
काठमाडौं– बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप लागेका सांसद आफताब आलमको मुद्दामा रौतहट जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ ।
लामो समयदेखि रौतहटमा प्रभाव जमाएर बसेका आलम प्रहरी हिरासतमा रहँदा जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
भारतसँग सिमाना जोडिएको जिल्ला तथा भारतीय नागरिकहरू पनि प्रयोग भएकाले सुरक्षा चुनौती ठूलो छ ।
‘जिल्ला अदालतमा बहस चलिरहेको छ । बाहिर मानिसहरूको पनि ठूलै भीड छ । कुनै अप्रिय घटना नहोस् भन्ने हिसाबले सुरक्षा व्यवस्थालाई बढाएको हौं,’ जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी नायब निरीक्षक (डीएसपी) नविन कार्कीले लोकान्तरसँग भने ।
इँटाभट्टामा जलाइएका रौतहटको साबिक सरुवठा गाविस वडा नम्बर ९ हाल यमुनामाई गाउँपालिका–४ का मोहम्मद ओशी अख्तरकी श्रीमती आमना खातुनले रौतहट जिल्ला अदालतमा निवेदन दिइन् । निवेदनको व्योहोरा थियो मेरा पति जिउँदै छन्, विदेश गएका छन् ।
उनले दिएको निवेदनले सबैलाई आश्चर्यमा पार्यो । पछि तिनै आमनाले आफ्ना श्रीमान्को मृत्यु दर्ता गराएको तथ्य बाहिरियो ।
पछि प्रहरीले सोधपुछ गर्दा आलमका मानिसहरूले धम्की दिएकाले निवेदन दिएको प्रहरी बताएपछि घटनालाई प्रभाव गर्न आलमले के सम्म गर्न भ्याए भन्ने कुरा प्रस्ट भयो ।
थुनछेक बहस चलिरहँदा बहसलाई प्रभाव पार्न आलमका मानिसहरूले अहिले पनि विभिन्न प्रपञ्च चलाइरहेका छन् ।
घटनाको प्रत्यक्षदर्शी तथा पीडितका रूपमा नेपाल ल्याइएका भारत सीतामढीका गौरीशंकर राम चमारले पनि बयान फेरेपछि आलमको मुद्दामा नयाँ तरङ्ग थपिएको थियो ।
थुनछेक बहस चलिरहेकै समयमा प्रहरीले जवरजस्ती बयान दिन लगाएको भन्दै अदालतमा उनले निवेदन दिएका थिए ।
सरकारी साक्षीका रूपमा नेपाल ल्याइएका गौरीशंकरलाई आलम पक्षका मानिसहरूले अपहरण गरेर बयान फेर्न लगाएको कुरा धेरै समय टिकेन ।
गौरीशंकरले आलमका मानिसहरूले अपहरणपछि बन्दक बनाएर बयान नफेरे ज्यान मार्ने धम्की दिएको उनले बताइसकेका छन् । गौरीशंकरले आफ्नो र परिवारको ज्यानको सुरक्षा दिन माग समेत गरेका छन् ।
यो समयमा आलम पक्षले साक्षीहरूलाई प्रभावित पार्न ‘साम, दाम, दण्ड, भेद’को रणनिति अपनाएको आलमको मुद्दामा बहस गरेका एक अधिवक्ताको बुझाइ छ ।
आलामविरुद्ध बहस गरिरहेका एक अधिवक्ता कुन बेला आफूमाथि प्रहार हुने हो भन्ने डर रहेको बताउँछन् ।
‘घरबाट जिल्ला अदालत आउँदा मुटु ढुकढुक हुन्छ, बहस सकिएपछि घर आउँदासम्म फेरि मुटु ढुकढुक हुन्छ, कति खेर के हुन्छ थाहा छैन,’ ती अधिवक्ताले लोकान्तरसँग भने ।
कात्तिक २२ गते बहस सकिएपछि पीडितको पक्षबाट बहस गरेर काठमाडौं फर्किएका पूर्व महान्याधिवक्ता डा. युवराज संग्रौलाले पनि रौतहटमा सुरक्षा चुनौती रहेको उल्लेख गरे ।
समाजिक सञ्जाल फेसबूकमा स्टाटस पोस्ट गर्दै उनले भनेका थिए– ‘बहस सकियो । कुमार शर्मा आचार्य र मैले १ घण्टा २० मिनेट बहस गर्यौं । आलमजीको दबदबा त गजबै लाग्यो । दुई दिनसम्म सर्वसाधरण मानिसका कुरा सुनियो । अरूको त के कुरा सुरक्षा निकायहरू हरदम सतर्क । घरमा गएर समात्न त प्रहरीलाई नै सम्भव भएन छ ।’
यी सबै कुराले के देखाउँछ भने आलम पक्षले अहिले पनि डरधम्की देखाइरहेका छन् ।