२३ जेठ २०८३, शनिबार

संरक्षण नहुँदा लोप भयो दरै भाषा

कात्तिक २०, २०७४
संरक्षण नहुँदा लोप भयो दरै भाषा

पाल्पा, २३ चैत– दरै भाषाको संरक्षण  नहुँदा समुदायबाट नै यो भाषा विस्थापित हुन थालेको छ । यो भाषा दरै जातिले मात्र बोल्ने गर्छन् ।

पाल्पा जिल्लामा लोपोन्मुख अवस्थामा रहेका दरै समुदायका व्यक्ति आफैँले आफ्नो भाषाको पहिचान र संरक्षण गर्न नसक्दा समुदायबाट नै यो भाषा लोप हुने अवस्थामा पुगेको हो ।

रामपुर नगरपालिकाको बेझाडबजार नजिकै जिल्लाको एक मात्र बस्ती दरै समुदायको छ । दरै समुदायले यहाँ वर्षैंदेखि बसोबास गर्दै आए पनि यहाँका समुदायलाई आफ्नो भाषा तथा लिपिबारे अत्यन्त न्यून जानकारी भएको पाइन्छ ।

मङ्गली दरै उमेरले ६७ वर्ष पुगिन्, तर उनी दरै भाषाबारे अनभिज्ञ छिन् । जन्मैदेखि नै दरै समुदायका मानिसले बोल्ने भाषाका सम्बन्धमा उनलाई पत्तो छैन । ‘बाल्यकालदेखि नै नेपाली भाषा सुनियो त्यही बोलियो,’ उनी भन्छिन्, ‘दरै जातिको भाषा हुन्छ रे, भनेको मात्र सुनेको छु ।’

रामपुर बेझाडबजारको नजिकै वर्षैंदेखि यो समुदाय बसोबास गर्दै आएका ठाउँलाई दरैगाउँ भनेर पनि सबैले चिन्ने गर्दछन् । तर क्रमिक रुपमा नयाँ पुस्ताले भाषाको अवलम्बन नगरी दिँदा समुदायबाट नै यो भाषा लोप हुने अवस्थामा पुगेको छ ।

दरै समुदायका करिब ३० घरपरिवार यहाँ बसोबास गर्छन् । पाल्पाको मदनपोखरास्थित कोकलबाट पुर्खाले यहाँ आएर कर्मथलो बनाएको दरै समुदायका स्थानीयको भनाइ छ । समाजमा नेपाली भाषाको वर्चस्व बढ्दै जाँदा दरै जातिको भाषा नै लोप भएको दरै समाज रामपुरका अध्यक्ष छमबहादुर दरै बताउँछन् । ‘आआफ्नो जातिको लिपिअनुसारका भाषा सबैले बोलिचालीको माध्यमबाट प्रयोग गरे भाषाले जीवन्तता पाउने हो,’ उनी भन्छन्, ‘मातृभाषालाई चलनचल्तीमा प्रयोगमा नल्याउनु नै समुदायबाट दरै जातिको भाषा हराउँदै गएको हो ।’

उनी आफँै कोकलबाट यहाँ बसाइँ सरेर आउने पुस्तामध्येको छैटौँ पुस्ताका रुपमा छन् । तर स्व्यम्लाई दरै भाषाका सम्बन्धमा कुनै ज्ञान छैन । उनी दरै समुदायको एक शिक्षित र अगुवा व्यक्ति पनि हुन् ।

समुदायमै बाउबाजे, बुबा आमा कसैले पनि दरै भाषा प्रयोग नगर्दा आफू पनि यस भाषाबारे अनभिज्ञ हुनु परेको उनी बताउँछन् । भोजबहादुर दरैलाई पनि दरै भाषाका बारेमा हामीले सोध्दा उनले भाषा थियो रे ! भन्ने मात्रै थाहा पाएको बताए । ‘भाषा थियो रे भन्ने मात्र सुनेको छुँ, गाउँका कुनै पनि बाउबाजेले अहिलेसम्म प्रयोग गरेको पाइएन,’ भोजबहादुरले भने ।

पहिले पहिले दरै समुदायका व्यक्तिमा शिक्षित वर्गको कमै मात्र संख्या रहँदा पनि यस भाषाका सम्बन्धमा समुदाय अन्योलमा रहेको उनले बताए ।

आफ्नो भाषालाई महत्व नदिनुका साथै चेतनाको अभावमा दरै भाषालाई पुर्खादेखि नै बचाउन नसक्दा अहिले पछुतो लागेको नेपाल दरै उत्थान महिला समूह रामपुर अध्यक्ष टकमाया दरैको भनाइ छ । ‘पहिला समुदायमा शिक्षा नहुँदा भाषा जोगाउन सकिएन, अहिले सबैले शिक्षा आर्जन गरेका छन्,’ उनी भन्छन्, ‘तर समयको लामो अन्तरालले भाषा जोगाउन नसक्दा समुदायबाट नै विस्थापित हुँदैछ ।’

दरै समुदायको भाषा मात्र होइन उनीहरुको पुख्र्यौली पेसा पनि लोप भइसकेको छ । दरै समुदायको पहिचानका रुपमा रहेको माछा मार्ने पेसा अहिले यहाँबाट हटिसकेको छ । पहिला पहिला नदी, खोलाका किनारमा माछा मारेर जीवन गुजारा गर्दै आएका थिए । अहिले यो पेसा पूर्णरुपमा समुदायबाटै हराइसकेको छ । भाषा तथा पूख्र्यौली पेसा संरक्षणका लागि कुनै पनि निकायबाट अहिलेसम्म पहल नभएको उनीहरु बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्