०३ असार २०८३, बुधबार

परीक्षणका लागि गरिएको पुष्पखेतीमा ग्राहकको भीड

कात्तिक ९, २०७६
परीक्षणका लागि गरिएको पुष्पखेतीमा ग्राहकको भीड

पर्वत – उज्यालो र फूलैफूलको पर्व दीपावलीमा लगाउने मालाका लागि छिमेकी मुलुक भारतबाट फूल आयात भइरहेका बेला सदरमुकाम कुश्माबजारमा पहिलो पटक परीक्षणका रुपमा थालिएको पुष्पखेती सफल भएको छ । 

कुश्माबजारमा यस वर्षदेखि पहिलोपटक गरिएको पुष्पखेती सफल भएको छ । कुश्मा नगरपालिका–६ बगैंचाचोकस्थित पर्वत उद्योग वाणिज्य संघमा कार्यरत कर्मचारीद्वारा सञ्चालित मिलीजुली बहुउद्देश्यीय कृषि फार्ममा अहिले रङ्गीबिरङ्गी फूल ढकमक्क फुलिरहेका छन् ।

तिहारमा बढी मात्रामा प्रयोगमा आउने मखमली, सयपत्री, गोदावरीलगायतका स्थानीय फूल लगाइएका सञ्चालक टंकनाथ पौडेलले जानकारी दिए ।

यस वर्षको दीपावली, नेपाल संवत्लगायत स्थानीय एवं छिमेकी जिल्लामा आयोजना गरिने मेला महोत्सव, धार्मिक समारोहमा आवश्यक पर्ने फूल विदेशबाट आयात हुने गरेको अवस्थामा फूलमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले यस वर्षदेखि पुष्पखेती शुरू गरिएको पौडेलले बताए । फूलमा अहिलेसम्म परनिर्भर रहँदै आएको अवस्थालाई मध्यनजर गर्दै शुरू गरिएको फूलखेती सफल भएको र अहिले बगैंचामा फूल खरीद गर्न आउनेको भीड नै लाग्न थालेको सञ्चालक पौडेलले बताए ।

५ रोपनी क्षेत्रफलमा ५ लाख रुपैयाँ लगानी गरेर गरिएको पुष्पखेतीबाट पहिलो वर्षमै साविक धौलागिरि क्षेत्रको माग पूरा गर्न सकिने विश्वास सहकारीको छ । बाहिरबाट आयातित फूल भन्दा सस्तो र ताजा फूल प्रयोग गर्न सकिने भएपछि यस क्षेत्रका बासिन्दाले अग्रिम बुकिङ समेत गरेका उनले बताए । यतिबेला उक्त बगैंचामा फूल किन्नका लागि विभिन्न क्षेत्रबाट ग्राहक आउने गरेका फार्मका सञ्चालक पौडेलले जानकारी दिए ।

विदेशी तथा आयातीत र लामो समयदेखि टिपेर ओइलिइसकेका फूल महंगो मूल्यमा किन्न बाध्य यस क्षेत्रका ग्राहकलाई सहुलियतरुपमा फूल र मालासमेत बनाएर बिक्री गरिरहेको उनले जानकारी दिए । पहिलो पटक गरिएको फूलखेतीबाट यस वर्ष लगानी उठ्ने र केही नाफा आर्जन गर्न सकिने अपेक्षा गरिएको पौडेलले बताए ।

आगामी दिनमा वर्षभरि फूल र माला उत्पादन गर्ने योजना सञ्चालकको छ । अहिले प्रतिकिलोग्राम फूलको मूल्य ४०० रुपैयाँ निर्धारण गएिको छ भने मालाको मूल्य २०० रुपैयाँ निर्धारण गरिएको छ । 

यसअघि आवश्यकता महसुस गरिएपनि पुष्पखेती यस क्षेत्रमा शुरुआत हुन नसकेको अवस्थामा मिलीजुली सहकारीले परीक्षणका रुपमा गरेको खेती सफल भएको उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले बताए । उनले यसलाई अब व्यावसायिक रुपमा विकास गर्नसकेमा बर्सेनि चाडपर्व लगायत जिल्लामा हुने महत्त्वपूर्ण सभा समारोहमा बाहिरबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने बताए ।

salt training

कमेन्ट गर्नुहोस्