
काठमाडौँ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन मंगलबार दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी मनाइयो ।
यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन भाइटीका पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाउने गरिन्छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । टीकाको उत्तम साइत बिहान ११ बजेर ५५ मिनेटमा रहेको थियो ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।
राष्ट्रपतिबाट भाइटीका
राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा मंगलबार बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना जेठा भाइ तेजेन्द्र पाण्डे र कान्छा भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइन् ।
चपलीहाइटस्थित निवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले भाइद्वय पाण्डेलाई टीका लगाएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री ओलीको भाइटीका
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट भाइटीका लगाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो १ बजेर ३८ मिनेटको समयमा प्रधानमन्त्री ओलीले बहिनीद्वयको हातबाट टीका लगाएका हुन् ।
टीका लगाइदिएपछि उनीहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे । साथै उनीहरूले प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिए । प्रधानमन्त्रीले बहिनीलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरे ।
उपराष्ट्रपतिबाट टीका ग्रहण
उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना दिदी मनपुरा घर्ती र बहिनी लालपुरा घर्तीवाट यसवर्षको भाइटीका ग्रहण गरे ।
भाइटीकाका अवसरमा उनले रोल्पास्थित आफ्नै घरमा मंगलबार बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना दिदीबहिनीबाट टीका ग्रहण गरेका हुन् ।
यसैबीच नेकपा अध्यक्ष प्रचण्ड, नेकपा नेता माधव नेपाल, काँग्रेस नेता रामचन्द्र पौडेलले पनि भाइटीका लगाएका छन् । नेकपा नेता झलनाथ खनाल र काँग्रेस सभापति शेरबहादुर देउवाले भने जुठो परेका कारण टीका लगाएनन् ।
कैदीबन्दीको तिहार
कारागारका कैदीबन्दीलाई जुम्लाको चन्दननाथ नगरपालिका–५ का वडाध्यक्ष अर्जुनसिंह कठायतले तिहार मनाउन खसी दिएका छन् । चाडपर्व हर्षाेल्लासका साथ मनाऊन् भन्ने उद्देश्यले वडाध्यक्ष कठायतले उनीहरूलाई एउटा खसी प्रदान गरेका हुन् ।
तिहारको भाइटीकाको दिन मंगलबार बिहान वडाध्यक्ष कठायतले पत्रकार र प्रहरीको उपस्थितिमा जुम्ला कारागारमा रहेका तीन जना महिलासहित ८४ जना कैदीबन्दीलाई खसी हस्तान्तरण गरे ।
खसी बुझ्दै कैदीका चौकीदार खाम्बा रावतले भने, “दशैँ–तिहार आएको गएको थाहा हुँदैन थियो, तर यस वर्ष दशैँ–तिहार दुवै पटक खसी उपहार पाएर कैदीबन्दीहरूले रमाएर दशैँ–तिहार मनाए ।” वडाध्यक्षले कैदीबन्दीलाई तिहारको शुभकामना दिँदै चाडपर्व सबैका लागि समान भएको बताए ।
यसअघि दशैँमा पातारासी गाउँपालिकाले दशैँ मनाउन खसी प्रदान गरेको थियो ।
कारागारमै भाइटीका
विभिन्न मुद्दामा कैद भुक्तानी गरिरहेका जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूले कारागारमै भाइटीका लगाएका छन् । जिल्ला कारागार काभ्रेपलाञ्चोक धुलिखेलमा रहेका कैदीबन्दीहरूमध्ये आफ्ना दिदीबहिनीहरूको हातबाट भाइटीका लगाएको जिल्ला कारागार व्यवस्थापन शाखाले जनाएको छ ।
यसैगरी जिल्ला कारागार तनहुँमा रहेका कैदीबन्दीले मंगलबार कारागारभित्रै भाइटीका लगाएका छन् । हरेक वर्ष झैँ कैदीबन्दीले यस वर्ष पनि कारागारभित्रै आ–आफ्ना दिदीबहिनीका हातबाट टीका लगाएका हुन् ।टीका लगाउन कारागार प्रशासनले व्यवस्थापन मिलाएको सहायक जेलर नारायण अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार टीका लगाउन साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको थियो । कूल ३५ जनाको क्षमता रहेको कारागारमा हाल थुनुवा र कैदी गरी १४१ जना कैदीबन्दी रहेका छन् ।
भाइटीकाको दिन प्रहरीको निःशुल्क बस सेवा
चितवन प्रहरीले भाइटीकाको दिन निःशुल्क बस सेवा सञ्चालन गरेको छ । मंगलबारको दिन सार्वजनिक सवारीसाधन कम चल्ने भएकाले यात्रुहरूलाई सहजता प्रदान गर्न निःशुल्क बससेवा सञ्चालन गरेको प्रहरीले जनाएको हो ।
प्रहरीले पाँचवटा बस पश्चिम र पूर्वी चितवन क्षेत्रमा सञ्चालन गरेको छ । भरतपुरको चौविस कोठीबाट पटिहानी र मेघौली तथा नारायणगढबाट लोथरसम्म निःशुल्क बससेवा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।
तिहारमा पनि योजना अनुगमन
सङ्घीय सरकार र प्रदेश सरकारबाट जिल्लामा परेको योजनाको अनुगमन तथा जनतासँग घरदैलो भेटघाटमा डोल्पाका प्रदेशसभा सदस्य तथा पार्टीका नेताहरूको दिन बितेको छ । राज्यले लगानी गरे पनि सन्तोषजनक प्रतिफल नआएको गुनासो बढेपछि प्रदेशसभा सदस्यहरू गाउँगाउँमा योजना अनुगमनमा गएको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जानकारी दिए ।
प्रदेश सरकारबाट स्थानीय तहमा दिइएका योजनाहरूको एक–एक गरेर अनुगमन गर्दै मुड्केचुला पुगेर फर्केको प्रदेशसभा सदस्य शाहीले जानकारी दिए ।
कर्णाली प्रदेश सरकारले दिएका त्रिपुरासुन्दरी नगरपालिका, जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिकामा निर्माण भएका र हँुदै गरेका योजनाहरूको अनुगमन गरिएको हो ।
दिदीबहिनी नहुनेले रानीपोखरीमा भाइटीका लगाए
नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन मंगलबार दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूले काठमाडौँको रानीपोखरीमा पुगेर भाइटीका लगाएका छन् ।
रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर मंगलबारकै दिन खुलाइने प्रचलन भए पनि २०७२ सालको भूकम्पले मन्दिर क्षतिग्रस्त भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मन्दिरको पश्चिम ढोकाबाहिर मूर्ति राखेर पूजामंगलबारा गर्ने र भाइटीका लगाउने व्यवस्था मिलाएको थियो । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूले मंगलबारको दिन रानीपोखरी पुगेर भाइटीका लगाउने प्रचलनअनुसार बिहान ७ बजेदेखि शुरु गरिएको भाइटीका बेलुका साढे ७ बजेसम्म लगाउन मिल्ने व्यवस्था गरिएको थियो ।
प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन मंगलबार दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरेका हुन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन मंगलबार भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाएका छन् ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवम सेलरोटी लगायतका खानेकुरा दिने परम्परा छ । त्यसैगरी दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवम सामाजिक परम्परा रहिआएको छ ।
स्कोरपियोको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा स्कोरपियोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–१ बस्ने ५५ वर्षीया ज्ञानुमाया बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको बा१४च ९८०६ नंको स्कोरपियोले विपरीत दिशाबाट जाँदै गरेको बा६६प ९३८४ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार बानियाँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
दुर्घटनामा स्कुटर चालक २४ वर्षीय अमृत बानियाँ घाइते भएका छन् । मृत्यु हुने महिला आमा र घाइते युवा छोरा हुन् । स्कुटरलाई ठक्कर दिने स्कोरपियो र चालक प्रहरी नियन्त्रणमा छन् ।
नगद र ताससहित जुवातास खेल्ने नियन्त्रणमा
पोखरा महानगरपालिका–९ बास्तोलाथरमा मंगलबार जुवातासमा संलग्न सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयवासी रत्नमान गौचनको घर भाडामा लिई जनप्रिय थकाली भान्सा घर सञ्चालन गर्दै आएका प्रकाश शेरचनले अवैध जुवातास खेलाएको भन्ने सूचनाका आधारमा प्रहरीले रु ३२ हजार ४३० नगद र ताससहित सात जनालाई नियन्त्रणमा लिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।
पटका पड्काउँदा राजविराजमा आगलागी
पटका पड्काउने क्रममा सप्तरीको राजविराजमा मंगलबार राति ७ बजे अचानक आगलागी हँुदा रु तीन लाखको क्षति भएको छ । राजविराज नगरपालिका–८ स्थित हिमालय टोलमा स्थानीयवासी शिवेश सिंहको घरमा पटका पड्काउने क्रममा आगलागी भएको स्थानीयवासी शोरभ यादवले जानकारी दिए । उनको एउटा घर पूर्णरुपमा जलेर नष्ट भएको पीडित परिवारले जनाइएको छ ।
सामा चकेवा पर्वका लागि आकृति बनाउने कार्य शुरू
मिथिलाञ्चलको प्रसिद्ध सांस्कृतिक पर्व सामा चकेवाका लागि मंगलबारदेखि माटोको आकृति बनाउने कार्य शुरू भएको छ ।
सामा चकेवा दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो । यो पर्व द्वितीया तिथिदेखि पूर्णिमा तिथिसम्म मनाइन्छ । सो पर्वका लागि द्वितीया तिथिका दिन दिदीबहिनीले सामा चकेवा पर्वका लागि माटोको आकृति बनाउने कार्यको थालनी गरी छठ पर्वको खरना वा पारणदेखि पात्रहरुको आकृति बनाउने कार्यलाई तीव्रता दिने चलन रहेको छ ।
तिहारमा सिङ्गो गाउँ शोकमा
सबैतिर तिहारको रौनक छाउँदा बैतडीको पुर्चौडी नगरपालिका–४ र ५ भने तीन जनाको सामूहिक हत्यापछि सिङ्गो गाउँ नै शोकमा डुबेको छ ।
भारतको पिथौरागढमा मजदुरी गर्दै आएका पुर्चौंडी नगरपालिका–५ दहतोलीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय वीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या भएपछि सिङ्गो गाउँ शोकमा डुबेको स्थानीय तथा जिल्ला समन्वय समिति उपप्रमुख धनबहादुर बोहराले बताए ।
रोजगारीको लागि भारतको पिथौरागढमा रहेका उनीहरु तीनैजनाको कात्तिक ८ गते पिथौरागढको सिलौल मड भन्ने स्थानमा लिङ्ग काटेर हत्या भएपनि गाउँमा भने कात्तिक १० गते मात्रै खबर प्राप्त भएको थियो । हरे बोहरा र बीरा बोहरा सहदोर भाइ हुन् ।
नेपाल संवत्को ११४० शुरु
नव वर्ष नेपाल संवत् ११४० मंगलबारदेखि शुरु भएको छ । यो संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराएका थिए ।
जुवाडे पक्राउ
बेँसीशहर नगरपालिका–११ चितीमा जुवा खेल्दै गरेको अवस्थामा २५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार बिहान एक स्थानीयवासीको कुखुराको खोरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक धनबहादुर थापाले दिए । पक्राउ परेकाहरुको साथबाट नगद रु दुई लाख १६ हजारसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
नेपालगञ्जमा शृङ्खलाबद्ध आगलागी
नेपालगञ्जमा श्रृङ्खलाबद्धरूपमा आगलागीका घटना भएका छन् । पाँच दिनभित्र भएका तीन आगलागीका घटनाबाट ठूलो मात्रामा धनमालको क्षति हुन पुगेको छ ।
सोमबार सेतु विकचोक नजिकै रहेको इलेक्ट्रोनिक्स र व्यूटीपार्लर पसलमा आगलागी भएको थियो । आगो नेपालगञ्ज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।
आइतबार रातिमात्रै नेपालगञ्जको धम्बोझी राष्ट्रिय वाणिज्य बैंकको सामुन्ने रहेको गणेश ढकालको भाँडा पसलमा आगलागी भएको प्रहरी उपरीक्षक वलीले जानकारी दिए ।
गत बिहीबार नेपालगञ्जकै बिपीचोक नजिक रहेका आधा दर्जन पसलमा भएको आगलागीबाट रु एक करोड बढीको क्षति भएको थियो । पछिल्लो तीन महीनामा नेपालगञ्जमा सात ठूला आगलागी भइसकको छ ।