०९ असार २०८३, मंगलबार

भारतमा भगवान् रामको भूमिले न्याय पाउँदा सीताको जन्मभूमि जनकपुरमा दीपावली

कात्तिक २४, २०७६
भारतमा भगवान् रामको भूमिले न्याय पाउँदा सीताको जन्मभूमि जनकपुरमा दीपावली

जनकपुरधाम – भारतको अयोध्यामा भगवान रामको मन्दिर बन्ने गरी त्यहाँको सुप्रिम कोर्टले दिएको फैसलाको स्वागतमा जनकपुरधामस्थित जानकी मन्दिरमा दीपावली मनाइएको छ ।

जानकी मन्दिरमा शनिवार दर्शालु भक्तजनलाई लड्डु (मिठाइ) बाँड्नुका साथै राति दीप प्रज्वलन गरेर खुसियाली मनाइएको छ ।

‘भारतको सर्वोच्च न्यायालयले फैसला सुनाउनेबित्तिकै खुसियालीमा १ मन (५० किलोग्राम) लड्डु वितरण गर्‍यौं,’ जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले भने, ‘अनि राति १ हजार १ सय दीप प्रज्वलन गरेर खुसियाली मनायौं । पूरै जनकपुरवासी खुशी भएका छन् ।

जानकी मन्दिरका महन्थ वैष्णवका अनुसार जानकी जनकपुरको छोरी हो । राजा जनकले धुमधामका साथ भगवान रामसँग बिहे गरेर उनको घर अयोध्यामा पठाएका थिए ।

‘अनावश्यक विवाद गरेर त्यहाँको अदालतमा मुद्दा दिएका कारण जनकपुरकी छोरी जानकीको अयोध्यामा उनको घर हुँदाहुँदै बेघर भई ७० वर्षदेखि टेन्टमा बस्नु परेको दुःखद् स्थिति थियो,’ वैष्णवले भने, ‘अब त्यहाँको सर्वोच्च अदालतले फैसला सुनाएपछि राम मन्दिरका लागि जग्गा माथिको मालिकाना हक समेत स्थापित भएको छ ।’

भारतको सर्वोच्च न्यायालयले राम्रो फैसला सुनाएको र अर्को पक्षलाई ५ एकर जमिन दिएर मस्जिद बनाउन दिने भन्ने सन्तुलित फैसला सुनाएको उनले बताए ।

भारतको अयोध्याका महन्थसहित कतिपय भीआईपीलाई उनले फोन गरेर बधाई समेत दिएका छन् । 

भारतमा खुसियाली नमनाउन तथा कुनै प्रतिक्रिया दिन प्रतिबन्ध लगाइएकाले कुन–कुन व्यक्तिलाई फोन गरेर बधाई दिएको भन्ने नाम उनले सार्वजनिक गर्न मानेनन् ।

जनकपुरधाम र अयोध्याधामबीच त्रेता युगदेखि नै सम्बन्ध स्थापित भएको मानिन्छ । जनकपुरमा प्रत्येक वर्ष मंसिरको पञ्चमी तिथिमा रामजानकी विवाह उत्सव मनाउने गरिन्छ ।

प्रत्येक वर्ष अयोध्याबाट जनकपुरमा जन्ती आउने गर्छन् र विवाहका सम्पूर्ण प्रक्रिया पूरा गर्ने गरिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्