२२ असार २०८३, सोमबार

हिजो दिनभर : भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक बिदा, पोलमा असरल्ल तार अब भूमिगत गरिने

कात्तिक ८, २०७६
हिजो दिनभर : भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक बिदा, पोलमा असरल्ल तार अब भूमिगत गरिने

प्रधानमन्त्री ओली बाकुमा
प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी हुन बिहीबार राति त्यहाँ पुगेका छन् । 

बाकुस्थित हेयदार अलियेभ अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओली र प्रतिनिधिमण्डलका सदस्यहरूलाई अजरबैजानका उपप्रधानमन्त्री अली अहमादोभ, उपविदेश मन्त्री नादीर हुसेनोभ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र अन्य वरिष्ठ अधिकृतहरूले स्वागत गरे । 
 सम्मेलनमा सहभागी हुने प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहेका छन् । 

महरालाई सात दिन हिरासतमा राख्न अनुमति

    काठमाडाँै जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप अनुसन्धाका लागि थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

     न्यायाधीश सुदर्शनराज पाण्डको एकल इजलासले बिहीबारकै दिनदेखि लागू हुने गरी सात दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार महरालाई डिएनए परीक्षणका लागि रगत उपलब्ध गराउनसमेत अदालतले आदेश दिएको छ । यसअघि यही कात्तिक २ गतेदेखि लागू हुने गरी पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो । जुन बिहीबार सकिएको थियो । निवर्तमान सभामुख महरालाई गत २८ असोजमा १९ गतेदेखि लागू हुने गरी १३ दिन हिरासतमा राख्न अनुमति दिएकोे थियो । 

    संसद् सचिवालयका एक महिला कर्मचारीलाई दुव्र्यवहार गरेको अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राख्न अनुमति दिएको थियो । निवर्तमान सभामुख महरालाई महानगरीय प्रहरीवृत्त सिंहदरबारमा हिरासतमा राखिएको छ । 

किजापूजामा सार्वजनिक बिदा

सरकारले यही कात्तिक १३ गते किजापूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

    मन्त्रिपरिषद्को यही कात्तिक ५ गतेको निर्णयअनुसार उक्त दिन देशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घ–संस्था तथा शिक्षण संस्थामा समेत सार्वजनिक बिदा हुने भएको हो । यसवर्षको तिहारको भाइटीका कात्तिक १२ मा परेको छ । तर नेवार समूदायले सो दिन गर्नुपर्ने किजापूजा १३ गते गर्ने भएएपछि सरकारले बिदा दिएको हो । 

उपनिर्वाचन आचारसंहिता लागू

    काठमाडौं ।  निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ । शुक्रबारदेखि लागू हुने गरी सो आचारसंहिता लागू गरिएको हो । 
निर्वाचनलाई स्वच्छता, निष्पक्षता र पारदर्शी तथा भयमुक्तरूपमा सम्पन्न गर्न आयोगले आचारसंहिता जारी गरेको हो ।

    मङ्सिर १४ गते सम्पन्न हुने उपनिर्वाचनबाट ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ ।

    यही कात्तिक १३ गतेबाट लागू हुने गरी आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्ति गरेको थियो । आयोगले न्याय परिषद्को परामर्शमा ३७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ११ नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।

    निर्वाचन आचारसंहितामा निर्वाचन सम्पन्न नभएसम्म नयाँ कार्यक्रम गर्न नहुने, भवन, सवारीसाधन प्रयोग गर्न दिन नहुने, पद सिर्जना गर्न नहुने, सरुवा, बढुवा वा काजमा खटाउन नहुनेलगायतका प्रावधान रहेको छ । राजनीति दल, उम्मेदवार, आम सञ्चारमाध्यम तथा गैरसरकारी संस्था, पर्यवेक्षक तथा कर्मचारी आचारजस्ता क्षेत्रलाई सो आचारसंहितालले समेटेको छ । 

राष्ट्रकवि घिमिरेलाई शिला स्रष्टा सम्मान

    राष्ट्रकवि माधव घिमिरेलाई विसं २०७५ को मदन शिला स्रष्टा सम्मान अर्पण गरिएको छ । मदन शिला प्रतिष्ठानद्वारा स्थापित सो पुरस्कारको राशि रु एक लाख एक हजारसहित सम्मानपत्र रहेको छ । 

    यसैगरी प्रतिष्ठानले सोही वर्षको साहित्यिक पत्रकारिता पुरस्कार उन्ननय र दियालो साहित्यिक पत्रिकारलाई प्रदान गरियो । ती पुरस्कारको राशि रु ५० हजारसहित सम्मानपत्र रहेको छ । नेपाली साहित्यिक सम्मेलन दार्जलिङको मुखपत्रका रूपमा त्रैमासिकरूपमा दियालो प्रकाशन हुँदै आएको छ । यसका प्रधानसम्पादक नेपाली साहित्यिक सम्मेलन दार्जलिङका अध्यक्ष डा चन्द्रकुमार राई छन् । 

    ‘घुम्रपात’ले ४४ किमि दूरी तय गरेको थियो 
    
गत चैत १७ गते बारा र पर्सामा आएको विनाशकारी हावाहुरी (टोर्नेडो) पर्साको सखुवा–पर्सौनीमा शुरु भई दक्षिण–पूर्वी दिशातर्फ प्रवाह भई बाराको बैरीयासम्म ४४ किमिको दूरी तय गरेको थियो ।

    जल तथा मौसम विज्ञान विभागले उक्त विनाशकारी हावाहुरी सम्बन्धमा अध्ययन गरी तयार पारिएको प्राविधिक प्रतिवेदन बुधबार सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार विनाशकारी हावाहुरीको अधिकतम गति १८० देखि २६५ किमि प्रतिघण्टा भएको ‘इएएफ ३ समूह’ रहेको अनुमान गरिएको छ ।

    नेपालमा यसअघि त्यस्तो विनाशकारी हावाहुरी आएको कुनै अभिलेख नभएकाले त्यससम्बन्धी प्रतिवेदन तयार गर्न विभागका महानिर्देशक सरजु वैद्यको अध्यक्षतामा विभिन्न संस्थाका विज्ञ प्रतिनिधिसहितको आठ सदस्यीय समिति गठन गरिएको थियो । समितिले नै उक्त टोर्नेडोको नेपाली नामकरण ‘घुम्रपात’ राख्न उपयुक्त हुने निर्णय गरेको थियो ।

    समितिले विभिन्न भू–उपग्रहका तस्वीर अध्ययन गर्दा सो ‘घुम्रपात’ २०० देखि ७५० मिटर चौडा रही पर्साको सखुवा–पर्सौनीमा शुरु भई दक्षिण–पूर्वी दिशातर्फ प्रवाह भई बाराको बैरीयासम्म ४४ किमिको दूरी तय गरेको देखिन्छ । समितिले स्थानीय तथा प्रत्यक्षदर्शीसँगको अन्तक्र्रिया र छलफल, फोटो तथा भिडियो, भू–उपग्रहबाट लिइएका तस्वीरको विश्लेषणका साथै भौगोलिक सूचना प्रणाली तथा तथ्याङ्कीय विश्लेषण सफ्टवेयरका आधारमा उक्त ‘घुम्रपात’को पहिचान गरेको महानिर्देशक वैद्यले जानकारी दिए । 

    सामाजिक सुरक्षा कोष
सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुन रोजगारदाता र श्रमिकले मन खुम्च्याइ रहँदा कोषमा योगदान गरेर मृत्यु भएका योगदानकर्ताको आश्रित परिवारले कोषबाट आर्थिक सहायता प्राप्त गर्न थालेका छन् । 

    कोषमा योगदान आरम्भ गरेका एक निजी कम्पनीमा काम गर्ने इञ्जिनीयर रूपेन्द्र थापा तथा अर्को एक कम्पनीमा काम गर्ने प्रकाश तामाङ मोक्तानका आश्रित परिवारले कोषबाट आर्थिक सहायता प्राप्त गरेका हुन् । उनीहरूका परिवारले आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत प्राप्त गर्ने अन्तिम दाहसंस्कार खर्च एकमुष्ठ प्रतिव्यक्ति रु २५ हजार सहायता प्राप्त गरेका छन् । 

    यसैगरी मासिक निवृत्तिभरणबापत थापाको आश्रित परिवारले आधारभूत पारिश्रमिकको ६० प्रतिशत हुन आउने मासिक रु १७ हजार १०० र तामाङको परिवारले मासिक रु १० हजार २०० प्राप्त गरेको कोषले जनाएको छ । 

    यसैबीच     कोषमा सूचीकरणका लागि एक महीना समय थपिएको छ । यसअघि असोज मसान्तसम्म सूचीकरणका लागि तोकिएको थियो । 

धर्मशालामा तीनतारे होटल नचलाइने

पशुपति क्षेत्र विकास कोषले नेपाल भारतमैत्री पशुपति धर्मशालामा तीनतारे होटल नचलाइने स्पष्ट पारेको छ । 

    धर्मशालामा बस्ने तीर्थयात्रीले सुरक्षा, सरसफाइ, शौचालय, भोजनलगायत उच्च कोटीका सुविधा पाउने गरी सञ्चालकले सेवा प्रदान गर्नुपर्ने गरी व्यवस्था गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

धर्मशालामा तीनतारे होटल चलाउन लागिएको भनी गरिएको प्रचारप्रसारप्रति कोषको ध्यानाकर्षण भएको जनाइएको छ । “सार्वजनिक खरीद ऐन तथा नियमावलीबमोजिम ठेक्का बन्दोबस्त गरी सार्वजनिक सूचना प्रकाशित गरेर खुला प्रतिष्पर्धाबाट सञ्चालनको जिम्मेवारी दिइएको हो, तीर्थयात्रीको प्रवृत्ति शौचालयसहितको कोठामा बस्नेतर्फ बढ्दै गएकाले १० जनाभन्दा बढी अट्नेलाई केही सुधार गरिएको हो”, उनले भने ।
 
धर्मशालामा २८८ कोठा रहेको भन्ने तथ्यसमेत सही नभएको कोषले विज्ञप्तिमा उल्लेख गरेको छ । धर्मशालामा जम्मा ८२ कोठा रहेको जनाइएको छ । धर्मशालामा ३९० जना यात्रु अटाउने छन् । थोरै शुल्कमा धेरै सुविधा दिने गरी कोठाको पुनःसंरचना गरिएको कोषले जनाएको छ ।
 

अपराध नियन्त्रणका लागि २३ हजार साझेदार समिति
नेपाल प्रहरीले अपराध रोकथाम र शान्तिसुरक्षा कायम राख्न देशभर २३ हजारभन्दा बढी साझेदार समिति निर्माण गरेको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ २०७५ कात्तिक ११ गतेदेखि शुरु भएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत उक्त साझेदार समिति निर्माण गरिएको हो ।

स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा हुने अपराध न्यूनीकरण गर्ने लक्ष्य राखेको प्रहरीले सबै क्षेत्रमा समिति निर्माण गरिसकेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले देशभर २३ हजार जिल्ला समिति, पालिका समिति, वडा समिति, टोल समिति र विद्यालय समिति निर्माण गरिसकेको बताए । 
    
घिसिङलाई ७ दिन म्याद थप

‘हामी यस्तै त हो नी ब्रो’ बोलको गीतमा अश्लील शब्दको प्रयोग गरी लागुऔषध गाँजा खान प्रोत्साहित गरेको आरोपमा प्रहरीले बिहीबार ¥यापर समीर लामा, घिसिङलाई पक्राउ गरेको छ । 

चन्द्रनिगाहापुर घर भई हाल ललितपुर बस्ने घिसिङलाई झम्सीखेलबाट पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।     
उनले प्रहरीको युनिफर्म लगाई लागुऔषध सेवन गरिरहेको फोटो आफ्नो फेसबुकमा राखेर प्रहरी पोशाकको दुरूपयोगसमेत गरेको पाइएको छ । घिसिङविरुद्ध ललितपुर प्रहरीले सार्वजनिक हित तथा नैतिकताविरुद्धको अपराधमा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले बताए । 

कसुर पुष्टि भए एक वर्ष कैद वा रु १० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । दुई दिन अघि मात्रै उच्छृङ्खल गीत गाएको आरोपमा पक्राउ परेका गायक दुर्गेस थापाले गल्ती स्वीकार गरी माफी मागेपछि उनलाई छाडिएको थियो । गृह मन्त्रालयले उच्छृङ्खल र समाजलाई भड्काउने खालका गीत गाए तथा उत्पादन गरे कारवाही गर्ने विज्ञप्तिमार्फत सूचना जारी गरेको थियो । 

त्रिवि उपकुलपतिकोे कार्यालयमा तालाबन्दी 

विद्यार्थी सङ्गठनले वरिष्ठ प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालय जनप्रशासन विभागको प्रमुखमा नियुक्त गर्नुपर्ने माग गर्दै उपकुलपतिको कार्यालयमा तालाबन्दी गरेका छन् । 

एउटै व्यक्तिलाई दुई संस्थाको प्रमुख बनाउन नहुने तथा विभागमा आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउनुपर्ने माग गर्दै बिहीबार उपकुलपतिको कार्यालयमा तालाबन्दी गरिएको हो । अनुचित ढङ्गले जनप्रशासनको विभागीय प्रमुख नियुक्ति गरेको आरोप लगाउँदै आएका स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी सङ्घले नियुक्ति सच्याउन माग गर्दै बुधबारसमेत रजिष्टारको कार्यालयमा तालाबन्दी गरेका थिए । 

नेविसङ्घका एकाइ अध्यक्ष सुदीप श्रेष्ठले विगतमा प्राध्यापकलाई नै विभागीय प्रमुख बनाउने प्रचलन तोडेर उपप्राध्यापकलाई निमित्त प्रमुख बनाएपछि आन्दोलन गर्नुपरेको बताए । 

सुरु भयो तिहार
    
कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार शुक्रबारदेखि सुरु भएको छ  । शुक्रबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 

यस वर्ष यमदीपदान शुक्रबारदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक ९ गते शनिबार परेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।  यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि शनिबार नै परेको छ । 
तिथिको घटबढका कारण यस्तो भएको उनले बताए । यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने उनले बताए । कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ । बिहान ११ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि आँैशी तिथि लाग्ने भएकाले शास्त्रसम्मत्रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए ।  

गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ११ गते सोमबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । एघार गते बिहान ९ः४३ बजेसम्म औँशी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म (म्ह) पूजा यसै दिन गर्नुपर्नेहुन्छ । कात्तिक १२ गते मङ्गलबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ । बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताए । कात्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै समस्या छैन ।
 
कात्तिक १२ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको उनले बताए । यसै दिनदेखि नेपाल संवत् ११४० शुरु हुन्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १२ गते नै गरिन्छ । कात्तिक १३ गते बिहान ६ः१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले कात्तिक १२ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ । 

उपप्रधानमन्त्री पोखरेललाई जिम्मेवारी 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गर्ने गरी उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई जिम्मेवारी दिएकी छिन् । 

प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १८औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार अजरबैजानको बाकुतर्फ प्रस्थान गरेकाले उनलाई सो जिम्मेवारी दिइएको हो । 

हेटौँडाका विभिन्न होटलको अनुगमन
जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा खटिएको संयुक्त अनुगमन टोलीले त्रिभुवन राजपथ चौकीटोल, हेटौँडा–नारायणगढ सडकखण्डको थानाभ¥याङ र स्थानीय बसपार्कमा रहेको विभिन्न होटल र मिठाइ पसल गरी २० वटा पसलमा बिहीबार स्थलगत अनुगमन गरी अखाद्य वस्तु मिसावट र अन्य खानेकुरा जफत गरेको छ । 

अनुगमन टोलीले कान्तिराजपथमा रहेको अनमोल स्वीटस् मिठाइ पसलमा अखाद्य वस्तु मिसावट मिठाइहरू, स्थानीय बसपार्कमा रहेको खाजाघरमा राखिएको गुणस्तरहीन एवं बासी चाउमिन, चना, मासु फ्राई, अण्डा, आलुचप र राजमार्गमा रहेको होटलमा भेटिएको बासी खानालगायत पेय पदार्थ पनि जफत गरी नष्ट गरिएको जिप्रकाका प्रतिनिधि सहदेव आचार्यले बताए । 

अनुगमनका क्रममा राजमार्गमा रहेको विभिन्न होटलमा यात्रुले देखिने गरी खानाको मूल्यसूची राखिनुपर्ने, भान्छाघरलाई स्वच्छ बनाई यात्रुलाई स्वच्छ खाना उपलब्ध गराउनुपर्ने र होटलको गुणस्तरलाई कायम राख्न थप सरसफाइ गरी खाद्य सामग्री सात दिनभित्र भण्डारण गर्न निर्देशन दिएको र अर्कोपटक अनुगमन गरिँदा सो सुझाव दिएअनुसारको फेला नपरेमा कानूनी कारवाही अगाडि बढाइने क्षेत्रीय गुण नियन्त्रण प्राविधिक कार्यालयका प्रमुख सोमकान्त रिजालले बताए । 

शुक्रबार स्थानीय हेटौँडा बजार, मनहरी, लोथर बजारमा आकस्मिकरूपमा अनुगमन गर्न विभिन्न टोली खटाइएको जिप्रका मकवानपुरले जनाएको छ । 

वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधि चितवनलाई

चितवन राइनोजले पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग क्रिकेट (डब्लुसीएल) टि–२० प्रतियोगिताको उपाधि जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार भएको फाइनल खेलमा चितवन राइनोजले क्याट क्विन्स काठमाडौँलाई ४५ रनले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसँगै चितवनले रु सात लाख पुरस्कार प्राप्त गर्यो । त्यस्तै उपविजेतामा चित्त बुझाएको काठमाडौँले रु तीन लाख हात पार्यो ।

मन्त्रिपरिषद्का प्रमुख निर्णय 

    मन्त्रिपरिषद्को यही कात्तिक ५ गते भएको बैठकले नेपाल सरकार र बङ्गलादेश सरकारबीच सम्पन्न द्वैध कराधान मुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौता सङ्घीय संसद्मा जानकारीका लागि पेश गर्न स्वीकृति दिएको छ ।

    बैठकले चालू आर्थिक वर्ष २०७६÷७७ का लागि धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल मोटा धानको रू. २५ हजार ३२ रुपियाँ ८० पैसा र मध्यम धानको २६ हजार ७३ रुपियाँ १६ पैसा तोक्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । 

    यस्तै, बैठकले इन्जिनीयर तुलाराम पौडेललाई दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) इनर्जी केन्द्र इस्लामाबाद (पाकिस्तान) को ‘प्रोफेसनल स्टाफ रिसर्च फेलो’ का रूपमा काजमा खटाउने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्ले सुनसरीको देवानगञ्ज गाउँपालिकालाई देवानगञ्ज गाउँपालिका वडा नं. २ मा रहेको ९ कठ्ठा सरकारी जग्गा ३० वर्षसम्म निःशूल्क लिजमा उपलब्ध गराउन स्वीकृति दिएको छ । 

    त्यस्तै बैठकले नेपाली सेनाका लेखा उपरथी भुवनबहादुर अधिकारी क्षेत्री र महासेनानी आशिषप्रसाद उपाध्यायको राजीनामा स्वीकृत गरेको छ ।

    रोजगारीको हकसम्बन्धी (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत गरेको मन्त्रिपरिषद् वैठकले डिजिटल नेपाल फ्रेमवर्क, २०७६ स्वीकृत गरेको छ ।

    नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति (गठन) आदेश, २०७६ स्वीकृत गरिएको छ । माराकेश सन्धि, २०१३ अनुमोदनका लागि सङ्घीय संसद्मा पेश गर्ने निर्णय गरिएको छ । मालपोत नियमावली, २०३६ को नियम ५ ख(१) को समितिले गरेको न्यूनतम मूल्याङ्कनसम्बन्धी निर्णय परिमार्जन गर्न स्वीकृति दिइएको सञ्चारमन्त्री बाँस्कोटाले बताउनुभयो ।

    बैठकले काठमाडौँ उपत्यकाभित्र तार व्यवस्थापनसम्बन्धी कार्य गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । गैर करका दरहरू पुनरावलोकन स्वीकृत गरिएको छ । 

    त्यस्तै, सुचना महामार्ग निर्माणसम्बन्धी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश खण्डको परियोजना कार्य नेपाल दूरसञ्चार कम्पनी लिमिटेडबाट गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको छ ।

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र भारतको ‘इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चबीच अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने विषयको समझदारी पत्रमा समकक्षी मिलाई हस्ताक्षर गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अख्तियारी दिइएको छ । 


गैरआवासीय नेपाली सङ्घ र उद्योग परिसङ्घले सहकार्य गर्ने 

    गैरआवासीय नेपाली सङ्घ र र नेपाल उद्योग परिसङ्घले एक आपसमा सहकार्य गर्ने भएका छन् । दुवै संस्थाका पदाधिकारीबीच बिहीबार भएको छलफलपछि उक्त समझदारी भएको हो । 

    छलफल विशेषगरी नेपालमा लगानी प्रवद्र्धन, विदेशबाट ज्ञान सीप प्रविधि हस्तान्तरण र गैरआवासीय नेपालीलाई नेपालको आर्थिक विकासमा सहभागी बनाउने बारे केन्द्रित रहेको गैरअवासीय नेपाली सङ्घले जानकारी दिएको छ ।

    
घुस लिएको अभियोगमा मुद्दा 

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय मङ्गलापुर रूपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर जिसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    बीमा सिफारिस गरिदिने भन्दै प्रहरी नायब निरीक्षक जिसीले एक सेवाग्राहीसँग रु १५ हजार घुस लिएको अभियोग लागेको छ । आयोगको टोलीले जिसीलाई केही दिन पहिले घुस लिँदै गरेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरेको थियो । यस्तै आयोगले बालज्योति मावि कपिलवस्तुका प्रधानाध्यापक रवीन्द्रप्रसाद मौर्य र कार्यालय सहयोगी रामकुुमार लोनियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    शिक्षक नियुक्तिमा सहजीकरण गरिदिने भन्दै प्रधानाध्याक मौर्यले विज्ञान शिक्षक पदमा परीक्षा दिन आएका एक परीक्षार्थीसँग रु ४० हजार घुस लिएको आरो लागेको छ । आयोगको टोलीले मौर्यलाई केही दिन पहिले शिवराज नगरपालिका–५ चन्द्रौटाबाट पक्राउ गरेको थियो ।

    त्यस्तै आयोगले यातायात व्यवस्था कार्यालय साना ठूला सवारी ३ नम्बर प्रदेश कार्यालय ललितपुरका सिनियर इलेक्ट्रिसियन रूपमप्रसाद गुरागाईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले गुरागाईले एक सेवाग्राहीलाई विद्युतीय सवारीसाधनको बाटो इजाजत सहज बनाइदिने भन्दै रु ६० हजार घुस लिएको अभियोग लागेको छ ।
 
        त्यसैगरी आयोगले नापी कार्यालय कास्कीका सर्वेक्षक सन्तोष भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गा नापजाँच तथा क्षेत्रफल छुट्टयाउने कार्य गरिदिएबापत भण्डारीले सेवाग्राहीसँग रु १० हजार घुस लिएको आरोप लागेको छ ।

उपत्यकाका खम्बामा टाँगिएका तार भूमिगत गरिने 
    
काठमाडौँ उपत्यका लगायत शहरी क्षेत्रमा टेलिफोन तथा अन्य दूरसञ्चार सेवा प्रदायकको तारले कुरूप बनाएको छ । आगलागीको जोखिम पनि उत्तिकै बढेको छ । दुर्घटनालाई टार्न सकिँदैन, तर झोल्लिएका तारका कारण दैनिकजसो नै पैदलयात्री समस्यामा पर्ने गरेका छन् ।

    सवारीसाधन तथा दैनिक जीवन यापनमा समेत अव्यवस्थित तारले हैरान पारेको छ । शहरी सौन्दर्यसमेत बिग्रिएको छ । संसारका धेरैजसो देशमा अस्तव्यस्त रूपमा विद्युत् र टेलिफोनका तार देखिँदैनन्, तर हाम्रो देशमा भने सेवा दिने नाममा शहरी क्षेत्र कुरूप बन्दै गएपछि सरकारले त्यसलाई नियन्त्रण गर्ने भएको छ ।
 
    शहरी क्षेत्रमा समस्या पैदा भएको र सौन्दर्यमा समेत समस्या भएको भन्दै सरकारले पहिलो चरणका काठमाडौँ उपत्यकाका १५ स्थानमा नमूना परियोजनाको रूपमा टेलिफोन, इन्टरनेट सेवा प्रदायको तार भूमिगत गर्ने भएको छ । मन्त्रिपरिषद्को यही कात्तिक ५ गते बसेको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । 
 मन्त्री बाँस्कोटाका अनुसार पहिलो चरणमा विमानस्थल, कलङ्की, सिनमङ्गल, पुतलीसडक, सिंहदरबार हुँदै थापागाउँ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, त्रिपुरेश्वर हुँदै महाराजगञ्ज, विमानस्थलदेखि कलङ्कीसम्म, सिंहदरबार पुतलीसडकको क्षेत्रमा रहेका अव्यवस्थित टेलिफोनका तार तथा अन्य सेवा प्रदायकको तार भूमिगत गर्न लागेको हो ।
 
    
सुनसहित सम्पर्कविहीन 
    
पोखराको न्यूरोडस्थित गोरखा एण्ड बराह ज्वेलर्स इण्डष्ट्रिज प्रालिमा काम गर्ने एक व्यक्ति ३३ तोला सुनसहित सम्पर्कविहीन भएका छन् ।
    
भारतको कलकत्ता घर भई उक्त ज्वेलर्समा काम गर्दै आएका अन्दाजी ३७ वर्षीय रञ्जन राजवंशी बुधबार दिउँसो ३ बजेदेखि सम्पर्कविहीन भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । 
    
ज्वेलर्सको ३३ तोला सुन लिइ सिर्जनाचोकस्थित गहना बनाउने ठाउँमा लिइ गएकामा बेखबर भएको सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी परिचालन गरी घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बोहरामाथि सामूहिक बलात्कार गर्ने दोषी ठहर
    
    सर्वोच्च अदालतले सामूहिक बलात्कार पीडित पूजा बोहराको मुद्दामा तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरले गरेको फैसलालाई उल्टाउँदै अभियुक्तलाई दोषी ठहर गरेको छ । न्यायाधीशद्वय सपना प्रधानमल्ल र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले बिहीबार अभियुक्तलाई दोषी ठहर गरेको हो । नयाँ कार्यविधिअनुसार दोषीलाई कसुर सजाय निर्धारण भने अर्को सुनुवाइपछि मात्र तय हुनेछ । सर्वोच्च अदालतले जिल्ला अदालत बैतडीले गरेको फैसला सदर गरेको छ । 
    
    विसं २०६९ पुस ९ गतेका दिन जिल्ला अदालत बैतडीका जिल्ला न्यायाधीश हिमालयराज पाठकको एकल इजलासले अभियुक्तद्वय भट्ट र अवस्थीलाई सामूहिक बलात्कार गरेको ठहर गर्दै १३ वर्ष कैद र जनही ५०÷५० हजार रूपैयाँ जरिवानाको फैसला गरेको सुनाएको थियो । बैतडी जिल्ला अदालतले गरेको सो फैसलालाई पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशद्वय नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले उल्ट्याउँदै अभियुक्तद्वय भट्ट र अवस्थीलाई निर्दोष सावित गरेको थियो । तर सो फैसलालाई सर्वोच्च अदालतले उल्टाएको छ ।

    सो पुनरावेदनको फैसलाविरुद्ध बोहराले सर्वोच्च अदालतमा पुनरावेदनका लागि निवेदन दर्ता गर्नुभएको थियो । एसएलसी परीक्षा दिँदै गर्दा सामूहिक बलात्कार पीडित बोहोरा २०६८ सालको एसएलसी परीक्षा चलिरहेका बेला गणित विषयको गेसपेपर किन्न जाँदा बैतडी जिल्ला भूमेश्वर–३ को जगन्नाथ पुस्तक पसलका सञ्चालक २३ वर्षीय सागर भट्ट र बैतडी गुजर–२ को चाँदनी फोटो स्टुडियोको सञ्चालक ३० वर्षीय अमर अवस्थीले सामूहिक बलात्कार गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्