
खाँदबारी – आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि संखुवासभाका राजनीतिक दल उम्मेदवार छान्न होमिएका छन् ।
रिक्त रहेको मकालु गाउँपालिकामा अध्यक्ष र खाँदबारी नगरपालिका–३ मा वडाध्यक्ष पदका लागि उम्मेदवार छान्न दलहरू व्यस्त छन् ।
स्थानीय तहमा उपनिर्वाचन हुने भएपछि राजनीतिक दल चुनावी मैदानमा होमिएका हुन् । आसन्न उपनिर्वाचनका लागि राजनीतिक दलले चुनावी अभियानलाई तीव्रता दिन थालेका छन् ।
मकालुका अध्यक्षको गाडी दुर्घटनामा निधन भएको थियो भने खाँदबारी–३ का वडाध्यक्षको हृदयघातबाट मृत्यु भएको थियो ।
मकालुका अध्यक्ष खड्गबहादुर कटुवाल २०७४ माघ २९ गते र खाँदबारी–३ का वडाध्यक्ष तोयानाथ ढुंगानाको २०७४ फागुन १३ गते मृत्यु भएको थियो । गाउँपालिका अध्यक्ष र वडाध्यक्षको पद रिक्त भएपछि अहिले कार्यवाहकका भरमा चलेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस उम्मेदवार टुंग्याउने तरखरमा छन् ।
कांग्रेस उम्मेदवारका लागि छलफलमै जुटिरहेको छ । नेकपाले वडाध्यक्षका लागि उम्मेदवारको टुंगो लगाएको छ । नेकपाको सर्वसम्मत निर्णयले भरत घिमिरेलाई उठाउने निर्णय गरेको वडा समितिका अध्यक्ष भानु पराजुलीले बताए । कांग्रेसले भने तिहारलगत्तै उम्मेदवारको टुंगो लगाउने तयारी गरेको छ ।
चाडबाडलगत्तै सर्वसम्मत उम्मेदवार चयन गरेर नाम सार्वजनिक गर्ने कांग्रेस जिल्ला सभापति दीपनकुमार श्रेष्ठले बताए । यसअघिको निर्वाचनमा दुवै पदमा नेकपा सम्बद्धले जितेको थियो ।