२२ असार २०८३, सोमबार

प्रदेशमा जनता चाहेजस्तै विकास हुन्छ : मुख्यमन्त्री राई

कात्तिक ९, २०७६
प्रदेशमा जनता चाहेजस्तै विकास हुन्छ : मुख्यमन्त्री राई
फाइल फोटो

भोजपुर – मुख्यमन्त्री शेरधन राईले १ नम्बर प्रदेशमा जनताले चाहेजस्तै विकास गरेर छाड्ने बताएका छन् ।

शनिवार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नगर कमिटी भोजपुरले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशका स्रोत र साधनलाई अधिकतम प्रयोगमा ल्याएर विकासको चरणमा अगाडि बढाउने धारणा राखे ।

‘यो प्रदेशलाई समृद्ध बनाउने गरी मैले काम अगाडि बढाएको छु, प्रदेशसँगै भोजपुर पनि समृद्धिको बाटोमा अगाडि बढ्छ,’ उनले भने । विकासका लागि सबैले प्रत्येक सेकेन्डको महत्त्वलाई बुझेर काम गर्नुपर्ने राईको भनाइ थियो ।

‘तपाईं हामी यो देशका सचेत नागरिक हौं, हामीले प्रत्येक सेकेन्ड समयको महत्त्वलाई बुझेर जिम्मेवारी बहन गर्न आवश्यक छ,’ उनले भने ।

प्रदेश सरकारले विकासका लागि प्राथमिकताका आधारमा प्रशस्त बजेट विनियोजन गरेको भएपनि काममा सोचेअनुरुप खर्च नभएकामा भने उनले चिन्ता व्यक्त गरे । उनले आफ्नो क्षेत्रमा भइरहेका कामको जनता आफैंले पनि अग्रसर भएर निगरानी गर्नुपर्ने बताए ।

‘विकास गर्नका लागि हामीले करोडौं बजेट छुट्याएका छौं र काम पनि भइरहेको छ तर जनताको तर्फबाट पनि भइरहेको काममा निगरानी र खबरदारी हुनुपर्‍यो,’ उनले भने ।

प्रदेशबाट सञ्चालन हुने कामलाई प्रभावकारी, गुणस्तरीय र जनमुखी तवरले सम्पन्न गराउन अनुगमन समिति गठन गर्ने तयारी भइरहेको उनको भनाइ छ । आफूले भ्रष्टाचारमा शून्य सहनशीलता कायम गरेको बताउँँदै उनले प्रमाणसहित आफूलाई जानकारी दिए १ घण्टाभित्र कारवाही गर्नेसमेत बताए ।

मुख्यमन्त्री राईले भोजपुरको मुन्दुम ट्रेलको विकासका लागि २ करोड विनियोजन गरेको जानकारी दिए । उनले जिल्लाका ठूला सडक र पक्की पुलको काम आफ्नै कार्यकालमा सम्पन्न गर्ने बताए । आगामी आर्थिक वर्षभित्र भोजपुरका सबै जनता विद्युत्को पहुँचमा पुग्नेसमेत जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्