
दमौली – सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न तनहुँको भिमाद नगरपालिका–९ धन्धुरस्थित सिद्धगुफामा पूर्वाधार निर्माण गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट १०० नयाँ पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत सिद्धगुफामा पर्यटक आकर्षित गर्न पूर्वाधार निर्माण गरिएको हो ।
धेरैभन्दा धेरै पर्यटक भित्र्याउन र नेपाल भ्रमण वर्षलाई सफल बनाउन गुफा जाने बाटोमा रेलिङ सहितको सिँढी, प्रतीक्षालय, वनभोज स्थल र पार्किङस्थल निर्माण गरिएको सिद्धगुफा विकास समितिका अध्यक्ष दधिराज सुवेदीले जानकारी दिए ।
मन्त्रालयबाट गत आर्थिक वर्षमा प्राप्त ३६ लाख रुपैयाँ, समितिको ६ लाख रुपैयाँ र स्थानीयको सहयोगबाट उठेको १० लाख रुपैयाँ गरी ५२ लाख रुपैयाँको लागतमा पूर्वाधार निर्माण गरिएको उनले बताए ।
समितिले विक्रम संवत् २०७० मा गुफाको विकासका लागि गुरुयोजना बनाएको थियो । सोही गुरुयोजना बमोजिम समितिले गुफामा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । समितिले यसअघि जिदीखोलादेखि सिद्धगुफासम्म र सिद्धगुफाबाट चमेरो गुफासम्म पुग्ने १ किलोमिटर दूरीमा ढलान सिँढी, सिद्धबाबाको मन्दिर, ३ वटा शौचालय र पानीको दह निर्माण गरिसकेको छ ।
भ्रमण वर्ष सन् २०२० मा यस ठाउँमा करीब १ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । गुफाको व्यापक प्रचारप्रसार गरी पर्यटकलाई यस ठाउँमा आकर्षित गर्न पहल गरिने भिमाद नगरपालिका–९ का वडाध्यक्ष इमान थापाले बताए ।
ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्त्व बोकेको सिद्धगुफा सयौं वर्षअघि पत्ता लागेको हो । २ सय मिटर लामो गुफा ४ तल्लाको रहेको छ । गुफाको ३० मिटरभित्र पसेपछि पहिलो तलामा ५ सय जना अटाउने ठाउँ छ । दोस्रो तलामा ६० र तेस्रो तलामा ५० जना मानिस अट्न सकिन्छ । प्रत्येक तलामा सुतेर प्रवेश गर्नुपर्ने यो गुफाको चौथो तल्लाको ढोका भने चुनको रसायनले बन्द भएको छ ।
जिदी खोलाको किनारको घनाजंगल क्षेत्रमा रहेको यो गुफाभित्र ढिकी, जाँतो, गाईका थुन, हात्तीको सुँढ, शिवलिङ्ग र विभिन्न देवीदेवताका आकृति स्पष्ट देख्न सकिन्छ । व्यापारिक केन्द्र भिमाद बजारबाट आधा घण्टा मोटरको यात्रापछि २० मिनेट पैदलयात्रामा गुफा पुग्न सकिन्छ ।