
राँझा –नेपालगञ्जमा श्रृंखलाबद्धरूपमा आगलागीका घटना भएका छन् । ५ दिनभित्र भएका ३ आगलागीका घटनाबाट ठूलो मात्रामा धनमालको क्षति हुन पुगेको छ ।
सोमवार राति सेतु विकचोक नजिकै रहेको इलेक्ट्रोनिक्स र व्यूटीपार्लर पसलमा आगलागी भएको थियो ।
राति करीब ८ः०० बजेदेखि शुरू भएको आगो नेपालगञ्ज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।
उनका अनुसार मिठ्ठीलाल बैश्यको दुईतले घरको तल्लो तलामा रहेको इलेक्ट्रोनिक्स पसलबाट शुरू भएको आगो छेउमा रहेको व्यूटीपार्लर पसलमा समेत सल्किएको थियो । पसलका सञ्चालक तिहार मनाउन घर गएको अवस्थामा आगलागी भएको थियो ।
आइतवार राति मात्रै नेपालगञ्जको धम्बोझी राष्ट्रिय वाणिज्य बैंकको सामुन्ने रहेको गणेश ढकालको भाँडा पसलमा आगलागी भएको प्रहरी उपरीक्षक वलीले जानकारी दिए ।
गत बिहीवार नेपालगञ्जकै बीपीचोक नजिक रहेका आधा दर्जन पसलमा भएको आगलागीबाट १ करोड रुपैयाँ बढीको क्षति भएको थियो । पछिल्लो ३ महिनामा नेपालगञ्जमा ७ ठूला आगलागी भइसकको छ ।