
काठमाडौं, २४ चैत - सरकारले वैशाख ३१ गते स्थानीय निर्वाचनको तिथी जुराएपछि देशभर निर्वाचन माहोल सिर्जना भएको छ । निर्वाचन आयोगले पनि निर्वाचनको तयारी युद्धस्तरमा गरिरहेको जनाएको छ ।
स्थानीय तहमा रहेको विभिन्न दलका उम्मेदवारहरूले टिकटका लागि लबिङ गरिरहेका छन् । तर ठूला दलहरु नेपाली कांग्रेस, एमाले र एकिकृत माओबादीले अहिले सम्म उम्मेदवार छानेका छैनन् ।
आखिर उनीहरूले उम्मेदवार कहिले छान्छन् ? यो सबैको चासको विषय बनेको छ । ठूला दलले लगभग कस्ता उम्मेदवार छान्ने र कुन समितिले उम्मेदवारको टुंगो लगाउने भनेर तयारी गरेका छन् । तर अहिले सम्म उम्मेदवार छान्न सकेका छैनन् ।
नेपाली कांग्रेसले आउँदो वैशाख ७ गते सम्ममा उम्मेदवार छानिसक्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेल बताउँछन् । एमालेले १२ गते सम्ममा उम्मेदवार छान्ने निर्णय गरेको छ । माओबादीले वैशाखको पहिलो साताभित्रै उम्मेदवार छान्ने निर्णय गरेको छ । यद्यपी, माओबादीले चाहिँ कुनै कुनै ठाउँमा आफ्ना उम्मेदवार फाइनल गरिसकेको छ ।
नेपाली कांग्रेसको गत चैत १५ गतेको केन्द्रीय समितिको बैठकले वैशाख ७ गते सम्ममा उम्मेदवार छान्ने निर्णय गरेको हो । वैठकले ७ गते सम्ममा उम्मेदवार छानेर केन्द्रीय समितिलाई जानकारी गराउन मातहतका इकाइलाई निर्देशन दिएको छ ।
कांग्रेसले तल्लो तहबाटै उम्मेदवारको टुंगो लगाउने निर्णय गरेको छ । तल्लो तहबाट सिफारीस भएर आएका निर्णयलाई क्षेत्र र जिल्ला कार्य समितिले अनुमोदन गरेपछि केन्द्रीय समितिमा नामावली पठाउने निर्णय कांग्रेसमा भएको छ ।
कांग्रेसले उम्मेदवार छनौटमा रहेका विवाद हटाउनको लागि निकै झन्झटिलो कार्यबिधी बनाएको छ । उम्मेद्वार छनौटमा विवाद भएमा संबन्धित क्षेत्रमा रहेका केन्द्रीय सदस्य, सांसद, दोस्रो संबिधानसभाका सभासदका उम्मेदवार, क्षेत्रीय समितिमा हारेको सभापतिको उम्मेदवार समेतको उपस्थितीमा उम्मेदवार छानेर पठाउनुपर्ने निर्णय गरिएको छ ।
वडा समितिले गाउँ तथा नगरपालिकामा उठ्ने वडा सदस्यको नाम टुंगो लगाउने छ । गाउँ तथा नगरप्रमुखको टुंगो चाहिँ गाउँ वा नगरसमितिले गर्न सक्ने निर्णय कांग्रेसले गरेको छ । स्थानीय तहमा उम्मेदवारको टुंगो लाग्न नसकेमा क्षेत्रीय समितिमा सो विषय प्रवेश गर्ने छ । क्षेत्रीय समितिमा पनि सर्बसम्मत नभएमा चाहिँ अल्पमतमा केन्द्रीय सदस्य, सांसदका उम्मेदवार, क्षेत्रीय पदाधीकारी, क्षेत्रीय समितिमा हार्ने सभापतिको उम्मेदवार लगायतले उम्मेदवार टुंग्याउने छन् । क्षेत्रमा पनि टुंगो नलागेमा सो विषय जिल्ला कार्य समितिमा प्रवेश गर्ने छ ।
एमालेले चाहिँ आउँदो ३० चैतबाट उम्मेदवार छनौटको काम थाल्दै छ । वैशाख १२ गते सम्म एमालेले सबै उम्मेदवारको टुंगो लगाउने छ । तर एमालेको स्थानीय तहमा उठ्ने उम्मेदवारले प्रदेश तथा केन्द्रका कुनैपनि चुनावमा उठ्न पाउने छैनन् । अर्थात एमालेले हार्ने उम्मेदवारहरुलाई एक पटक मात्रै मौका दिने छ ।
स्थानीय समितिले वडा कमिटिलाई चैत तीस गने सम्म उम्मेदवारको नाम सिफारीस गर्ने छन् । वैशाख ४ गते सम्म गाउँपालिका, नगरपालिका, उमपहानगरपालिका र महानगरपालिकाको नाम सिफारीस हुनुपर्ने निर्देशन दिइएको एमाले सचिव योगेश भट्टराईले बताए ।
त्यस्तै जिल्ला कमिटिलाई वैशाख ७ गते सम्म र प्रदेश कमिटीलाई चाहिँ वैशाख १० गते सम्म उम्मेदवारको नाम सिफारीस गर्न निर्देशन दिइएको छ ।
महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको अन्तिम टुंगो वैशाख १२ मा बस्ने एमाले स्थायी समितिले लगाउनेछ ।
माओबादी केन्द्रले चाहिँ वैशाखको पहिलो साता सम्ममा उम्मेदवारको टुंगो लगाउने निर्णय गरेको छ । माओबादीमा चाहिँ उम्मेदवार छनोटको लफडा छ । अहिले माओबादीले वडा, गाउँ, नगर लगायतका क्षेत्रमा सम्मेलनहरु गरिरहेको छ । त्यहाँबाटै सर्बसम्मत भएमा उम्मेदवारको टुंगो लगाइएको छ ।
तर माओबादीको कार्यबीधी अनुसार सम्बन्धित कमिटिले एक देखि तीन जना सम्म उम्मेदवार सिफारीस गर्न पाउने छन् । त्यो कमिटिले माथिल्लो कमिटिमा तीन जनाको नाम सिफारीस गर्ने छ । तर गाउँ तथा नगरपालिकाको प्रमुखका लागि चाहिँ प्रदेश कमिटीको सहमति हुनुपर्ने निर्णय गरिएको छ ।