
काठमाडौं – बेल्जियमको एक पार्किङ क्षेत्रमा चिस्यानयुक्त ट्रकमा १२ जना आप्रवासीहरू जिउँदै फेला परेका छन् ।
लन्डनमा केही दिनअघि यस्तै चिस्यानयुक्त ट्रकमा ३९ जना आप्रवासीहरू मृत फेला परेका थिए ।
फलफूल र तरकारी ढुवानी गरिरहेका ट्रक चालकले पछाडितिर मानिसहरू लुकिरहेको आशंका गरेपछि प्रहरीलाई खबर गरेका थिए ।
उनलाई पार्किङ क्षेत्रमा गाडी रोक्न लगाइएपछि खोलेर हेर्दा ११ जना सिरियाली पुरुषहरू र एक सुडानी पुरुष भेटिए ।
उनीहरू बेल्जियमको आन्त्वर्प नजिक ओउड–टर्नहाउटमा गाडीभित्र पसेका थिए ।
उनीहरूको स्वास्थ्य राम्रो रहेको र उनीहरूलाई आप्रवास कार्यालयमा लगिएको एक प्रहरी प्रवक्ताले जनाइन् ।
प्रहरीले ती आप्रवासीहरू कसरी ट्रकमा पसे र उनीहरू बेलायत जान लागेको हो कि हैन भनी खोजी गरिरहेको छ ।
बेल्जियमका अधिकारीहरूले अक्टोबर २६ मा २० जना आप्रवासी बोकेका थप दुई ट्रक फेला पारेको बताए ।
एजेन्सी