा हालेर पंकजलाई छिमेकी ब्रह्मदेव यादवको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको डीएसपी कार्कीले बताए । ‘ब्रह्मदेव यादवको घरमा पंकजलाई पक्राउ गर्दा पंकजले एउटा झोलामा कटुवा पेस्तोल र १५ राउन्ड गोली समेत बोकेको थियो,’ उनले भने । आरोपी पंकजलाई हतियारसहित पक्राउ गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

मृतक साह ढलेको नजिकै भेटिएको पेस्तोल र पंकजसँग बरामद भएको गोली मिलेको डीएसपी कार्कीले बताए । ‘घटनास्थलबाट बरामद भएको पेस्तोल र पंकजको झोलाबाट बरामद भएको गोली समेत एउटै रहेको पुष्टि समेत भइसकेकाले पंकजले नै गोली प्रहार गरेर मनोजको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ उनले भने ।

घटनास्थलमा भेटिएको पेस्तोल

मृतक मनोज र आरोपी पंकज व्यावसायिक साझेदार समेत रहेको खुलेको डीएसपी कार्कीले बताए । ‘पंकजले अहिले दिएको बयान अनुसार मनोज र पंकज निर्माण व्यवसायमा साझेदार थिए,’ उनले भने, ‘पंकजले आफ्नो ठेक्कामा मनोजलाई पेटी कन्ट्रयाक्टमा ठेक्का समेत दिएको कुरा खुलेको छ ।’

हत्याका अभियुक्त पंकजको घर जनकपुरधाम उपमहानगर–१५ रामपुरमा पर्छ । उनका काका अशोक चौधरी सोही वडामा नेपाली कांग्रेसबाट वडाध्यक्ष छन् । वडाध्यक्ष चौधरी जिल्ला निर्माण व्यवसायी संघ धनुषाका अध्यक्ष समेत हुन् ।

अभियुक्त चौधरीले जनकपुर उद्योग वाणिज्य संघमा २०७१ असार ३० गते चौधरी निर्माण सेवा निर्माण कम्पनी दर्ता गराएको जनकपुर उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र महासेठले बताए । ‘हत्या भएका व्यक्ति पनि व्यवसायी हुन् र हत्या गर्ने अभियुक्त पनि व्यवसायी नै भएकाले घटनाले गर्दा व्यवसायमा ठूलो क्षति भएको छ,’ उनले भने, ‘दोषी जो कोही भएपनि छोड्नुभएन । कडाभन्दा कडा कारबाही हुनुपर्‍यो, निर्दोष भने फस्नुभएन ।’

मृतक मनोजका बुवा जिबछ साहले हत्यारालाई कडाभन्दा कडा कारवाही हुनुपर्ने माग गरे । मृतक मनोजका बाल्यकालदेखिका साथी प्रकाश साहले भने, ‘सोच्नै नसकिने घटना भएको छ । मनोज त्यस्तो मान्छे थियो, जसले विभिन्न साथीहरूलाई पैसा उपलब्ध गराएर व्यापारमा स्थापित गर्न मद्दत गर्थ्यो । देख्नमा पनि सुन्दर भएकाले हामी उसलाई अक्षय कुमार भनेर भन्ने गर्थ्यौं ।’ मनोजका बुवा, पत्नी, ३ छोरा र १ छोरी छन् । प्रहरीले अनुसन्धानका लागि प्रत्यक्षदर्शी अमितलाई समेत नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्